काठमाडौं । मलेसियाको वायुमास ओभलमा यूएईको अन्तिम विकेट ढलेसँगै नेपाली खेलाडीहरू मैदानभर दौडिए ।
ड्रेसिङ रुमबाट प्रशिक्षक, अफिसियल र बेन्चका खेलाडीसमेत मैदानमा पुगे । कसैले राष्ट्रिय झण्डा ओढे, कसैले एकअर्कालाई अँगालो हालेर खुसी साटे । मैदानमा देखिएको त्यो दृश्य एउटा ट्रफी जितेको खुसीमा मात्र सीमित थिएन । त्यो नेपाली क्रिकेट फेरि एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा फर्किएको क्षण थियो । नेपालले शनिबार सम्पन्न एसीसी पुरुष प्रिमियर कपको उपाधि जित्दै सन् २०२७ मा हुने एसिया कपका लागि स्थान सुरक्षित गरेको छ । फाइनलमा यूएईलाई पराजित गर्दै नेपालले प्रिमियर कपको दोस्रो संस्करणको उपाधि जितेको हो । यससँगै नेपालले पहिलो संस्करणको इतिहास दोहोर्याएको छ । सन् २०२३ मा घरेलु मैदानमा भएको पहिलो संस्करणको फाइनलमा पनि नेपालले यूएईलाई नै पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो ।
यसपटकको यात्रा भने नेपालका लागि त्यति सहज थिएन । यूएई प्रतियोगितामा अपराजित रहँदै फाइनलसम्म पुगेको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा हङकङसँग हार बेहोरेपछि केही दबाबमा परेको थियो । तर त्यो हारलाई बिर्साउँदै नेपालले सेमिफाइनलमा ओमानलाई हरायो र फाइनलमा यूएईमाथि शानदार जित निकाल्दै उपाधि आफ्नो नाममा लेखायो । उपाधिपछि कप्तान सन्दीप लामिछानेले प्रतियोगिताभरको प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गरे । उनका अनुसार हङकङसँगको खेलबाहेक नेपालले प्रतियोगितामा समग्रमा उत्कृष्ट क्रिकेट खेलेको थियो ।
‘हामीले राम्रो खेल्यौं । हङकङसँग मात्रै नजिक पुगेर चुक्यौं, त्यसबाहेक सबै खेलाडीले शानदार प्रदर्शन गरे,’ सन्दीपले उपाधिपछि भने, ‘यो यात्रा सहज पक्कै थिएन । सम्पूर्ण समर्थकहरूको साथले गर्दा फेरि अर्को उपलब्धि हासिल गर्न सफल भएका छौं ।’ सन्दीप प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीसमेत घोषित भए । उनले आफ्नो व्यक्तिगत अवार्ड र उपाधि नेपालमा बाढीपहिरोका कारण ज्यान गुमाउनेहरूप्रति समर्पित गरे । पछिल्लो समय नेपालका विभिन्न क्षेत्रमा आएको विपत्तिले ठूलो मानवीय क्षति पुर्याइरहेका बेला राष्ट्रिय क्रिकेट टोलीको यो सफलता पीडामा रहेका नेपालीका लागि खुसीको क्षणसमेत बनेको छ ।
‘म नेपालको बाढीबाट ज्यान गुमाउने सबैजनालाई सम्झिरहेको छु, भावुक भइरहेको छु । सबैप्रति हार्दिक श्रद्धाञ्जली । यो जित सबै तपाईंहरूलाई समर्पित छ,’ सन्दीपले भने । उनले मलेसियामा पुगेर टोलीलाई समर्थन गर्ने नेपाली समर्थकलाई पनि धन्यवाद दिए । विदेशमा समेत ठूलो संख्यामा नेपाली समर्थक उपस्थित हुँदा टोलीले घरेलु मैदानमै खेलेजस्तो अनुभूति गरेको खेलाडीहरूले बताएका थिए ।
फाइनलमा टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको थियो । नेपालको सुरुआत योजनाअनुसार नै भयो । ओपनर आसिफ शेख र अर्जुन कुमालले संयमित तर सकारात्मक ब्याटिङ गर्दै नेपालको इनिङ्सलाई बलियो आधार दिए । दुवैले सुरुआतमा जोखिम कम लिँदै रन गति बढाएका थिए । अर्जुन ४३ रन बनाएर रनआउट भएपछि नेपालको इनिङ्सको जिम्मेवारी आसिफले सम्हाले । आसिफले उत्कृष्ट ब्याटिङ गर्दै शतक पूरा गरे । यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय करियरको दोस्रो शतक थियो । उनले महत्वपूर्ण समयमा शतक प्रहार गर्दै नेपाललाई ठूलो योगफलतर्फ अघि बढाए । आसिफ आउट भएपछि गुल्शन झाले आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरे । मध्यक्रममा रोहित पौडेलले ४० रनको योगदान दिए भने अन्त्यतिर बसिर अहमदले चार बलमा अविजित १४ रनको आक्रामक क्यामिओ इनिङ खेले ।
