काठमाडौं । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नदी किनारको सडकको तल्लो भाग कटान गरेपछि पृथ्वी राजमार्ग १४ दिनदेखि अवरुद्ध छ ।
काठमाडौंलाई देशका विभिन्न जिल्ला र पश्चिम नेपालसँग जोड्ने प्रमुख ‘लाइफलाइन’ मानिएको यो राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा त्रिशूलीले सडकको बेस नै कटान गरेपछि राजमार्ग अवरुद्ध भएको हो । भदौ १४ गते आएको बाढीका कारण कृष्णभिरमा सडकको तल्लो भाग कटान हुँदा करिब १०० मिटर सडक भासिएको थियो । सडकको आधार नै कमजोर भएर भासिएपछि पुरानै संरचनाबाट तत्काल यातायात सञ्चालन गर्न सम्भव नभएपछि सडकको माथिल्लो भागबाट नयाँ ट्रयाक खोल्ने काम अघि बढाइएको हो ।
अहिले कृष्णभिरमा भासिएको सडकभन्दा माथिल्लो भागमा नयाँ ट्रयाक निर्माणको काम तीव्र गतिमा भइरहेको छ । पहाड काटेर करिब २५० मिटर लामो नयाँ ट्रयाक तयार पार्ने काम सम्पन्न भइसकेको छ । अब उक्त ट्रयाकलाई सवारीसाधन सञ्चालनयोग्य बनाउन ग्राभेल हाल्ने र रोलिङ गर्ने काम बाँकी छ । नागढुङ्गा–मुग्लिङ सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार नयाँ ट्रयाकमा आइतबारदेखि ग्राभेल र रोलिङको काम सुरु गर्ने तयारी छ । काम सुरु भएको तीनदेखि चार दिनभित्र सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उनले बताइन् ।
‘ग्राभल गर्न काटेकोजस्तो सजिलो हुँदैन । रोलिङ गरेर मिलाउनुपर्छ । लेयर–लेयरमा गर्नुपर्छ । एउटै लेयरमा गर्न सकिँदैन,’ अधिकारीले भनिन्, ‘त्यसकारण तीन–चार दिन लाग्न सक्छ । यो महिनाको अन्त्यबाट यातायात सञ्चालन गर्ने लक्ष्य छ ।’ उनका अनुसार सडक निर्माणमा ग्राभेलको तह मिलाएर राख्ने, प्रत्येक तहलाई रोलिङ गरी मजबुत बनाउने र सवारीसाधनका लागि उपयुक्त सतह तयार पार्ने काम गर्नुपर्ने भएकाले केही समय लाग्नेछ । मौसमले साथ दिएमा भदौ मसान्तभित्रै राजमार्गमा यातायात सञ्चालन गर्न सकिने योजना सडक आयोजनाको छ ।
त्रिशूली नदीले सडकको बेस नै कटान गरेकाले पुरानो सडकलाई मर्मत गरेर मात्रै सञ्चालन गर्न नसकिने अवस्था आएको अधिकारीले बताइन् । नदीले सडकको तल्लो भाग बगाएपछि त्यसको असर माथिल्लो भागमा समेत परेको र सडक भासिएको उनको भनाइ छ । त्यसैले जोखिमयुक्त पुरानो भागलाई तत्काल प्रयोगमा ल्याउनुको सट्टा माथिल्लो क्षेत्रमा नयाँ ट्रयाक निर्माण गरिएको हो । कृष्णभिरमा यसअघि पनि पहिरो र सडक सुरक्षाको चुनौती रहँदै आएको थियो । सडकलाई सुरक्षित बनाउन विगतमा बायो इन्जिनियरिङ प्रविधिसमेत प्रयोग गरिएको थियो । कंक्रिट संरचना र बिरुवाको संयोजन गरेर पहिरो रोकथामको प्रयास गरिएको थियो । उक्त संरचना लामो समयसम्म प्रभावकारी रहेको सडक आयोजनाको भनाइ छ ।
