रास्वपाले गठन गर्‍यो सचिवालय, बालेन बने वरिष्ठ नेता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात नेताको पार्टी सचिवालय गठन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टी विधानको भाग ६ को धारा २३ बमोजिम सचिवालय गठन गर्ने निर्णय गरेको हो ।

गठित सचिवालयमा सभापति रवि लामिछानेसहित उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सहमहामन्त्रीत्रय असिम शाह, हरि ढकाल र निशा डाँगी रहेका छन् । बैठकले बालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेतामा सर्वसम्मत रूपमा मनोनयन गर्ने निर्णय पनि गरेको छ । साथै, महाधिवेशनको समीक्षा, विभागीय कार्यविधि पारित, आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ‘क्यान्डिडेट क्लब’ का लागि भदौ १ गतेदेखि आवेदन खुला गर्ने तथा मन्त्रीहरूसँग नियमित संवाद गर्ने निर्णय समेत गरेको छ ।

सभापति लामिछानेले पार्टीभित्र गुटगत भाष्य सिर्जना नगर्न निर्देशन दिएका छन् । ‘बैठकमा मुख्य एजेन्डा नै यही थियो । महाधिवेशनपछि पार्टीभित्र कुनै गुट उपगुट छैन । यो वा त्यो समूहको भनेर कसैले पनि भाष्य बनाउन आवश्यक छैन । हामी सबै रास्वपाका हौँ’, रविको भनाइ उदृद्ध गर्दै एक केन्द्रीय सदस्यले भने । ५१ जना पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनीत गर्ने विषयमा प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन शाहसँग नियमित छलफल भइरहेको जानकारी दिँदै उनले अबको हप्ता १०/१५ दिनमा बिस्तारै मनोनीत गर्दै जाने बताएका थिए । आजको बैठकमा केन्द्रीय सदस्यहरूले महाधिवेशनको विभिन्न कोणबाट समीक्षा भएको थियो ।

अर्का केन्द्रीय सदस्य जगदीश खरेलले बैठकले महाधिवेशनको समीक्षा हुनुको साथै विधान संशोधन तथा कार्यविधि संशोधन सम्बन्धमा नीतिगत निर्णय लिएको बताए । उनका अनुसार वरिष्ठ नेतामा बालेनलाई मनोनीत गरेको छ । दैनिक कार्य सञ्चालनको लागि निर्वाचित पदाधिकारीको सचिवालय बनाइएको छ ।

सचिवालयमा सभापति रवि लामिछाने, उपसभापति द्वय डा.स्वर्णिम वाग्ले, सोविता गौतम, महामन्त्री विपिन आचार्य, उपमहामन्त्रीहरू असिम शाह, हरि ढकाल र निशा डाँगी छन् । बाँकी सदस्य बिस्तारै थप्दै जाने खरेलले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएपनि सरकार र पार्टीभित्र कुनै मतभेद नभएको उनले जिकिर गरे ।

‘पार्टीभित्र छलफल बहस हुन्छ । यो वा त्यो गुटको भनेर गुटबन्दी भएको छैन । सभापतिले पनि त्यसलाई खारेज गरिसक्नुभएको छ । सुनसरीकै घटनाको विषयमा पनि सामाजिक सद्भावका लागि सत्ता पक्ष र विपक्षको एउटै सन्देश जाओस भनेर पार्टीले सर्वदलीय बैठक आह्वान गरेको हो । सर्वदलीय बैठकमा सरकारमा वरिष्ठ मन्त्री स्वर्णिम उपस्थित हुनुन्थ्यो । त्यसैले दलले नै बैठक बोलाउने हो । यसमा कुनै शङ्का लिनु पर्दैन’, खरेलले भने । रास्वपाले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूसँग महिनामा कम्तीमा एक पटक प्रत्यक्ष संवाद गर्ने निर्णय गरेको छ । बैठकले मन्त्रीहरूको कार्यसम्पादनलाई थप जनमुखी बनाउने र पार्टीसँगको समन्वयलाई प्रभावकारी बनाउन प्रत्येक महिना कम्तीमा एक दिन पार्टी कार्यालयमा अनिवार्य छलफल गर्ने निर्णय गरेको हो ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।