यी प्रदर्शनका कारण नेपालले निर्धारित ओभरमा ३१३ रनको बलियो योगफल खडा गर्यो । ३०० रनको आँकडा पार गरेपछि नेपालले यूएईमाथि ठूलो दबाब सिर्जना गरेको थियो । तर यूएईको ब्याटिङ लाइनअप हेर्दा लक्ष्य सहज हुने अवस्था भने थिएन । त्यसैले नेपाली बलरले सुरुआती ओभरदेखि नै विकेट निकाल्नुपर्ने चुनौती थियो । बलिङमा नेपालले पहिलो सफलता प्राप्त गर्न केही समय कुर्नुपर्यो । यूएईका ओपनर तनिश सुरीले सुरुदेखि नै आक्रामक शट खेलिरहेका थिए । अर्का ओपनर अदीब उसमानीलाई नेपालले आउट गर्दा यूएईले पाँचौं ओभरमा ४५ रन बनाइसकेको थियो । त्यसपछि नेपालले लगातार दबाब सिर्जना गर्यो ।
अक्षदीप नाथ सन्दीप लामिछानेको शर्ट बलमा फसे । त्यसपछि तनिश करण केसीको बलमा डिप स्क्वायर लेगमा छक्का प्रहार गर्ने प्रयासमा क्याच आउट भए । केही ओभरको अन्तरमा दुई विकेट गुमाएपछि यूएई ५६ रनमा तीन विकेटको अवस्थामा पुग्यो । त्यसपछि राहुल चोपरा र कप्तान हरप्रित भाटियाले यूएईको इनिङ्स सम्हाल्ने प्रयास गरे । दुवैले ४७ रनको साझेदारी बनाए । तर रोहित पौडेलले हरप्रितलाई कभरमा क्याच आउट गराएपछि यूएई १०३ रनमा चार विकेट गुमाएको अवस्थामा पुग्यो । त्यसपछि आयान अफजल खान पनि गुल्शन झाको बलमा ठूलो शट खेल्ने प्रयास गर्दा लङअनमा क्याच आउट भए । २३औं ओभरमा यूएई ११९ रनमा पाँच विकेट गुमाइसकेको थियो ।
त्यसपछि खेल फेरि यूएईको पक्षमा फर्किने संकेत देखियो । शोहेब खान र राहुल चोपराले धैर्यपूर्वक ब्याटिङ गर्दै ठूलो साझेदारी बनाए । दुवैले अर्धशतक पूरा गरेपछि नेपालमाथि दबाब बढ्न थाल्यो । उनीहरूको साझेदारी ८३ रनसम्म पुगेको थियो । यूएईले लक्ष्यतर्फ निरन्तर अघि बढ्दै खेललाई रोमाञ्चक बनाएको थियो । नेपालका लागि निर्णायक मोड ३९औं ओभरमा आयो । शोहेबले ललित राजवंशीको बलमा ठूलो शट खेल्ने प्रयास गर्दा मिसटाइम भयो र उनी ५२ रनमा क्याच आउट भए । त्यसपछि खुजाइमा बिन तनभिरले राहुल चोपरालाई साथ दिँदै यूएईको आशा जीवित राखे ।
४५ ओभरको समाप्तिमा यूएई २४८ रनमा ६ विकेटको अवस्थामा थियो । जितका लागि ३० बलमा ५७ रन आवश्यक थियो । त्यही अवस्थामा नेपाली बलरले दबाब बढाए । खुजाइमा दीपेन्द्रसिंह ऐरीको बलमा बोल्ड भए । त्यसपछि इबरार अहमद र हैदर अली पनि करण केसीको बलमा क्याच आउट भए । यूएईका पछिल्ला विकेट लगातार खसेपछि नेपालको जित लगभग निश्चित बनेको थियो ।यूएईका लागि राहुल चोपरा भने अन्तिमसम्म संघर्षरत रहे । उनले ह्यामस्ट्रिङको समस्या झेलिरहेका थिए । एक समय सन्दीपलाई शानदार छक्का प्रहार गरेपछि उनी पिचमै लडेका थिए । चोटका बाबजुद उनले ब्याटिङ जारी राखे । राहुलले शतक पूरा गर्दै १०० रनमा अविजित रहे पनि उनलाई अर्को छेउबाट पर्याप्त साथ मिलेन । अन्ततः यूएईको इनिङ्स रोकियो र नेपालले प्रिमियर कपको उपाधि जित्यो ।
