काठमाडौं । रसुवा बाढीका कारण भोटेकोसी तथा त्रिशूली नदी क्षेत्रमा रहेका विभिन्न जलविद्युत आयोजनाका सुरुङमा १ सय २१ जना मात्रै फसेको नेपाली सेनाले जनाएको छ ।
बाढीपछि जलविद्युत आयोजनासँग सम्बन्धित ९ सयभन्दा बढी व्यक्ति सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भइरहेका बेला सेनाले ती सबै व्यक्ति सुरुङभित्र फसेका भने नरहेको स्पष्ट पारेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले विभिन्न आयोजनाबाट प्राप्त विवरण र स्थलगत सूचनाका आधारमा सुरुङभित्र रहेका व्यक्तिको संख्या करिब १ सय २१ रहेको जानकारी दिए । उनका अनुसार रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा ५ जना, लाङटाङमा ७ जना, चिलिमेमा ७ जना, अपर त्रिशूली–१ मा करिब ५० जना र त्रिशूली–३ ए मा करिब ४२ जना सुरुङभित्र रहेको तथ्यांक छ । यी आयोजनामा रहेका व्यक्तिलाई जोड्दा सुरुङभित्र फसेका वा प्रवेश गरेका व्यक्तिको संख्या करिब १ सय २१ पुग्ने सेनाको भनाइ छ ।
बाढीपछि विभिन्न जलविद्युत आयोजनाबाट ९ सयभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएको विवरण आएपछि सुरुङभित्र ठूलो संख्यामा मानिस फसेको हुनसक्ने आशंका गरिएको थियो । तर सेनाले आयोजनासँग आबद्ध सबै व्यक्ति सुरुङभित्र प्रवेश गरेका हुँदैनन् भन्ने स्पष्ट पारेको छ । आयोजनाका कार्यालय, आवास, निर्माणस्थल, क्याम्प तथा अन्य क्षेत्रमा कार्यरत व्यक्तिसमेत सम्पर्कविहीनको सूचीमा रहेकाले उक्त संख्या सुरुङभित्र फसेकाको संख्या नभएको सहायक रथी थापाले बताए । ‘परियोजनाहरूबाट टनेल लगायत कार्य र सम्पूर्ण हेर्दाखेरि ९ सयको हाराहारीमा सम्पर्कविहीन देखाए पनि त्यो टनेलभित्र फसेका व्यक्ति होइनन्, परियोजनासँग आबद्ध व्यक्तिहरू हुन्,’ उनले भने, ‘सरसर्ती हिसाब गर्ने हो भने रसुवागढी ५, लाङटाङ ७, चिलिमे ७, अपर त्रिशूली–१ करिब ५० र त्रिशूली–३ ए करिब ४० गरी हाराहारी १ सय २१ जना मात्रै टनेलभित्र पसेको तथ्य देखिन्छ । त्रिशूली–३ बीमा सम्पर्कविहीन भएका सबै व्यक्ति टनेलभित्र रहेको होइनन् ।’
सेनाको यो विवरणले बाढीपछि सम्पर्कविहीन व्यक्तिको वास्तविक अवस्थाबारे केही स्पष्टता ल्याएको छ । यद्यपि सम्पर्कविहीन रहेका सबै व्यक्तिको अवस्था भने अझै यकिन भइसकेको छैन । बाढीले जलविद्युत आयोजनाका पहुँचमार्ग, आवास, निर्माणस्थल तथा अन्य संरचनामा ठूलो क्षति पुर्याएका कारण कतिपय व्यक्ति कहाँ छन् भन्नेबारे अझै जानकारी प्राप्त हुन नसकेको सेनाले जनाएको छ । भोटेकोसी तथा त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीले जलविद्युत आयोजनाका संरचनामा समेत गम्भीर क्षति पुर्याएको छ । बाढीको तीव्र बहाव, गेग्रान, ढुंगा तथा माटोका कारण आयोजनाका पहुँच सडक र पुलहरूमा क्षति पुगेको छ । कतिपय स्थानमा सुरुङका प्रवेशद्वार तथा आसपासका संरचनासमेत