तीन वर्षमै फेरि दोहोरियो विपद्, पाँचथरका बस्तीमा अझै त्रास

पाँचथर । तीन वर्षअघि बाढीपहिरोले तहसनहस बनाएको पाँचथरको याङवरक गाउँपालिका–१ मा फेरि उस्तै विपद् दोहोरिएपछि स्थानीयवासीको त्रास झनै बढेको छ ।

वि सं २०८० असार ३ गते आएको बाढीपहिरोबाट सडक, पुल, झोलुङ्गे पुल, घरगोठ तथा खेतीयोग्य जमिनमा ठूलो क्षति पुगेको थियो । त्यसको घाउ निको नहुँदै गत जेठमा आएको बाढीपहिरोले विगतको क्षतिभन्दा पनि भयावह अवस्था सिर्जना गरिदिएको छ ।

त्यतिबेला मुरुङ्गा, मेवा, लम्बाखोला लगायतका खोला तथा खोल्सीमा आएको बाढी र विभिन्न स्थानमा खसेको पहिरोले समरजुङ, मगरडाँडा, कोप्चे, खोलाघारी, चोक, चाम्लिङडाँडा र बिरुवा बस्ती प्रभावित भएका थिए । सडक र पुलदेखि घर तथा खेतबारीसम्म क्षति पुगेपछि स्थानीयवासीले लामो समयसम्म विपद्को असर बेहोरेका थिए ।

विगतको विपद् सम्झँदै स्थानीय इन्द्रबहादुर चाम्लिङ भन्छन्, “वि.सं. २०८० को बाढीपहिरोले ठूलो क्षति पुर्‍याएपछि हाम्रो जीवनकालमा फेरि यस्तो विपद् नआउला भन्ने धेरैलाई लागेको थियो । तर यसपालि त्योभन्दा ठूलो विपद् आयो ।”उस्तै प्रकृतिको विपद् छोटो समयमै दोहोरिएपछि स्थानीयवासीलाई वर्षायाम सुरु हुनासाथ फेरि घरबासको चिन्ता हुन थालेको छ ।

दुई मिनेटमै घरबास गुम्यो

चाम्लिङडाँडाका महमलाल खवासको परिवारले यस वर्ष बाढीको भयावह रूप प्रत्यक्ष भोग्यो । विगतमा पनि लम्बाखोलाको बाढी उनको घरको आँगनसम्म पुगेको थियो । त्यसपछि घरलाई थप सुरक्षित बनाउँदै परिवारले विपद् सामना गर्ने तयारी गरेको थियो । तर यसपटक आएको बाढीले घर नै बगाएर लग्यो ।

“पहिले पनि आँगनबाट बाढी बगेको थियो । तर घर नै बगाउला भन्ने सोचेका थिएनौँ,” खवासले भने, “हामी लगाएको कपडामै दुई मिनेटको अन्तरमा भागेर ज्यान जोगाउन सफल भयौँ । एक मिनेटमै घर बाढीले बगायो । मध्यरात भागेर बाँच्यौँ ।” घर पूर्णरूपमा बगेपछि खवास परिवार अहिले देउकुमार राईको बन्दकी घरमा बसिरहेको छ । तर घरबास गुमाएपछि पनि विपद्को त्रास भने हटेको छैन ।

कम्तीमा रु. १० लाख मूल्य बराबरको घरसहित जग्गाजमिन र घरायसी सामग्री गुमाएका खवास परिवार अहिले विदेशमा रहेका छोराको सहयोगमा गुजारा चलाइरहेको छ । बाढीपहिरोले उनका भाइ कविरमान खवासको घरसमेत बगाएको छ । त्यस्तै रविन राई, रामकुमार राई, जहरमान बेघालगायत १६ परिवारको अलैँची तथा धानखेती बगरमा परिणत भएको छ ।

अलैँचीको बारी गयो, आम्दानीको आधार टुट्यो

बाढीपहिरोले रामकुमार राईको घर भने जोगियो । तर उनको आम्दानीको मुख्य आधार बनेको अलैँचीबारी र खेत भने बचेको छैन । वि.सं २०८० को बाढीपहिरोमा पनि उनले वर्षमा करिब १० मन अलैँची उत्पादन हुने जमिन गुमाएका थिए । यसपटक त्यसको भन्दा ठूलो क्षेत्रफलमा लगाइएको अलैँचीबारी पहिरोले बगाएको छ । करिब १५ मन अलैँची उत्पादन हुने बारी र दुई खला खेतसमेत बाढीपहिरोले बगाएपछि उनको आम्दानीको बाटो नै बन्द भएको छ ।