‘कृष्णभिरमा पहिले बायो इन्जिनियरिङको प्रयोग गरेर कंक्रिट र विरुवालाई मिलाएर पहिरो रोकथाम गरिएको थियो । त्यो दीर्घकालीन रह्यो,’ अधिकारीले भनिन्, ‘अहिले हामीले नसोचेको बाढी आएर सडकको तलपट्टिको भाग काटिँदा माथि पनि भासियो । अहिले माथिपट्टिबाट सडक निर्माण गरेका छौँ । त्यति धेरै डिस्टर्ब नहोला भन्ने आशा राखौँ ।’ अधिकारीका अनुसार यसपटक आएको बाढीको प्रकृति र क्षति विगतका घटनाभन्दा फरक देखिएको छ । नदीमा आएको ठूलो बाढीले सडकको सतह मात्र क्षति नगरी सडकको आधार अर्थात् बेस नै काटेर लगेपछि नयाँ विकल्प खोज्नुपरेको हो । नदीको बहावले सडकको तलपट्टि रहेको जमिन कटान गर्दा माथिल्लो भागमा रहेको सडक संरचना समेत अस्थिर बनेको थियो ।
नयाँ ट्रयाक पहाड काटेर माथिल्लो भागमा बनाइएकाले तत्कालका लागि यातायात सञ्चालनमा सहज हुने अपेक्षा गरिएको छ । सडक निर्माण सम्पन्न भएपछि काठमाडौं र धादिङतर्फ जाने–आउने सवारीसाधनले वैकल्पिक लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्नेछ । पृथ्वी राजमार्ग अवरुद्ध हुँदा यसको प्रत्यक्ष असर सडकमा निर्भर सर्वसाधारण, व्यवसायी, यातायात व्यवसायी र दैनिक उपभोग्य वस्तुको आपूर्तिमा परेको छ । काठमाडौंसँग धादिङ, चितवन, तनहुँ, कास्की तथा पश्चिम नेपालका विभिन्न जिल्लालाई जोड्ने मुख्य मार्ग अवरुद्ध भएपछि हजारौँ यात्रु र मालवाहक सवारीसाधन प्रभावित भएका छन् ।
विशेषगरी अत्यावश्यक वस्तुको ढुवानी प्रभावित हुँदा त्यसको असर बजारसम्म पुगेको छ । कृष्णभिरमा सडक अवरुद्ध भएपछि काठमाडौंमा खाना पकाउने ग्यासको आपूर्तिमा समेत समस्या देखिन थालेको छ । नियमित रूपमा सञ्चालन हुने मालवाहक सवारीसाधन रोकिँदा वा वैकल्पिक बाटो प्रयोग गर्नुपर्दा ढुवानीमा समय र लागत दुवै बढेको छ । सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौं प्रवेश गर्ने वैकल्पिक मार्गमा समेत सवारीसाधनको चाप बढेको छ । पृथ्वी राजमार्गबाट काठमाडौं आउजाउ गर्ने सवारीसाधनको ठूलो हिस्सा वैकल्पिक मार्गतर्फ मोडिँदा हेटौँडा–काठमाडौं सडक खण्डमा यात्रु तथा मालवाहक सवारीसाधनको चाप बढेको हो । यसले यात्राको समय लम्ब्याउनुका साथै काठमाडौं प्रवेश र बाहिरिने यात्रुलाई थप कठिनाइ भएको छ ।
पृथ्वी राजमार्ग केवल काठमाडौं र धादिङ जोड्ने सडक मात्र होइन । यो मध्य नेपाल हुँदै पूर्व–पश्चिम आवतजावत गर्ने महत्वपूर्ण मार्गसमेत हो । काठमाडौंबाट चितवन, तनहुँ, कास्की हुँदै पश्चिम नेपालका विभिन्न जिल्लामा जाने र ती जिल्लाबाट राजधानी भित्रिने सवारीसाधनको ठूलो हिस्सा यही सडकमा निर्भर छ । त्यसैले कृष्णभिरमा भएको क्षतिले एउटा सडक खण्डलाई मात्र होइन, देशको समग्र यातायात तथा आपूर्ति प्रणालीलाई प्रभावित गरेको छ ।
