काठमाडौं । चाडपर्वका कारण बजारमा किनमेल र व्यापारिक गतिविधि बढेसँगै बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ६० खर्ब रुपैयाँ नाघेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ६२ अर्ब ८४ करोड ९९ लाख रुपैयाँले बढेर ६० खर्ब १७ अर्ब ४७ करोड ४६ लाख रुपैयाँ पुगेको छ । यो असार मसान्तको तुलनामा १.१ प्रतिशतको वृद्धि हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकिङ क्षेत्रको कर्जा लगानी ३५ अर्ब ४८ करोड ९९ लाख रुपैयाँ अर्थात् ०.६ प्रतिशतले मात्रै बढेको थियो । यस वर्ष उपभोग्य वस्तुको माग र थोक तथा खुद्रा व्यापारमा कर्जाको विस्तार तुलनात्मक रूपमा राम्रो देखिएको छ । तर, उत्पादनशील क्षेत्र मानिने कृषिमा भने कर्जा लगानी घटेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार कुल कर्जामध्ये सबैभन्दा ठूलो हिस्सा उपभोग्य क्षेत्रमा प्रवाह भएको छ । भदौ मसान्तसम्म यस क्षेत्रमा १३ खर्ब ६० अर्ब ६० करोड २० लाख रुपैयाँ कर्जा पुगेको छ, जुन कुल कर्जाको २२.६१ प्रतिशत हो । असारको तुलनामा उपभोग्य कर्जा तीन अर्ब २४ करोड ६५ लाख रुपैयाँ अर्थात् ०.२ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १.१ प्रतिशतले बढेको थियो ।
उपभोग्य कर्जाअन्तर्गत सुनचाँदी धितोमा प्रवाह भएको कर्जामा उल्लेख्य वृद्धि देखिएको छ । भदौसम्म यस्तो कर्जा एक खर्ब ३२ अर्ब ३४ करोड ८७ लाख रुपैयाँ पुगेको छ । दुई महिनामा चार अर्ब ४२ करोड ६३ लाख रुपैयाँ अर्थात् ३.५ प्रतिशतले बढेको हो । क्रेडिट कार्डमार्फत प्रवाह भएको कर्जा पनि ६.६ प्रतिशतले बढेर आठ अर्ब ५८ करोड ८६ लाख रुपैयाँ पुगेको छ । व्यक्तिगत सवारीसाधन, शैक्षिक, आवासीय घर तथा अन्य व्यक्तिगत प्रयोजनका लागि प्रवाह भएको कर्जा १० खर्ब ६३ अर्ब ८४ करोड १३ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा मुद्दती रसिद धितो कर्जा भने घटेको छ । कर्जा लगानीको दोस्रो ठूलो हिस्सा थोक तथा खुद्रा व्यापार क्षेत्रमा छ । भदौसम्म यस क्षेत्रमा १० खर्ब ४५ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । चालु आर्थिक वर्षको दुई महिनामा व्यापार क्षेत्रमा २५ अर्ब २४ करोड रुपैयाँ अर्थात् २.५ प्रतिशतले कर्जा बढेको हो । यसअन्तर्गत अटोमोबाइल डिलर तथा फ्रेन्चाइज कर्जा १२ प्रतिशत र आयात व्यापार कर्जा ६.८ प्रतिशतले विस्तार भएको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला चाडपर्वमा किनमेल र आर्थिक गतिविधि बढ्दा बैंकमा कर्जाको माग बढ्ने बताउँछन् । दसैँतिहारमा उपभोग्य वस्तुको खपत बढ्ने भएकाले व्यवसायीले बजारमा सामान ल्याउन र व्यापार विस्तार गर्न कर्जा लिने गरेको उनको भनाइ छ । चाडपर्व लक्षित व्यापारका लागि व्यवसायीले अल्पकालीन प्रकृतिका कर्जा बढी लिने गरेको कोइरालाले बताए । