महाधिवेशनमा छुटेका देउवा, प्रमुख अथिति बन्न गगनको पत्र

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा करिब २१ वर्षपछि कांग्रेसको महाधिवेशनमा सहभागी नहुने भएका छन् । गगन थापा नेतृत्वको कांग्रेसले असोज १८–२२ मा काठमाडौँमा गर्न लागेको महाधिवेशनमा देउवा नहुने निश्चित भएको हो ।

२०५९ सालमा कांग्रेस विभाजन गरी तत्कालीन कांग्रेस ‘प्रजातन्त्रिक’ बनाएका देउवा २०६२ सालमा भएको कांग्रेसको ११ औँ महाधिवेशन बाहिर थिए । २०५७ मा भएको कांग्रेसको १० औँ महाधिवेशनमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग सभापतिमा प्रतिस्पर्धा गरेका देउवा ११ औँ महाधिवेशनमा फरक पार्टीको नेतृत्व गरिरहेका थिए । त्यसको २१ वर्षपछि देउवा फेरि कांग्रेसको १५ औँ महाधिवेशनको प्रक्रियाबाहिर रहन पुगेका छन् ।

२०६४ मा कांग्रेस र तत्कालीन कांग्रेस प्रजातन्त्रिकबीच एकीकरण भएपछि देउवा कांग्रेसको १२ औँ महाधिवेशनमा सभापतिको प्रतिस्पर्धी थिए । उनी सुशील कोइरालासँग सभापतिमा पराजित भए। १३ औँ र १४ औँ महाधिवेशनमा कांग्रेस सभापति निर्वाचित भएका देउवा गत पुसबाट दलविहीन जस्तै छन् । गत वर्ष पुसमा तत्कालीन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनले १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति भंग गरिदिएपछि देउवा दलविहीन अवस्थामा छन् । विशेष महाधिवेशनलाई निर्वाचन आयोग र सर्वोच्च अदालतको संयुक्त इजलासले वैधता दिएपछि देउवा अहिले सर्वोच्च अदालको पूर्ण इजलासबाट अन्तिम फैसलाको प्रतीक्षामा छन् । साथै राजनीतिक प्रतिवादस्वरुप देउवाको निर्देशनमा समानान्तर रुपमा १५ औँ महाधिवेशन अगाडि बढाइएको छ ।

कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा देउवाले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरिसकेको छ । आगामी मंसिर २१–२३ मा काठमाडौँमा महाधिवेशन गर्ने देउवा समूहको कार्यतालिका छ । कांग्रेसको संस्थापन पक्षले महाधिवेशन उद्घाटनमा देउवाको उपस्थिति हुने विश्वास व्यक्त गरे पनि उनी सहभागी नहुने पक्का भइसकेको छ । देउवाको सचिवालयले कांग्रेसको महाधिवेशन मंसिर २१–२३ मा रहेको भन्दै आइतबार हुने महाधिवेशनमा सहभागी नहुने प्रस्ट पारेको छ । देउवासँगै कांग्रेसमा पारिवारिक विरासत बोकेका अधिकांश नेताहरू यो महाधिवेशनमा सहभागी हुने छैनन् । बीपी कोइरालापुत्र शशांक, पूर्णबहादुर खड्का, शेखर कोइराला, गणेशमान सिंहपुत्र प्रकाशमान र कृष्ण सिटौला पनि महाधिवेशनमा सहभागी हुने छैन । गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता मात्रै महाधिवेशनमा सहभागी हुने भएकी छन् ।

कांग्रेस स्थापनको ८० वर्षमा १४ नियमित र दुई विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्वमा ९ जना पुग्न सफल भएको देखिन्छ । कांग्रेसको प्रथम महाधिवेशनबाट टङ्कप्रसाद आचार्य सभापति बनेका थिए भने १४ औँ महाधिवेशनमा देउवा दोहोरिएका थिए । २०१४ सालमा भएको प्रथम विशेष महाधिवेशनबाट विश्वेश्वरप्रसाद (बीपी) कोइराला र दोस्रो विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आए ।