माटो, ढुंगा र गेग्रानले पुरिएका छन् । यस्तो अवस्थामा सुरुङभित्र प्रवेश गरेर खोजी तथा उद्धार गर्नु सुरक्षाका दृष्टिले समेत चुनौतीपूर्ण बनेको छ । नेपाली सेनाले भने सुरुङभित्र फसेका व्यक्तिको खोजी कार्य तत्काल रोक्ने अवस्था नरहेको जनाएको छ । सहायक रथी थापाका अनुसार सबै सुरुङ पूर्ण रूपमा ब्रेकथ्रु नभएसम्म खोजी तथा उद्धार अभियान जारी रहनेछ । सुरुङको अवस्था, भित्र जम्मा भएको माटो तथा गेग्रान, पानीको अवस्था र संरचनाको जोखिमलाई ध्यानमा राख्दै उद्धार टोलीले चरणबद्ध रूपमा काम गरिरहेको छ ।
‘जबसम्म सम्पूर्ण टनेल ब्रेकथ्रु हुँदैन, त्यतिन्जेलसम्म यो जारी नै रहन्छ,’ थापाले भने, ‘सरकारले नै अब नगर्ने भन्ने निर्णय गर्छ अथवा प्राधिकरणले नै त्यससम्बन्धी काम पुग्यो भनेर नभनिन्जेलसम्म हाम्रो खोजी जारी नै रहन्छ । हाम्रो आशा अहिलेसम्म पनि मरेको छैन ।’ सेनाले सुरुङभित्र रहेका व्यक्तिको खोजीमा सूचनामा आधारित उद्धार रणनीति अपनाएको जनाएको छ । कुनै आयोजना, परिवार, सहकर्मी वा अन्य स्रोतबाट कुनै व्यक्ति विशेष स्थानमा फसेको हुनसक्ने जानकारी प्राप्त भएमा त्यसलाई आधार बनाएर उद्धार टोली परिचालन गर्ने गरिएको छ । यसरी प्राप्त हुने प्रत्येक सूचनालाई प्राथमिकताका साथ परीक्षण गर्ने र सम्भावित स्थानमा खोजी गर्ने काम भइरहेको सेनाको भनाइ छ । बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यसँगै पुनःस्थापना र पुनर्निर्माणका कामसमेत अघि बढाउनुपर्ने अवस्था रहेको सेनाले जनाएको छ । बाढीले सडक तथा पुलमा क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा आवतजावत कठिन बनेको छ । कतिपय बस्ती तथा आयोजनासम्म पुग्न पुराना सडकमार्ग प्रयोग गर्न नसकिने अवस्था बनेको छ ।
सेनाले अहिले खोजी तथा उद्धारका साथै अवरुद्ध सडक खोल्ने, क्षतिग्रस्त संरचनाको रेकी गर्ने र अस्थायी आवतजावतको व्यवस्था मिलाउने काम पनि अघि बढाएको छ । नदी तथा खोलामा रहेका पुल बगाएपछि आवश्यक स्थानमा तुइन तथा झोलुङ्गे पुल निर्माणको कामसमेत सुरु गरिएको सेनाले जानकारी दिएको छ । बाढीका कारण भौतिक पूर्वाधारमा भएको क्षतिले उद्धार टोलीलाई प्रभावित क्षेत्रमा पुग्नसमेत कठिनाइ भएको छ । सडक सम्पर्क टुटेका स्थानमा वैकल्पिक मार्ग पहिचान गर्ने, पैदल तथा अन्य माध्यमबाट पुग्न सकिने सम्भावित बाटोको अध्ययन गर्ने र आवश्यक स्थानमा अस्थायी संरचना निर्माण गर्ने काम भइरहेको छ । जलविद्युत आयोजनाका सुरुङमा फसेका व्यक्तिको खोजीलाई सेनाले अझै उच्च प्राथमिकतामा राखेको छ । सुरुङभित्र रहेका व्यक्तिको संख्या १ सय २१ हाराहारीमा रहेको प्रारम्भिक विवरण आए पनि खोजी अभियानका क्रममा थप सूचना प्राप्त हुनसक्ने भएकाले अहिले नै अन्तिम संख्या निर्धारण गर्न नसकिने सेनाको भनाइ छ । विशेषगरी अपर त्रिशूली–१ र त्रिशूली–३ ए जस्ता आयोजनामा ठूलो संख्यामा मानिस सुरुङभित्र रहेको विवरण आएपछि ती क्षेत्रमा उद्धार चुनौतीपूर्ण बनेको छ । लामो समयदेखि सम्पर्कविहीन रहेका व्यक्तिको अवस्था पत्ता लगाउन सुरुङको भौतिक अवस्था परीक्षण गर्दै सम्भव भएसम्म भित्रसम्म पुग्ने प्रयास भइरहेको छ ।