नेपालको फाइनलसम्मको यात्रा पनि उतारचढावपूर्ण थियो । समूह ‘ए’ मा नेपालले चारमध्ये तीन खेल जित्दै समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो । प्रतियोगिताको पहिलो खेलमै नेपालले बहराइनलाई ८७ रनमा अलआउट गर्दै सात विकेटको सहज जित निकालेको थियो । त्यसपछि घरेलु टोली मलेसियालाई १०३ रनमै रोक्दै नेपालले अर्को खेलमा पनि ६ विकेटको जित हात पारेको थियो । साउदी अरेबियाविरुद्ध नेपालले १९१ रनको लक्ष्य पाँच विकेट गुमाएर पूरा गरेको थियो । लगातार तीन खेल जितेपछि नेपाल समूहको बलियो टोलीका रूपमा स्थापित भइसकेको थियो । तर समूह चरणको अन्तिम खेलमा हङकङसँग भने नेपाल १६ रनले पराजित भयो । २६२ रनको लक्ष्य पछ्याएको नेपाल लक्ष्य नजिक पुगेर रोकिएको थियो । त्यस हारले नेपाली टोलीमाथि केही दबाब सिर्जना गरे पनि समूह विजेताका रूपमा सेमिफाइनल पुग्न नेपाल सफल भयो ।
ओमानविरुद्धको सेमिफाइनल नेपालका लागि प्रतियोगिताकै सबैभन्दा महत्वपूर्ण खेल बन्यो । पहिलोपटक सुरुआती ब्याटिङ गर्ने अवसर पाएको नेपालले अपेक्षाअनुसार ब्याटिङ गर्न सकेन । नेपालले केवल १४७ रनको योगफल खडा गरेको थियो । सामान्यतया त्यस्तो योगफलमा खेल जित्न कठिन मानिन्छ । तर नेपालको सबैभन्दा बलियो पक्ष बलिङ थियो र त्यसैमा भरोसा गरेर टोली मैदानमा उत्रियो । सन्दीप लामिछानेको नेतृत्वमा नेपाली स्पिन आक्रमणले ओमानलाई दबाबमा राख्यो । ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलले समेत प्रभावकारी बलिङ गरे । नेपालले ओमानलाई केवल ६० रनमा अलआउट गर्दै अविश्वसनीय जित निकाल्यो । १४७ रनको सामान्य योगफल बचाउँदै ८७ रनको जित निकाल्नुले नेपाली टोलीको बलिङ क्षमता फेरि प्रमाणित गर्यो । त्यही जितले नेपाललाई फाइनलमा पुर्यायो र एसिया कपको सपना जीवित राख्यो । फाइनलमा भने नेपालले ब्याटिङ र बलिङ दुवै पक्षमा सन्तुलित प्रदर्शन गर्यो । ३१३ रनको विशाल योगफल बनाउनु र त्यसपछि यूएईको बलियो ब्याटिङ लाइनअपलाई दबाबमा राख्नु नेपालको समग्र प्रदर्शनको विशेषता रह्यो ।
उपाधि जितेपछि कप्तान सन्दीपले यो सफलता आफूहरूले लेखेको जस्तै भएको प्रतिक्रिया दिएका थिए । ‘हामीले जस्तो खेल्यौं मलाई लाग्छ यी कुराहरू डेस्टिनीमै थियो, नतिजा पनि त्यहीअनुसार नै आयो,’ उनले भनेका थिए । नेपालका लागि एसीसी प्रिमियर कप अब केवल एउटा क्षेत्रीय प्रतियोगिता रहेन । यो एसिया कपसम्म पुग्ने महत्वपूर्ण बाटो बनेको छ । सन् २०२३ मा पहिलो संस्करण जित्दा नेपालले पहिलोपटक एसिया कपमा भारत र पाकिस्तानजस्ता विश्व क्रिकेटका शक्तिशाली टोलीसँग खेल्ने अवसर पाएको थियो । त्यतिबेला दुवै खेलमा नेपाल पराजित भए पनि नेपाली टोलीको प्रदर्शनले अन्तर्राष्ट्रिय क्रिकेटमा ठूलो चर्चा पाएको थियो ।
भारत र पाकिस्तानसँगको प्रतिस्पर्धाले नेपाली क्रिकेटलाई विश्वभरका दर्शकमाझ चिनाउने महत्वपूर्ण अवसर दिएको थियो । अब नेपालले दोस्रोपटक प्रिमियर कप जितेसँगै फेरि त्यस्तै ठूलो मञ्चमा पुग्ने अवसर पाएको छ । सन् २०२७ को जुनमा बंगलादेशमा आयोजना हुने एसिया कपमा नेपालले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता एसियाली क्रिकेट शक्तिसँग प्रतिस्पर्धा गर्ने सम्भावना बनेको छ । प्रतियोगिताको अन्तिम संरचना र अन्य विवरण भने टुंगो लाग्न बाँकी छ । तर एउटा कुरा भने निश्चित भएको छ—नेपाली क्रिकेटले एसिया कपको टिकट फेरि आफ्नै प्रदर्शनबाट सुरक्षित गरेको छ । मलेसियाको मैदानमा यूएईको अन्तिम विकेट खसेसँगै सुरु भएको नेपाली टोलीको उत्सव त्यसैले एउटा उपाधिको उत्सव मात्र रहेन । यो नेपाली क्रिकेटले फेरि एसियाली क्रिकेटको ठूलो मञ्चमा पाइला टेक्न लागेको घोषणा पनि बन्यो ।
प्रक्षेपण राष्ट्रयि दैनकिबाट साभार ।




































