नेपालमा सार्वजनिक भयो ओप्पो रेनो १६ सिरिज, मूल्य ८९ हजार ९९९ देखि

काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी ओप्पोले नेपालमा आफ्नो नयाँ रेनो १६ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले भव्य फेसन शो आयोजना गर्दै रेनो १६ र रेनो १६ एफ ५जी मोडल नेपाली बजारमा ल्याएको हो ।

प्रविधि, फेसन र आधुनिक जीवनशैलीलाई जोडेर आयोजना गरिएको सार्वजनिक कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२२ तथा पूर्व ब्यूटी विथ अ पर्पस विजेता प्रियंका रानी जोशी, ग्याजेटबाइट नेपालकी प्रमुख कार्यकारी अधिकृत प्रतिमा अधिकारी तथा महिला मोटो भ्लगर सुरक्षा केसीले रेनो १६ सिरिजका विभिन्न विशेषता र प्रयोग अनुभव प्रस्तुत गरेका थिए ।

कम्पनीका अनुसार रेनो १६ सिरिजमा डिजाइन, क्यामेरा, कृत्रिम बौद्धिकता (एआई) र ब्याट्री क्षमतालाई प्राथमिकता दिइएको छ । सिरिजमा थ्रीडी पप प्लानेट डिजाइन प्रयोग गरिएको छ । पप ह्वाइट भेरियन्टमा होलोभर्स थ्रीडी प्रविधि समावेश गरिएको कम्पनीको दाबी छ ।

रेनो १६ मा ६.३२ इन्चको कम्प्याक्ट डिस्प्ले रहेको छ भने रेनो १६ एफमा ६.५७ इन्चको डिस्प्ले दिइएको छ । दुवै मोडलमा ५० मेगापिक्सेल अल्ट्रा वाइड सेल्फी क्यामेरा रहेको छ, जसले १०० डिग्रीसम्मको वाइड एंगल दृश्य समेट्ने कम्पनीले जनाएको छ ।

पछाडिको क्यामेरा प्रणालीमा अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस) सहितको ट्रिपल क्यामेरा सेटअप राखिएको छ । यसमा करिब ३.५ गुणा अप्टिकल जुम क्षमतासहितको टेलिफोटो पोट्र्रेट क्यामेरा र अल्ट्रा वाइड क्यामेरा पनि समावेश छन् ।

फोटो तथा भिडियो खिच्ने अनुभवलाई थप सुविधाजनक बनाउन पप क्याम, एआई रिमिक्स कोलाज, पपआउट कोलाज २.०, ४के अटो स्ट्रेटन भिडियो र डुअल भ्यु भिडियो २.० जस्ता फिचर राखिएको कम्पनीले जनाएको छ ।

रेनो १६ सिरिज कलरओएस १६ मा सञ्चालन हुन्छ । यसमा एआई स्न्याप की, एआई माइन्ड स्पेस, एआई माइन्ड पाइलट र एआई मेनु ट्रान्सलेसनजस्ता एआईमा आधारित सुविधा उपलब्ध छन् ।

ब्याट्री क्षमताका हिसाबले रेनो १६ मा ६ हजार ७०० एमएएच र रेनो १६ एफमा ७ हजार एमएएच क्षमताको ब्याट्री राखिएको छ । दुवै फोनमा ८० वाट सुपरभोक फास्ट चार्जिङ सुविधा रहेको कम्पनीले जनाएको छ । रेनो १६ मा स्न्यापड्रागन ७ जेन ४ मोबाइल प्लेटफर्म प्रयोग गरिएको छ ।

फोनको कनेक्टिभिटी र सुरक्षालाई ध्यानमा राख्दै एआई लिंकबुस्ट ४.० तथा पानी र धुलोबाट सुरक्षाका लागि आईपी६८, आईपी६९ र आईपी६९के रेटिङ दिइएको छ । स्प्लास टच र ग्लोभ टच सुविधाले पानीका छिटा परेको वा पञ्जा लगाएको अवस्थामा पनि फोन प्रयोग गर्न सहज बनाउने कम्पनीको भनाइ छ ।

ओप्पो बबल पनि सार्वजनिक

रेनो १६ सिरिजसँगै कम्पनीले ‘ओप्पो बबल’ नामक चुम्बकीय सहायक उपकरण पनि सार्वजनिक गरेको छ । यसले पछाडिको क्यामेराका लागि पूर्वावलोकन स्क्रिन र रिमोट शटरका रूपमा काम गर्नुका साथै डिस्प्लेमा व्यक्तिगत सामग्री राख्न सकिने सुविधा दिने कम्पनीले जनाएको छ ।

ओप्पो बबलको अधिकतम खुद्रा मूल्य १५ हजार ९९९ रुपैयाँ तोकिएको छ । प्रवद्र्धन अवधिमा भने यसलाई ९ हजार ९९९ रुपैयाँमा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

मूल्य र लन्च अफर

नेपालमा रेनो १६ ५जीको मूल्य एक लाख नौ हजार ९९९ रुपैयाँ र रेनो १६ एफ ५जीको मूल्य ८९ हजार ९९९ रुपैयाँ तोकिएको छ । दुवै मोडल पप ह्वाइट र ट्वाइलाइट भायोलेट रंगमा ओप्पोका आधिकारिक रिटेल च्यानलमार्फत उपलब्ध हुनेछन् ।

कम्पनीले सार्वजनिकसँगै विभिन्न अफरसमेत ल्याएको छ । पहिलो ५०० जना ग्राहकले रेनो १६ वा रेनो १६ एफ खरिद गर्दा ओप्पो एयरबड्स ए३ प्रो निःशुल्क पाउने कम्पनीले जनाएको छ ।

त्यसैगरी ग्राहकका लागि कम्प्लिट फोन रिप्लेसमेन्ट सुविधा तथा फोन मर्मत गर्न नसकिने अवस्थामा दुई महिनाको अतिरिक्त बिक्रीपछिको सेवा वारेन्टी उपलब्ध गराइनेछ । ओप्पो बबलको मूल्यसमेत विशेष अफरअन्तर्गत १५ हजार ९९९ रुपैयाँबाट घटाएर ९ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।

कम्पनीका अनुसार यी अफर तोकिएका नियम, सर्त र उपलब्धताका आधारमा लागू हुनेछन् ।

ओप्पोले रेनो १६ सिरिजलाई नेपाली बजारमा ल्याउँदै डिजाइन, क्यामेरा, एआई सुविधा र उच्च क्षमताको ब्याट्रीलाई यसको प्रमुख विशेषताका रूपमा प्रस्तुत गरेको छ । सिरिजमार्फत दैनिक प्रयोग, फोटोग्राफी तथा भिडियो निर्माणमा नयाँ सुविधा उपलब्ध गराउने कम्पनीको अपेक्षा छ ।