काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ३ स्थित कप्तानगञ्जमा भएको घटनालाई लिएर सरकारको भूमिकाप्रति चौतर्फी आलोचना भइरहेको बेला सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको सक्रियता बढेको छ ।
कप्तानगञ्जमा दुई समुदायको बिचको विवादले जन धानको ठुलो क्षति भएपछि आन्दोलनले उग्र रूप लिएको थियो। मङ्गलबार साँझ दुई समुदायबिच ढुङ्गा हानाहान भएपछि प्रहरीले नजिकका जिल्लाहरूबाट थप मद्दत कप्तानगञ्ज क्षेत्रमा परिचालन गरेको छ ।
सुनसरी लगायत देशका विभिन्न स्थानमा सामाजिक सद्भाव खलबलिएर स्थिति नियन्त्रण बाहिर जान लाग्दा पनि बालेन्द्र शाह नेतृत्वको सरकारले समन्वयकारी भूमिका नखेलेको आरोप लागेको छ । सरकारको चौतर्फी आलोचना बढ्न थालेपछि प्रधानमन्त्रीले मध्यरातमा सामाजिक सञ्जाल फेसबुक मार्फत सम्पूर्ण रिस, आक्रोश हटाएर एक अर्कालाई प्रेम गर्न आग्रह गरेका थिए ।
मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु हो । फेरि पनि आग्रह गर्छु, मनमा भए पनि तुष, रिस, डर र आक्रोश हटाऔँ उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नबनौँ। सुरक्षित र संयमित भएर बसौँ। एक अर्कालाई प्रेम र सम्मान गरौँ। सामाजिक सद्भाव कायम राखौँ,’ उनले लेखेका छन।
निर्णायक घडीमा सरकारको खोजी हुँदा पनि प्रधानमन्त्री शाह र गृहमन्त्री सुधन गुरुङले स्थितिलाई नियन्त्रणमा लिन कुनै पहल नगरेकोप्रति अहिले सरकारको चौतर्फी आलोचना भइराखेको बेला रविले सर्वदलीय बैठक आह्वान गरे । बुधबार बिहान सिंहदरबारमा बसेको बैठकमा विपक्षी दलहरूले सरकारको भूमिकाप्रति प्रश्न उठाएका थिए । बैठकमा सहभागी नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राप्रपा, श्रम संस्कृति पार्टी, जसपा नेपाल, जनमत पार्टी लगायतका शीर्ष नेताहरूले सामूहिक हस्ताक्षर गरी सामाजिक सद्भावका लागि अपिल गरेका छन्। सात बुँदे निर्णयमा नेपालको पहिचान नै विविधताबिचको एकता, सहिष्णुता र सहअस्तित्व भएकाले सदियौँदेखि समाजमा कायम रहेको सामाजिक सद्भावलाई नबिथोल्न आग्रह गरेका छन् ।
‘सदियौँदेखि हाम्रो समाजमा कायम रहेको पारस्परिक भाइचारा र सामाजिक सद्भावलाई खलबल्याउने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि र उत्तेजनामा नआउन हामी सम्पूर्ण देशवासी आम नागरिकहरूमा हार्दिक अपिल गर्दछौँ । आवेग र मुठभेडले समस्याको समाधान नभई थप जटिलता मात्र निम्त्याउने यथार्थप्रति हामी सबै सचेत हुनु जरुरी छ’, विज्ञप्तिमा भनिएको छ । बैठकमा सहभागी शीर्ष नेताहरू सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै पार्टीको तर्फबाट सभापतिले सर्वदलीय बैठकको पहलकदमी लिएकोमा धन्यवाद दिएका छन् । बैठकमा सहभागी एमालेका महासचिव शंकर पोखरेलले सर्वदलीय बैठक बोलाउनु सकारात्मक भएको बताए ।
‘सर्वदलीय बैठकको आयोजना आफैले गर्नुपर्थ्यो । सरकार तथा प्रधानमन्त्रीले अग्रसरता नलिएकाले होला पार्टी सभापतिले बैठक बोलाउनुभएको होला । यसलाई हामीले सकारात्मक लिएका छौँ’, उनले भने ।
सहभागी अन्य शीर्ष नेताहरूले पनि सरकारको खोजी गरेका थिए । समाजमा बढ्दै गएको द्वन्द्व बल र गोलीगठ्ठाले मात्र नभई सबैसँग संवाद गरेर समस्याको समाधान निकाल्नुपर्नेमा सुझाव दिएका थिए । पार्टी नेतृत्वले बोलाएको बैठकमा प्रधानमन्त्री वा गृहमन्त्री सहभागी भएनन् ।
यद्यपि सभापति रविले बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीले काम गरिराखेको भन्दै सरकारको बचाउ गरेका थिए । ‘प्रधानमन्त्रीले गर्नुपर्ने काम गरिराख्नुभएको छ। गृहमन्त्रीले गर्नुपर्ने काम गरिराख्नुभएको छ । अहिले शान्ति सद्भाव कायम गर्ने हो, चर्का कुरा गर्ने होइन । कसले बोल्यो कसले बोलेन भन्ने होइन । सामाजिक सद्भाव नभड्कियोस् भन्ने हो,’ रविले भने ।
सर्वदलीय बैठक सकिए लगत्तै राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न रवि शीतल निवास पुगेका थिए । उनले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठक सम्बन्धमा पौडेललाई जानकारी गराएका थिए । यसैगरी पूर्वमन्त्री तथा कांग्रेसका दिवङ्गत नेता गोपालमान श्रेष्ठलाई पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जली व्यक्त गर्न पुगेका थिए ।
राजनीतिक भेटघाट सकेर रवि अहिले केन्द्रीय कार्यालय वनस्थली पुगेर केन्द्रीय समिति बैठक सञ्चालन गरिराखेका छन् । यसअघि पनि उनले संसद्मा विपक्षी दलहरूले अवरोध जारी राख्दा सर्वदलीय बैठक बोलाएका थिए । पछिल्ला राजनीतिक गतिविधिले रवि परिपक्व बन्दै गएको प्राध्यापक लोकराज बराल बताउँछन् । देश सङ्कटमा परेको बेला प्रधानमन्त्री र गृहमन्त्रीले नेतृत्वदायी भूमिका खेल्न नसकेको बरालले आरोप लगाए ।
‘प्रधानमन्त्री राजनीतिक प्राणी नै होइन । प्रधानमन्त्री प्रणालीमा उनले नै सिस्टम बुझेका छैनन्, कसरी काम हुन्छ ? बालेनको तुलनामा रविजी धेरै नै राजनीतिक परिपक्वता देखाएको छ’, बरालले भने, ‘पार्टी बनाउने, सङ्गठन बनाउने, सबै राजनीतिक दलहरूसँग समन्वय गर्ने जस्ता गतिविधिले पछिल्लो समय उनमा राजनीतिक परिपक्वता बढेको देखिन्छ।’
संवेदनशील घडीमा सर्वदलीय बैठक आह्वान गर्नुपर्नेमा प्रधानमन्त्री शाहले देशको नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको बताए। उनले भने, ‘प्रधानमन्त्रीलाई कुनै मतलब छैन । उनी सिंहदरबार पुगेर काम गर्ने, स्ट्याटस राख्ने मात्र सीमित देखिन्छन् । गृहमन्त्री पनि त्यस्तै छन्। बचपनाले कसरी देश अगाडि बढ्छ ?’।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