सेनाका अनुसार उद्धार अभियान केवल सुरुङभित्र रहेका व्यक्तिमा सीमित छैन । बाढीबाट प्रभावित तथा सम्पर्कविहीन भएका व्यक्तिको खोजी, जोखिममा रहेका नागरिकको उद्धार, सडक तथा पुलको अस्थायी पुनःस्थापना र प्रभावित बस्तीमा पहुँच स्थापना गर्ने कामलाई पनि समानान्तर रूपमा अघि बढाइएको छ । बाढीपछि जलविद्युत आयोजनामा कार्यरत ठूलो संख्याका मानिस सम्पर्कविहीन रहेको विवरण सार्वजनिक हुँदा उनीहरूको अवस्थाबारे परिवार तथा आफन्तमा गम्भीर चिन्ता उत्पन्न भएको छ । आयोजनासँग आबद्ध सबै व्यक्तिको अवस्था पहिचान गर्ने काम पनि चुनौतीपूर्ण बनेको छ । कतिपय व्यक्तिहरू बाढी आउनुअघि नै सुरक्षित स्थानतर्फ गएका हुनसक्ने, कतिपय सम्पर्कको पहुँचबाहिर रहेका र केही व्यक्तिको अवस्थाबारे अझै कुनै सूचना प्राप्त नभएको हुनसक्ने सेनाको भनाइ छ । त्यसैले ९ सयभन्दा बढी सम्पर्कविहीन व्यक्तिको विवरणलाई सुरुङभित्र फसेका व्यक्तिको संख्याका रूपमा बुझ्न नहुने सेनाले आग्रह गरेको छ । सुरुङमा प्रवेश गरेका व्यक्तिको संख्या र आयोजनासँग सम्बन्धित भएर सम्पर्कविहीन भएका व्यक्तिको संख्या फरक रहेको स्पष्ट पार्दै सेनाले वास्तविक अवस्थाको यकिन गर्न खोजी तथा सूचना संकलन जारी राखेको छ ।
बाढीले पुर्याएको ठूलो क्षतिका बीच उद्धारको सम्भावना अझै समाप्त नभएको सेनाले जनाएको छ । सुरुङ पूर्ण रूपमा खुला नभएसम्म त्यहाँ रहेका व्यक्तिको अवस्थाबारे निष्कर्ष निकाल्न नमिल्ने भन्दै सेनाले खोजी अभियान निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । सेनाले उपलब्ध स्रोतसाधन र प्राप्त सूचनाका आधारमा सम्भावित स्थानमा टोली परिचालन गरिरहेको छ । उद्धारसँगै प्रभावित क्षेत्रलाई पुनः सडक सञ्जालसँग जोड्ने, अस्थायी पुल तथा तुइन निर्माण गर्ने र आवश्यक स्थानको रेकी गर्ने काम पनि अघि बढाइएको छ । यसले बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई राहत र पुनःस्थापनाका काममा पहुँच सहज बनाउने अपेक्षा गरिएको छ । रसुवा बाढीपछि भोटेकोसी तथा त्रिशूली नदी करिडोरमा देखिएको मानवीय र भौतिक संकट अझै गम्भीर अवस्थामा रहेकाले खोजी, उद्धार र पुनःस्थापनाका कामलाई लामो समयसम्म निरन्तरता दिनुपर्ने अवस्था देखिएको छ । सुरुङभित्र रहेका भनिएका १ सय २१ जनाको अवस्था पत्ता लगाउनु अहिलेको प्रमुख चुनौतीमध्ये एक बनेको छ । नेपाली सेनाले भने सुरुङ पूर्ण रूपमा ब्रेकथ्रु नभएसम्म खोजी अभियान नरोकिने स्पष्ट पारेको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




































