विराटनगर । कोशी प्रदेशका युवा क्रिकेट प्रतिभाबीच भएको ‘ड्रिम टु प्ले’ यू–२३ टी–२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुर क्रिकेट टोलीले जितेको छ ।
विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा भएको प्रतियोगितामा उदयपुर चारै खेल जित्दै अपराजित रहेर च्याम्पियन बनेको हो ।
विराटनगरको मरिलेबोन ज्वाला क्रिकेट मैदानमा भएको प्रतियोगितामा उदयपुरले लिग चरणका सबै खेलमा जित निकाल्दै उत्कृष्ट प्रदर्शन गर्यो । ब्याटिङ र बलिङ दुवैमा सन्तुलित प्रदर्शन गरेको उदयपुरले चार खेलमा शतप्रतिशत जित निकाल्दै उपाधि हात पारेको हो ।
प्रतियोगितामा कोशी प्रदेशका उदयपुर, मोरङ, झापा, सुनसरी र इलाम गरी पाँच जिल्लाका यू–२३ टोली सहभागी थिए । राउन्ड रोबिन लिग प्रणालीमा खेलाइएको प्रतियोगितामा प्रत्येक टोलीले चार–चार खेल खेलेका थिए ।
उदयपुरविरुद्धको खेलबाहेक मोरङले तीन खेलमा जित निकाल्दै चार खेलबाट तीन जितका साथ दोस्रो स्थान हासिल गर्यो । दुई खेल जितेको झापा तेस्रो भयो । सुनसरीले चारमध्ये एक खेल जित्दा इलामले कुनै पनि खेलमा जित दर्ता गर्न सकेन । इलाम प्रतियोगिताको अन्तिम स्थानमा रह्यो ।
उदयपुरको उपाधि यात्रामा उसका ब्याटर धवन साहनी र आदित्य बिकको प्रदर्शन महत्वपूर्ण रह्यो । साहनीले प्रतियोगिताभर १४६ रन बनाउँदै सर्वाधिक रनकर्ताको सूचीमा पहिलो स्थान हासिल गरे । आदित्यले १०२ रन बनाएर सर्वाधिक रन बनाउने खेलाडीमध्ये दोस्रो स्थानमा रहे । बलिङतर्फ मोरङका अमर यादव प्रतियोगिताका सर्वाधिक विकेट लिने खेलाडी बने । उनले प्रतियोगितामा ११ विकेट लिए ।
उदयपुरका नवराज सिग्देलले ६ विकेट लिँदै दोस्रो स्थानमा रहे । कोशी प्रदेशका जिल्लामा रहेका युवा क्रिकेट प्रतिभा पहिचान गरी उनीहरूलाई व्यावसायिक क्रिकेटको अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विराटनगर किङ्सको ‘डेभलपमेन्ट स्क्वाड’मा समावेश गरिने आयोजकले जनाएको छ ।
डेभलपमेन्ट स्क्वाडमा छनोट हुने खेलाडीले राष्ट्रिय टोलीका मार्की खेलाडी सन्दीप लामिछानेसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग प्रशिक्षण गर्ने अवसर पाउनेछन् । प्रतियोगिताले जिल्लास्तरमा रहेका युवा खेलाडीलाई प्रतिस्पर्धात्मक अनुभवसँगै उच्चस्तरीय क्रिकेटतर्फ अघि बढ्ने अवसर प्रदान गर्ने आयोजकको अपेक्षा छ ।





































