चितवन । आँखाको उपचार सेवामा पहुँच विस्तार गर्दै आएको नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले चितवनसहित छिमेकी जिल्लामा आफ्नो उपचार सञ्जाल विस्तार गरेको छ।
मुख्य अस्पतालसहित हाल २५ स्थानबाट आँखा उपचार सेवा दिँदै आएको अस्पतालले थप दुई स्थानमा सेवा केन्द्र सञ्चालन गर्ने तयारी गरेको छ । अस्पतालले अस्पताल तथा उपचार केन्द्रमार्फत नियमित सेवा दिनुका साथै विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गर्दै आएको छ। चितवनसहित आठ जिल्लामा फैलिएको उपचार सञ्जालमार्फत ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई समेत आँखा उपचारको पहुँचमा ल्याउने प्रयास गरिएको अस्पतालले जनाएको छ ।
भरतपुरको बाइपास सडकमा मुख्य अस्पताल सञ्चालनमा रहेको छ भने भरतपुरको उकालोमा सिटी क्लिनिक रहेको छ। पर्साको ठोरी र कावासोतीमा सेकेन्डरी आँखा अस्पताल तथा नवलपरासीको मध्यविन्दु र सर्लाहीको ईश्वरपुरमा सर्जिकल सेन्टर सञ्चालनमा छन् ।
त्यसैगरी चितवनका खैरहनी, माडी, चनौली, रत्ननगर, कुरिनटार, राप्ती र कालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा छन्। धादिङको सल्यानटार र बेनिघाट तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का हुप्सेकोट, बौद्धिकाली, भेडाबारी, अरुणखोला र देवचुलीमा पनि उपचार केन्द्र सञ्चालनमा रहेका छन् ।
महोत्तरीको रामगोपालपुर, सर्लाहीको कविलासी, बाराको सिम्रनगढ तथा तनहुँको आँबुखैरहनी र भानुमा समेत आँखा उपचार केन्द्रमार्फत सेवा दिइँदै आएको छ । नेपाल नेत्रज्योति संघका सभापति जयराम श्रेष्ठका अनुसार आगामी असोजमा सर्लाहीको हरिपुर्वा र नवलपरासीको बुलिङटारमा समेत नयाँ उपचार केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको छ ।
एक वर्षमा तीन लाख ३४ हजारभन्दा बढीलाई सेवा
अस्पतालले गत आर्थिक वर्षमा अस्पताल तथा विभिन्न उपचार केन्द्रबाट दुई लाख ९२ हजार ६७१ जनालाई बहिरंग सेवा प्रदान गरेको छ। त्यस्तै, विभिन्न स्थानमा सञ्चालन गरिएका आँखा शिविरबाट ४२ हजार २७० जनाले उपचार सेवा लिएका छन् ।
अस्पतालका अनुसार एक वर्षमा अस्पताल, उपचार केन्द्र तथा शिविरमार्फत कुल तीन लाख ३४ हजार ९४१ जना लाभान्वित भएका छन्। चितवनसहित आसपासका जिल्लाका करिब २६ लाख जनसंख्यालाई सेवा दिन सक्ने क्षमता अस्पतालसँग रहेको सभापति श्रेष्ठले बताए । गत आर्थिक वर्षमा मात्रै ११ हजार ६९३ जनाको आँखाको शल्यक्रिया गरिएको छ। उपचार सेवा विस्तारमा विभिन्न दाता तथा सरकारी निकायको सहयोग महत्वपूर्ण रहेको श्रेष्ठको भनाइ छ ।
स्थानीय तहले अस्पताल तथा सेवा केन्द्र सञ्चालनका लागि भवन उपलब्ध गराउनुका साथै आर्थिक सहयोगसमेत गर्दै आएका छन्। संघीय तथा प्रदेश सरकारबाट पनि अस्पताललाई सहयोग प्राप्त हुँदै आएको छ। पाकिस्तान र भारतीय दूतावास, लायन्स क्लब, सेवा फाउन्डेसन, क्योरब्लाइन्डनेस, रुइट फाउन्डेसन, बैंक तथा वित्तीय संस्था र विभिन्न सामाजिक व्यक्तित्वको सहयोगबाट उपचार सेवा विस्तार गर्न सहज भएको श्रेष्ठले बताए ।
पहुँचसँगै गुणस्तरीय उपचारमा जोड
अस्पतालका वरिष्ठ अस्पताल प्रशासक दयाशंकर चौधरीले आँखा उपचारलाई सर्वसाधारणको पहुँचमा पुर्याउनुका साथै गुणस्तरीय र समयमै उपचार सेवा उपलब्ध गराउने उद्देश्यले काम भइरहेको बताए । “उच्चगुणस्तरीय र पहुँचयोग्य आँखा उपचार सेवा प्रदान गर्दै नेपालमा देखिएको दृष्टिविहीनताको समस्या न्यूनीकरण गर्न हामी निरन्तर लागिरहेका छौँ,” उनले भने ।
भरतपुर आँखा अस्पतालमा ११ जना नेत्र विशेषज्ञसहित १६७ जना कर्मचारी कार्यरत छन् । अस्पतालले उपचार सेवासँगै आँखा स्वास्थ्यसम्बन्धी शिक्षा, स्वास्थ्यकर्मीको तालिम, अनुसन्धान तथा सामुदायिक पहुँचका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको चौधरीले बताए । अस्पतालको उपचार सञ्जाल विस्तारसँगै अस्पतालसम्म पुग्न नसक्ने ग्रामीण क्षेत्रका नागरिकले स्थानीय तहमै आँखा जाँच तथा उपचार सेवा पाउने अवसर बढेको छ । नियमित उपचार केन्द्र, सर्जिकल सेन्टर र शिविरमार्फत सेवा विस्तार हुँदा समयमै उपचार पाउने नागरिकको संख्या पनि बढ्दै गएको अस्पतालको भनाइ छ ।




































