काठमाडौं । विदेश भन्नेबित्तिकै धेरै नेपाली युवाको मनमा राम्रो कमाइ, आधुनिक जीवनशैली र उज्ज्वल भविष्यको चित्र कोरिन्छ ।
सामाजिक सञ्जालमा देखिने आकर्षक तस्बिर, विकसित सहर र सुविधासम्पन्न जीवनले विदेशप्रतिको मोह झन् बढाइदिन्छ । तर ती चम्किला दृश्यहरूको पछाडि लुकेको संघर्ष, एक्लोपन र मानसिक पीडाको कथा भने धेरै कम बाहिर आउँछ ।
२०२५ नोभेम्बर १३ तारिखमा वर्किङ भिसामा टर्कीको भूमिमा पाइला टेक्दा मनमा अनेकौं सपना थिए । आर्थिक अवस्था सुधार गर्ने लक्ष्य, परिवारको भविष्य उज्यालो बनाउने चाहना र जीवनमा केही नयाँ उपलब्धि हासिल गर्ने अठोट बोकेर आफ्नो देश, परिवार र साथीभाइलाई छोडेर विदेशको यात्रा सुरु गरेको थिएँ । विमानस्थलमा परिवारसँग छुट्टिने बेला मन भारी थियो, तर भविष्यका सुनौला दिनहरूको कल्पनाले आँखा रसाए पनि पाइला रोकिएनन् । विदेशमा पुगेर केही वर्ष मेहनत गर्ने, परिवारको दुःख कम गर्ने र आफ्नो जीवनलाई नयाँ मोड दिने सपना मनभरि सजाएको थिएँ ।
नेपालमा रहँदा टेलिभिजन तथा अनलाइन मिडियामा काम गरेको अनुभव थियो । क्यामेरा, समाचार र सञ्चार क्षेत्रसँग मेरो गहिरो सम्बन्ध थियो । आफ्नो कामप्रति प्रेम पनि थियो । तर जीवनले कहिलेकाहीँ चाहनाभन्दा आवश्यकता रोज्न बाध्य बनाउँछ। बढ्दो जिम्मेवारी, आर्थिक चुनौती र परिवारप्रतिको दायित्वका कारण मैले पनि हजारौं नेपाली युवाले जस्तै विदेशको बाटो रोजेँ ।
विदेश आउनुअघि धेरैले भनेका थिए—“विदेशमा पैसा त छ, तर शान्ति छैन ।” कसैले भनेका थिए—“विदेशको कमाइ देखिन्छ, पीडा देखिँदैन।” त्यो बेला ती कुरा सामान्य लाग्थे । तर आज ती शब्दहरूको गहिराइ बुझ्न थालेको छु । टर्की आइपुगेपछि सुरुका दिनहरू निकै कठिन रहे। नयाँ भाषा, नयाँ संस्कृति, फरक खानपान र अपरिचित वातावरणले आफूलाई पूर्ण रूपमा नयाँ संसारमा पुगेको अनुभूति गरायो । सामान्य कुराकानी गर्न पनि समस्या हुन्थ्यो । कतिपय अवस्थामा आफ्नो कुरा बुझाउन नसक्दा मनभित्रै पीडा दबाएर बस्नुपर्थ्यो ।
समय बिस्तारै अगाडि बढ्दै गयो । नयाँ ठाउँसँग घुलमिल हुने प्रयास पनि जारी रह्यो । विदेश आउनुअघि मनमा बनाएका धेरै चित्रहरू यहाँको वास्तविकतासँग मेल खाएनन् । बाहिरबाट हेर्दा विदेश आकर्षक देखिए पनि भोगाइको धरातलमा त्यो निकै फरक रहेछ । यहाँ हरेक उपलब्धिको पछाडि संघर्षका अनगिन्ती कथाहरू लुकेका हुन्छन् । काम सुरु गरेपछि यहाँको वास्तविक जीवन झन् नजिकबाट बुझ्न पाएँ । लामो ड्युटी, निरन्तरको शारीरिक श्रम र कामको दबाबले शरीर मात्र होइन, मनलाई पनि थकाउँदो रहेछ। बिहानदेखि साँझसम्म काममा व्यस्त रहँदा कहिलेकाहीँ आफू किन यहाँ छु भन्ने प्रश्न मनमा उठ्थ्यो । तर परिवारको अनुहार सम्झँदा फेरि हिम्मत जुट्थ्यो । विदेशमा धेरै नेपालीहरू यही भावनाले बाँचेका छन् । आफ्नो दुःखलाई मनभित्र राखेर परिवारको खुसीका लागि संघर्ष गरिरहेका छन् ।