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी पर्याप्त भए पनि लामो समयदेखि अपेक्षाअनुसार कर्जा प्रवाह हुन नसकेको उनले उल्लेख गरे । यद्यपि, चीनतर्फका नाकामा बाढीपहिरोका कारण आपूर्ति प्रभावित हुँदा व्यापारमा समस्या देखिएको उनको भनाइ छ । कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौड्याल भने बजारमा कर्जाको मागमा ठूलो सुधार आइनसकेको बताउँछन् । स्थिर सरकारका कारण नीतिगत स्थिरता कायम हुने र अर्थतन्त्रमा क्रमिक सुधार आउने अपेक्षा भए पनि चाडपर्वको उपभोगले मात्रै अर्थतन्त्रमा ठूलो परिवर्तन नल्याउने उनको धारणा छ । अर्थतन्त्रलाई वास्तविक रूपमा चलायमान बनाउन पूर्वाधारमा लगानी, नयाँ उद्योगको स्थापना र उद्यमशीलता विकास आवश्यक रहेको उनले बताए ।
समग्र कर्जा बढिरहेका बेला कृषि क्षेत्रमा भने दुई महिनामै नौ अर्ब २१ करोड २६ लाख रुपैयाँ अर्थात् २.२ प्रतिशतले गिरावट आएको छ । भदौसम्म कृषि क्षेत्रमा चार खर्ब एक अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यसअन्तर्गत बालीनाली तथा कृषि सेवामा प्रवाह भएको कर्जा तीन अर्ब १३ करोड ४२ लाख रुपैयाँ अर्थात् ३.९ प्रतिशतले घटेको छ । यसको विपरीत उत्पादन क्षेत्रमा कर्जा लगानी बढेको छ । दुई महिनामा १८ अर्ब सात करोड ६६ लाख रुपैयाँले वृद्धि भई यस क्षेत्रमा कुल नौ खर्ब ४८ अर्ब ४१ करोड रुपैयाँ कर्जा पुगेको छ । खाद्यान्न उत्पादन क्षेत्रमा मात्रै आठ अर्ब ९७ करोड १० लाख रुपैयाँ अर्थात् ४.५ प्रतिशतले कर्जा विस्तार भएको छ । विद्युत् क्षेत्रमा कर्जा नौ अर्ब ४२ करोड २५ लाख रुपैयाँले बढेर पाँच खर्ब १४ अर्ब १० करोड रुपैयाँ पुगेको छ । निर्माण क्षेत्रमा पनि १० अर्ब २१ करोड ३० लाख रुपैयाँ अर्थात् ३.७ प्रतिशतले वृद्धि भई कर्जा दुई खर्ब ८४ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । यसमध्ये आवासीय निर्माण कर्जा ६.१ प्रतिशत र राजमार्ग तथा पुलजस्ता ठूला पूर्वाधार निर्माण कर्जा २.६ प्रतिशतले बढेको छ ।
सेवा क्षेत्रमा दुई महिनामा १३ अर्ब ६४ करोड आठ लाख रुपैयाँ अर्थात् २.७ प्रतिशतले कर्जा विस्तार भएको छ । भदौसम्म यस क्षेत्रमा पाँच खर्ब २३ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । होटेल व्यवसायमा मात्रै दुई खर्ब ३४ अर्ब पाँच करोड रुपैयाँ कर्जा पुगेको राष्ट्र बैंकको तथ्यांक छ । यता, लघुवित्त क्षेत्रमा प्रवाह भएको कर्जा भने २७ अर्ब ७३ करोड तीन लाख रुपैयाँ अर्थात् १३.२ प्रतिशतले घटेर एक खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँमा झरेको छ । घरजग्गा क्षेत्रमा भने दुई अर्ब ७९ करोड १९ लाख रुपैयाँ अर्थात् १.५ प्रतिशतले कर्जा बढेर एक खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । चाडपर्वले उपभोग र व्यापारमा कर्जाको माग बढाए पनि कृषि तथा लघुवित्त क्षेत्रमा देखिएको गिरावटले कर्जा विस्तार सबै क्षेत्रमा समान रूपमा हुन नसकेको देखाएको छ । अर्थतन्त्रमा दिगो सुधारका लागि उपभोगमा आधारित कर्जासँगै उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने चुनौती कायमै छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




