पहिलो महाधिवेशनः २००३ माघ १२ र १३ गते
भारतको कलकत्ता भवानीपुरमा नेपाल राष्ट्रिय कांग्रेसको प्रथम महाधिवेश भएको थियो। प्रथम अधिवेशनबाट तत्कालीन अवस्थामा जेल जीवन बिताइएका टङ्कप्रसाद आचार्य सभापतिमा र विश्वेश्वरप्रसाद कोइराला (बीपी) कार्यवाहक सभापति चयन भएका थिए ।

दोश्रो महाधिवेशनः २००४ माघ २० देखि २२ गतेसम्म
भारतको बनारसमा सम्पन्न महाधिवेशनबाट बीपी कोइराला सभापति निर्वाचित भए । उनी हिरासतमा भएकाले रिहाइ नभएसम्मका लागि डिल्लीरमण रेग्मीलाई कार्यवाहक सभापति बनाइएको थियो ।

तेश्रो महाधिवेशनः २००५ फागुन १८ गते
भारतको बिहार राज्यको दरभङ्गामा सम्पन्न महाधिवेशनबाट मातृकाप्रसाद कोइराला कार्यवाहक अध्यक्ष बने। त्यतिबेला पनि बीपी कोइराला हिरासतमै थिए।

चौथो महाधिवेशनः २००६ साल चैत १७ गते
नेपाली राष्ट्रिय कांंग्रेस र २००४ साल साउन १ मा स्थापना भएको नेपाल प्रजातान्त्रिक कांग्रेसबीच २००६ साल चैत २७ गते कलकत्तामा एकीकरण भएसँगै नेपाली कांग्रेसको स्थापना भयो । एकीकरणसँगै कलकत्ताको टाइगर हलमा पार्टीको चौथो महाधिवेशनले मातृकाप्रसाद कोइरालालाई सभापति चयन गरेको थियो ।

पाचौँ महाधिवेशनः २००९ जेठ १० देखि १३ गतेसम्म
कांग्रेसको पाँचौँ महाधिवेशन २००९ जेठ १० देखि १३ सम्म जनकपुरमा सम्पन्न भएको थियो। यो महाधिवेशनबाट बीपी कोइराला सभापति चयन भए । सरकार सञ्चालनका क्रममा पार्टी निर्देशन नमानेको भन्दै काठमाडौँको विशालनगरमा सम्पन्न २००९ साउन ८–२३ को पार्टी विशेष महासमिति बैठकले प्रधानमन्त्री मातृकाप्रसाद कोइराला, नारदमणि थुलुङ र महावीर शमशेर लगायतका नेतालाई कारबाही गरेपछि पार्टी फुटेको थियो ।

छैटौँ महाधिवेशनः २०१२ साल माघ
वीरगन्जमा सम्पन्न कांग्रेसको छैटौँ महाधिवेशनबाट सुवर्णशमशेर राणा पार्टी सभापतिमा निर्वाचित भए ।

२०१४ सालमा विशेष महाधिवेशन
कांग्रेस पहिलो विशेष महाधिवेशन २०१४ सालमा विराटनगरमा भयो । प्रथम विशेष महाधिवेशनले बीपी कोइरालालाई सभापति बनायो ।

सातौँ महाधिवेशनः २०१६ वैशाख २५ देखि ३१ गतेसम्म
काठमाडौँमा सम्पन्न सातौँ महाधिवेशनले बीपी कोइरालालाई पुनः सभापति बनायो। पञ्चायती शासनमा दलमाथि प्रतिबन्ध लाग्दा त्यसपछि २८ वर्षसम्म कांग्रेस महाधिवेशन हुन सकेन ।

आठौँ महाधिवेशनः २०४४ साल माघ ३ गते
झापा कलवलगुडीमा सम्पन्न महाधिवेशनबाट कार्यवाहक अध्यक्ष कृष्णप्रसाद भट्टराई सभापतिमा निर्वाचित भएका थिए ।

नवौँ महाधिवेशनः २०५३ वैशाख २६–२८ सम्म
२०५३ सालमा काठमाडौँमा सम्पन्न महाधिवेशनमार्फत गिरिजाप्रसाद कोइरालाले कांग्रेस सभापति निर्वाचित भए। चिरञ्जीवी वाग्लेलाई भारी मतले हराएर उनी सभापति भएका थिए ।

