काठमाडौँ । मनसुन सक्रिय भएसँगै पछिल्लो २४ घण्टामा विपद्का विभिन्न घटनामा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार, पछिल्लो २४ घण्टामा देशभर ४२ वटा विपद्जन्य घटना दर्ता भएका छन् ।
त्यस्तै, १४ जिल्लाका २२ स्थानमा पहिरो गएको छ । पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । त्यस्तै, पाँच जिल्लामा सर्पदंशका ६ वटा घटना भएका छन् । सर्पको टोकाइबाट ६ जना घाइते भएका छन् । आगलागीका ६ वटा घटनामा एक जना घाइते भएका छन् ।
वर्षा र पहिरोका कारण मुलुकका ६ वटा मुख्य सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । यसैगरी, वैशाख १ देखि हालसम्म प्राकृतिक विपद्का घटनामा ठूलो मानवीय क्षति भएको तथ्यांक छ । पछिल्लो तीन महिनामा सर्पदंशबाट मात्रै ३९ जनाको मृत्यु भएको छ । त्यस्तै, चट्याङबाट २५, लेक लागेर २१, आगलागी र वन्यजन्तुको आक्रमणबाट १७–१७ जनाको मृत्यु भएको प्राधिरकणले जनाएको छ । हावाहुरी र पहिरोका कारण १३–१३ जनाले ज्यान गुमाएका छन् भने बाढीबाट १० र भारी वर्षाका कारण चार जनाको मृत्यु भएको छ। त्यस्तै ढुंगा पल्टेर दुई जना, वन डढेलोबाट एक र हिउँ पहिरोबाट एक जनाको मृत्यु भएको छ ।
वैशाख १ देखि साउन २ गतेसम्म विपद्जन्य घटनाबाट १६४ जनाको मृत्यु भएको प्राधिरकणले जनाएको छ। यसैगरी, तीन हजार ३८९ विपद्का घटना भएका छन् । यस अवधिमा १ जना बेपत्ता भएका छन् भने ९८१ जना घाइते भएका छन् । त्यस्तै, चार हजा ५०५ परिवार प्रभावित भएका छन् । सबैभन्दा बढी हावाहुरीबाट एक हजार ३५६ र आगलागीबाट एक हजार परिवार प्रभावित छन् । सर्पदंशबाट ५३३ परिवार, चट्याङबाट २७५ परिवार, लेक लाग्नेबाट ५४ परिवार र जनावर आक्रमणबाट २९६ परिवार प्रभावित छन् ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































