बाढीले पुल बगाएपछि वैकल्पिक बाटो, फलाखुमा फड्के र भोटेकोसीमा तुइन

रसुवा । बाढीले पुल बगाएपछि अवरुद्ध बनेको रसुवा–नुवाकोट सडकखण्डमा तत्काल पैदल आवागमन सञ्चालन गर्न वैकल्पिक संरचना निर्माण गरिएको छ ।

फलाखु खोलामा बाँस तथा काठको फड्के र स्याफ्रुबेँसीस्थित भोटेकोसी नदीमा फलामे तुइन निर्माण गरी आवागमन सहज बनाइएको हो।

फलाखु खोलामा रहेको पक्की पुल तथा स्याफ्रुबेँसीमा भोटेकोसी नदीमाथि रहेको पक्की पुल बाढीले बगाएपछि सो सडकखण्डमा आवतजावत पूर्ण रूपमा प्रभावित भएको थियो। सडक तथा पुलको संरचना क्षतिग्रस्त भएपछि स्थानीयवासी, यात्रु तथा उत्तरी रसुवाका बासिन्दालाई आवागमनमा समस्या भएको थियो।

तत्कालको समस्या समाधान गर्न सुरक्षा निकाय तथा स्थानीयवासीको समन्वयमा वैकल्पिक संरचना निर्माण गरिएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिए।

बेत्रावती क्षेत्रमा पैदल यात्रुका लागि बाँस तथा काठ प्रयोग गरी फड्के निर्माण गरिएको छ। फड्के सञ्चालनमा आएपछि नुवाकोटतर्फबाट गेर्खु, छापटार र केराघारी हुँदै बेत्रावतीसम्म पैदल आवतजावत सहज भएको प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामेले बताए।

फड्के निर्माणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाले सहयोग गरेको समाजसेवी गणेश श्रेष्ठले जानकारी दिए।

स्याफ्रुबेँसीमा तुइन

भोटेकोसी नदीमाथिको पुल बाढीले बगाएपछि उत्तरी रसुवाको आवागमन प्रभावित बनेको अवस्थामा स्याफ्रुबेँसीमा फलामे तुइन निर्माण गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायको समन्वयमा तुइन तयार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताए।

तुइन निर्माण सम्पन्न भए पनि दायाँ–बायाँतर्फको पदमार्ग व्यवस्थित गर्ने काम भइरहेको छ। पदमार्गको काम पूरा भएपछि एक–दुई दिनभित्र तुइन पूर्ण रूपमा सञ्चालनमा ल्याइने सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले बताए।

तुइन सञ्चालनमा आएपछि उत्तरी रसुवाका गतलाङ, गोल्जुङ, चिलिमे, थुमन, स्यो, ग्रेलगायत क्षेत्रका बासिन्दालाई स्याफ्रुबेँसी हुँदै आवतजावत गर्न सहज हुने भएको छ।

त्यस्तै, बेत्रावतीमा निर्माण गरिएको फड्केले लहरेपौवा, जीवजीवे, धैबुङ, भोर्ले, राम्चेलगायत क्षेत्रका बासिन्दालाई पनि तत्कालका लागि आवागमनमा राहत दिएको छ।

अस्थायी संरचनाले तत्काल राहत, बेलिब्रिजको माग

बाढीले पुल तथा सडक संरचना बगाएपछि निर्माण गरिएका फड्के र तुइनले तत्कालको आवागमन समस्या केही हदसम्म समाधान गरेको स्थानीयवासीले बताएका छन्। दैनिक आवतजावत तथा अत्यावश्यक कामका लागि पैदल हिँड्नुपर्ने नागरिकलाई यसबाट राहत मिलेको छ।

तर फड्के र तुइन अस्थायी विकल्प मात्र भएकाले दीर्घकालीन समाधानका लागि बेलिब्रिज निर्माण गर्नुपर्ने स्थानीयको माग छ।

बाढीबाट क्षतिग्रस्त सडक तथा पुल संरचनाको पुनर्निर्माणलाई तीव्रता दिँदै सम्भव भएसम्म छिटो बेलिब्रिज निर्माण गर्न उनीहरूले सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

स्थानीयवासीका अनुसार वर्षायाममा खोलाको बहाव बढ्ने भएकाले अस्थायी संरचनामा निर्भर रहँदा जोखिमसमेत हुन सक्छ। त्यसैले सुरक्षित र नियमित यातायात सञ्चालनका लागि क्षतिग्रस्त पुलको पुनर्निर्माणसँगै तत्काल बेलिब्रिजको व्यवस्था आवश्यक रहेको उनीहरूको भनाइ छ।