१० औँ महाधिवेशनः २०५७ माघ ९
२०५७ मा पोखरामा सम्पन्न १० औँ महाधिवेशनले गिरिजाप्रसाद कोइरालालाई सभापति चुनेको थियो । उनले शेरबहादुर देउवालाई पराजित गरेका थिए ।

११ औँ महाधिवेशनः २०६२ भदौ १४ देखि १७ सम्म
२०६२ मा ललितपुरमा सम्पन्न ११ औँ महाधिवेशनमा समेत कोइराला नै पार्टी सभापति निर्वाचित भए । कांग्रेस विभाजित अवस्थामा भएको उक्त महाधिवेशनमा उनले नरहरि आचार्यलाई पराजित गरेका थिए ।

१२ औँ महाधिवेशनः २०६७ असोज १ देखि ५ गतेसम्म
कांग्रेसको १२ औँ महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा २०६७, असोज १ देखि ५ गतेसम्म आयोजना भएको थियो । कांग्रेस एकीकरण भएपछि भएको महाधिवेशनमा शेरबहादुर देउवालाई पराजित गरेर सुशील कोइराला सभापति बने ।

१३ औँ महाधिवेशनः फागुन २० देखि २३ सम्म
कांग्रेसको १३ औँ महाधिवेशन २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको थियो । तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै शेरबहादुर देउवा कांग्रेस सभापतिमा निर्वाचित भए ।

१४ औँ महाधिवेशनः २०७८ मंसिर २४ देखि २७ सम्म
कांग्रेसको १४ औँ महाधिवेशन २०७८ मंसिर २४ देखि २७ सम्म काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न भएको थियो। तत्कालीन सभापति शेरबहादुर देउवा शेखर कोइरालालाई पराजित गरेर सभापतिमा दोहोरिएका थिए ।

विशेष महाधिवेशनः २०८२ पुस २७ गतेदेखि ३१ सम्म
कांग्रेसको दोस्रो विशेष महाधिवेशन २०८२ पुस २७ गतेदेखि ३१ मा सम्पन्न भएको थियो। एक पक्षीय रुपमा भएको विशेष महाधिवेशनले गगन थापालाई नेतृत्वमा सर्वसम्मत चयन गरेको थियो ।

देउवालाई गगनको निम्तोक

नेपाली कांग्रेसको १५औं महाधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागिताका लागि सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई निम्तो पठाएका छन् ।  शनिबार साँझ सभापति थापाको निमन्त्रणापत्र बोकेर सहमहामन्त्री योगेन्द्र चौधरी र कांग्रेस सुदूरपश्चिम प्रदेशका उपसभापति जनकराज चौधरी देउवा निवास चुनदेवी पुगेका हुन् । देउवाका स्वकीय सचिव भानु देउवासँग फोनमा कुराकानी गरेर दुवै जना चुनदेवी गएका थिए ।

निमन्त्रणा पत्र बोकेर चुनदेवी पुगेका दुवै नेताले देउवालाई भने भेटेनन् । शनिबार साँझ ६ बजेतिर देउवा निवास पुग्दा भानु देउवा पनि बाहिर निस्किसकेकाले भेट हुन नपाएको कांग्रेसका सहमहामन्त्री चौधरीले बताए । त्यसपछि उनीहरूले देउवा निवासको गेटमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै निमन्त्रणा पत्र बुझाएको उनले बताए । सभापति थापाले पठाएको निमन्त्रणमा पत्रमा महाधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा उपस्थितिका लागि आग्रह गरिएको चौधरीले जानकारी दिए । ‘नेपाली कांग्रेसको १५औं महाधिवेशनको उदघटनसत्रको प्रमुख आतिथ्य गरिदिन हुन निमन्त्रणा पत्र दिएका छौं,’ चौधरीले भने ।

महाधिवेशन पनि देउवाबाटै उद्घाटन गराउने योजना रहेको उनको भनाइ छ । तर, देउवा आउने वा नआउने टुंगो लागेको छैन । कांग्रेसको १५औं महाधिवेशन आइतबार काठमाडौंको खुलामञ्चमा उद्घाटन गरिँदै छ । देउवा पक्षले भने छुट्टै महाधिवेशनका कार्यक्रम अगाडि बढाएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।