“मेरो जति क्षति यो वडामा कसैको पनि भएन होला । विसं २०८० मै करिब १० मन अलैँची फल्ने जमिन बगाएको थियो,” राईले भने, “यसपटक करिब १५ मन उत्पादन हुने अलैँचीखेती र दुई खला खेत बाढीपहिरोले बगायो । अहिले सबै ढाँड बनेको छ । एक झ्याङ पनि अलैँची बाँकी रहेन ।” अलैँची टिप्ने समय नजिकिँदै गर्दा उत्पादन भएको बारी नै नरहेपछि राईको परिवारलाई अब कसरी गुजारा चलाउने भन्ने चिन्ता थपिएको छ ।

‘बर्खा लागेपछि भाग्नुपर्ने होला’

बाढीपहिरोले चाम्लिङडाँडाका रविन राईको घरसमेत जोखिममा परेको छ । घरभन्दा मुनिको गैरीखेत पहिरोले तानेको छ भने अगाडिको पँधेरे खेत बाढीले पुरेको छ । “हिउँदमा त ठिकै छ । बर्खा लागेपछि भाग्नैपर्ने होला,” राईले भने, “बरु ढुङ्ग्रोबाट खन्याएको पातलो पानी आउला, आकाशबाट त्योभन्दा ठूलो पानी पर्छ ।” उनको भनाइले बर्खा सुरु भएसँगै जोखिममा रहेका परिवारमा कस्तो मनोवैज्ञानिक त्रास छ भन्ने देखाउँछ । घर जोगिए पनि बर्खामा कहाँ सुरक्षित बस्ने भन्ने चिन्ता उनीहरूमा कायमै छ ।

राहत लिन पनि झन्झट

प्राकृतिक विपत्तिबाट घर पूर्णरूपमा क्षति भएका परिवारलाई सरकारले जिल्ला दैवी प्रकोप समितिमार्फत रु. चार लाखसम्म राहत दिने व्यवस्था गरेको छ । तर उक्त रकम तीन किस्तामा प्राप्त हुने र त्यसका लागि विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएपछि कतिपय पीडित सरकारी राहतको प्रक्रियाबाटै निराश भएका छन् ।

घर गुमाएका महमलाल खवास पनि अब सरकारी राहतको आशामा बस्न चाहँदैनन् । उनका अनुसार राहतका लागि प्रक्रिया पूरा गर्ने क्रममा नै ऋण लागेको छ । “घर निर्माण गर्न तीन किस्तामा रकम आउने रहेछ । पालिका गएँ, फिदिम गएँ । तर प्रक्रिया पूरा गर्दागर्दै साहुबाट काढेको नौ हजार रुपैयाँ सकियो,” खवासले भने, “अब म नखोज्ने, बरु आफैँ बनाएर बस्ने । खोज्दाखोज्दै ऋणमा डुबिने रहेछ । केही समय अर्कैको घरमा बसेर गुजारा चलाउँछु ।”

विदेशमा रहेका छोरा घर फर्किएपछि गाउँकै पाखाभित्तामा जग्गा खोजेर नयाँ घर बनाउने उनको योजना छ । त्यसैले उनी सरकारबाट थप राहत खोज्नेभन्दा आफ्नै प्रयासमा पुनःस्थापित हुने सोचमा छन् । “अब सबैको क्षति भएको छ । सरकारले कसलाई राहत दिएर सक्ला र ? हामीले खोज्न पनि छाड्यौँ,” खवासले भने, “हाम्रो ज्यान बाँचेकै छ । कमाएर केही गरौँला भन्ने सोच बनाएका छौँ ।”

पुरानो क्षतिको राहतसमेत नपाएको गुनासो

स्थानीय तहले क्षतिपूर्ति दिन नसक्ने र माथिल्ला निकायबाट पनि पर्याप्त चासो नदिइएको प्रभावित परिवारको गुनासो छ । रामकुमार राईले यसअघि नै क्षतिपूर्तिका लागि निवेदन दिए पनि राहत नपाएको बताए । “पहिले पनि क्षतिपूर्तिका लागि निवेदन पेस गरेका थियौँ । तर कुनै राहत आएको बुझिएन,” राईले भने, “यसपटक पनि क्षतिको विवरण मागिएको थियो । पहिलेकै क्षतिमा कुनै क्षतिपूर्ति नपाएपछि मैले त क्षतिको विवरण दिन पनि मन लागेन । बाँचियो भने भयो ।”

तीन वर्षको अन्तरालमा एउटै क्षेत्रमा बाढीपहिरो दोहोरिँदा याङवरक–१ का स्थानीयवासीका लागि विपद् केवल भौतिक क्षतिको विषय मात्र बनेको छैन । घर, खेतबारी र आम्दानीका स्रोत गुमाएका परिवार अब हरेक वर्षायामसँगै पुनः त्यही त्रास दोहोरिने हो कि भन्ने चिन्तामा छन् ।