विदेशको सबैभन्दा ठूलो पीडा भनेको एक्लोपन हो । आफ्नो देशमा हुँदा दुःख परे साथीभाइ भेटिन्थे, परिवारसँग कुरा गर्न सकिन्थ्यो, कसैले न कसैले साथ दिन्थ्यो । तर विदेशमा त्यो सहजता हुँदैन । विशेष गरी बिरामी पर्दा यो पीडा झन् गहिरो हुन्छ । ज्वरो आउँदा, शरीर कमजोर हुँदा वा मन अत्यन्तै उदास हुँदा आफ्नो टाउकोमा हात राखेर “के भयो ?” भनेर सोध्ने कोही हुँदैन । त्यो बेला परिवारको सम्झना अझ तीव्र भएर आउँदोरहेछ ।
अहिले टर्की आएको सात महिना भइसकेको छ । समय छोटो होइन, तर मनका लागि अझै पनि धेरै लामो दूरी बाँकी छ । शरीर टर्कीमा भए पनि मन अझै नेपालकै गाउँघर, आफ्नै आँगन र आफ्ना मानिसहरूसँग जोडिएको छ । विदेशले मलाई धेरै कुरा सिकाएको छ। संघर्ष के हो, धैर्य कसरी राख्ने, जिम्मेवारी कसरी बहन गर्ने र कठिन परिस्थितिमा पनि कसरी अगाडि बढ्ने भन्ने कुरा यहीँ सिक्दै छु । जीवनमा सफलता केवल सपना देखेर प्राप्त हुँदैन, त्यसका लागि निरन्तर मेहनत, त्याग र सहनशीलता आवश्यक पर्छ भन्ने अनुभूति विदेशले गराएको छ। यहाँका दिनहरूले मलाई मानसिक रूपमा अझ बलियो बनाएका छन्।
आज म जस्तै हजारौं नेपाली युवा विश्वका विभिन्न देशमा संघर्ष गरिरहेका छन्। कसैले निर्माण क्षेत्रमा पसिना बगाइरहेका छन्, कसैले कारखानामा, कसैले होटलमा, त कसैले अन्य विभिन्न क्षेत्रमा। सबैको कथा फरक भए पनि उद्देश्य एउटै छ—परिवारको खुसी र राम्रो भविष्य। उनीहरूको अनुहारमा मुस्कान देखिए पनि मनभित्र अनगिन्ती पीडा र संघर्षका कथाहरू लुकेका छन्।
विदेशको चमक बाहिरबाट आकर्षक देखिन्छ। राम्रो तलब, आधुनिक शहर र विकसित पूर्वाधारले धेरैलाई आकर्षित गर्छ। तर त्यसको पछाडि परिवारबाट टाढा बस्नुपरेको पीडा, एक्लोपन, मानसिक दबाब र कठिन परिश्रमको वास्तविकता पनि हुन्छ। त्यसैले विदेश जाने सोच बनाइरहेका युवाहरूले केवल चमक मात्र होइन, यथार्थलाई पनि बुझ्न आवश्यक छ । म आज पनि सपनाको खोजीमा प्रवासमा छु। संघर्ष जारी छ, यात्रा जारी छ। कहिलेकाहीँ मन थाक्छ, कहिलेकाहीँ आँखा रसाउँछन्, तर आशा मरेको छैन ।
परिवारको खुसी र भविष्यको विश्वासले अझै पनि अगाडि बढ्न प्रेरणा दिइरहेको छ । मलाई विश्वास छ त्यो दिन म गर्वका साथ भन्न सक्नेछु—विदेशको यात्राले मलाई धेरै रुवायो, धेरै सिकायो, तर अन्ततः जीवनलाई अझ बलियो बनायो । विदेशको चमकलाई केवल बाहिरी आँखाले होइन, त्यहाँ पसिना बगाइरहेका नेपाली युवाका अनुभवबाट पनि बुझ्न आवश्यक छ । किनकि चम्किलो सहरका उज्यालो बत्तीभित्र धेरै नेपालीका अधुरा सपना, मौन पीडा र अथक संघर्षका कथाहरू लुकेका छन् ।


































