नेपालबाट थप विद्युत् लैजान भारत तयार

काठमाडौँ । ढल्केवर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत हुने विद्युत् आदान–प्रदानको क्षमता उल्लेखनीयरूपमा बढ्ने भएको छ ।

नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १३औँ बैठकले अन्तरदेशीय विद्युत् प्रसारण पूर्वाधार विस्तार तथा विद्युत् व्यापार बढाउने निर्णय गरेको हो । नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडी र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालको सहअध्यक्षतामा बुधबार पोखरामा सम्पन्न बैठकले अन्तरदेशीय प्रसारण लाइनमार्फत हुने विद्युत् आदान–प्रदानको क्षमता बढाउने निर्णय गरेको हो ।

उक्त निर्णयअनुसार संयुक्त प्राविधिक टोलीको अध्ययनका आधारमा ढल्केवर–मुजफ्फरपुर र प्रस्तावित ढल्केवर–सीतामढी ४०० केभी प्रसारण लाइनमार्फत हुने संयुक्त विद्युत् प्रवाहको क्षमता आयाततर्फ हालको एक हजार मेगावाटबाट १ हजार चार सय मेगावाट तथा निर्याततर्फ १ हजार १०० मेगावाटबाट १ हजार ६५० मेगावाट पुर्‍याइने भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देवले जानकारी दिए । त्यसै गरी बैठकले सहसचिवस्तरीय संयुक्त कार्यदलले गरेका सिफारिसहरूलाई अनुमोदन गर्दै विभिन्न प्रसारण लाइन, जलविद्युत् आयोजना तथा सीमा पार विद्युत् आयात–निर्यातका विषयमा सहमति गरेको गरेको सहचिवले देवले बताए ।

बैठकले नेपाल–भारतबीचको चमेलिया–जौलजीवी २२० केभी डबल सर्किट प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन पनि स्वीकृत गरेको छ । यो आयोजना डिसेम्बर २०२८ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस्तै, इनरुवा–न्यू पूर्णिया तथा दोधोधरा (न्यू लम्की)–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम अघि बढाउन संयुक्त उपक्रम कम्पनी स्थापना प्रक्रिया तीव्र बनाउने सहमति बैठकले गरेको छ । उक्त प्रसारणलाइन निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेशन अफ इन्डियाबीच शेयरधनी सम्झौता र संयुक्त उपक्रम सम्झौता यसअघि नै सम्पन्न भइसकेको छ ।

सन् २०३४/३५ सम्म नेपालबाट भारततर्फ थप विद्युत् निर्यात गर्ने लक्ष्यअनुसार आवश्यक प्रसारण पूर्वाधार विस्तारका लागि पनि बैठकले विभिन्न निर्णय गरेको सहसचिव देवले बताए । त्यसका लागि मोतिहारी–निजगढ ४०० केभी डबल सर्किट प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन स्वीकृत गरिएको छ । त्यसै गरी, मुजफ्फरपुर–ढल्केवर ४०० केभी प्रसारण लाइनमा उच्च क्षमताको कन्डक्टर प्रयोग गरी क्षमता विस्तार गर्ने प्रस्ताव बैठकले अनुमोदन गरेको छ । लखनउ–कोहलपुर/लम्ही ४०० केभी प्रसारण लाइन सम्बन्धमा भने थप प्राविधिक अध्ययनपछि अन्तिम निर्णय लिने सहमति बैठकमा भएको देवले बताए ।
बैठकले निर्माणाधीन नयाँ बुटवल–गोरखपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन सम्बन्धमा पनि प्राविधिक सहमति गरेको छ ।

नेपालतर्फको प्रसारण लाइन अगस्ट २०२६ सम्म र नयाँ बुटवल ४०० केभी सबस्टेसन डिसेम्बर २०२७ सम्म सम्पन्न हुने अपेक्षा गरिएकाले त्यस अवधिसम्म उक्त लाइनलाई २२० केभीमा सञ्चालन गर्ने निर्णय बैठकमा भएको उनले बताए । यस व्यवस्थाअनुसार उक्त लाइनबाट १३० मेगावाटसम्म विद्युत् आयात तथा २०० मेगावाटसम्म विद्युत् निर्यात गर्न सकिनेछ । नेपाल र भारतबीच सन् २०१४ मा सम्पन्न भएको विद्युत् व्यापार सम्झौताअनुसार सम्झौताको कार्यान्वयनलाई सहजीकरण, निर्देशन तथा प्रगति अनुगमन गर्न सचिवस्तरीय संयुक्त निर्देशक समिति र सहसचिवस्तरीय संयुक्त कार्यदल गठन भएको थियो । पोखरामा सम्पन्न पछिल्लो बैठकलाई दुवै देशबीच बढ्दो ऊर्जा व्यापार र सीमापार प्रसारण पूर्वाधार विस्तारका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।