बाढीपछि सडक अवरुद्ध हुँदा यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने अवस्था आएको छ । छोटो दूरीमा पुग्नुपर्ने यात्रुले समेत लामो र घुमाउरो बाटो प्रयोग गर्नुपर्दा समय र खर्च बढेको छ । मालवाहक सवारीसाधनका लागि भने यसको असर अझ बढी परेको छ । ढुवानीमा ढिलाइ हुँदा दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्रीसम्मको आपूर्ति प्रभावित भएको छ । सडक आयोजनाले भने कृष्णभिरमा नयाँ ट्रयाक निर्माण सम्पन्न भइसकेकाले अब मुख्य चुनौती त्यसलाई मजबुत र सवारीसाधन सञ्चालनका लागि उपयुक्त बनाउनु रहेको जनाएको छ । ग्राभेल हालेर विभिन्न तहमा रोलिङ गरेपछि सडकको सतह तयार पारिनेछ । त्यसपछि आवश्यक प्राविधिक परीक्षण र व्यवस्थापन पूरा गरेर यातायात सञ्चालन गर्ने तयारी छ ।
आयोजनाले भदौ मसान्तभित्रै सडक सञ्चालनमा ल्याउने लक्ष्य राखेको भए पनि त्यसका लागि मौसम महत्वपूर्ण हुने देखिएको छ । ग्राभेल तथा रोलिङको काम भइरहेका बेला पुनः ठूलो वर्षा वा बाढी आएमा काम प्रभावित हुन सक्छ । तर मौसमले साथ दिएमा तीनदेखि चार दिनमै बाँकी काम पूरा गरेर सडक सञ्चालनमा ल्याउन सकिने आयोजनाको विश्वास छ । कृष्णभिरमा नयाँ ट्रयाक सञ्चालनमा आएपछि तत्कालका लागि पृथ्वी राजमार्गको अवरोध हट्नेछ । यद्यपि बाढीले सडकको मूल संरचनामै गम्भीर क्षति पुर्याएकाले दीर्घकालीन रूपमा सडकलाई थप सुरक्षित बनाउने काम भने आवश्यक हुनेछ । नदीको कटान नियन्त्रण, सडकको तल्लो भागको संरक्षण र भविष्यमा आउन सक्ने ठूलो बाढीको जोखिमलाई ध्यानमा राखेर संरचना निर्माण गर्नुपर्ने चुनौती सडक आयोजनासामु छ ।
यसपटक त्रिशूलीमा आएको बाढीले नदी किनारमा बनेका पूर्वाधारको जोखिमसमेत उजागर गरेको छ । नदीको बहाव बढ्दा सडकको तल्लो भाग कटान भएमा त्यसको असर माथिसम्म पुग्ने भएकाले सडक निर्माण गर्दा नदी नियन्त्रण र सडक सुरक्षालाई सँगसँगै अघि बढाउनुपर्ने देखिएको छ । हालका लागि भने कृष्णभिरमा नयाँ ट्रयाकबाट सडक खुलाउने कामलाई प्राथमिकता दिइएको छ । सडक आयोजनाले भदौको अन्त्यसम्म यातायात सञ्चालनमा ल्याउने लक्ष्यसहित बाँकी निर्माण कार्य अघि बढाइरहेको छ । पृथ्वी राजमार्ग खुलेपछि काठमाडौंसँग धादिङ, चितवन, तनहुँ, कास्की र पश्चिम नेपालतर्फको नियमित यातायात तथा आपूर्ति प्रणाली क्रमशः सहज हुने अपेक्षा गरिएको छ । बाढीका कारण दुई सातादेखि अवरुद्ध रहेको यो ‘लाइफलाइन’ सडक खुल्नु यात्रुका लागि मात्र नभई बजारमा अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउनसमेत महत्वपूर्ण हुनेछ ।
प्रक्षेपण राष्ट्रयि दैनकिबाट साभार ।




































