काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका तथा पहिचान खुल्न नसकेका व्यक्तिको डीएनए परीक्षण र नमुना मिलानको काम अन्तिम चरणमा पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का अनुसार डीएनए परीक्षण तथा नमुना मिलानको करिब ९० प्रतिशत काम पूरा भएको छ । बाँकी प्रक्रिया एक महिनाभित्र सम्पन्न गरी पहिचान खुलेका शव सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने लक्ष्य प्राधिकरणले लिएको छ । प्राधिकरणका सूचना अधिकारी रामबहादुर केसीका अनुसार नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले डीएनए परीक्षण गरिरहेका छन् । दुवै प्रयोगशालाले परीक्षणको काम अन्तिम चरणमा पुर्याएका छन् । परीक्षण प्रतिवेदन प्राप्त भएपछि एकीकृत प्रतिवेदन तयार गरी शव पहिचान र हस्तान्तरणको प्रक्रिया अघि बढाइने उनले बताए ।
बाढीमा मृत्यु भएका तथा मानव अंगसमेत गरी कुल एक हजार ४५७ शव तथा अवशेषमध्ये एक हजार ३४५ वटाको पहिचान हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ । पहिचानका लागि प्रभावित परिवारका करिब दुई हजार सदस्यको डीएनए नमुना संकलन गरिएको छ । परिवारका सदस्यबाट संकलित नमुना र शव तथा मानव अंगबाट प्राप्त नमुना भिडाएर पहिचान गर्ने काम भइरहेको केसीले जानकारी दिए । दुवै प्रयोगशालाबाट प्राप्त हुने परीक्षण प्रतिवेदनका आधारमा एकीकृत प्रतिवेदन तयार गर्न केन्द्रीय विधि विज्ञान प्रयोगशालाका प्रमुख योगबहादुर पालको अध्यक्षतामा समिति गठन गरिएको छ । प्राधिकरणले दुवै प्रयोगशालालाई परीक्षण प्रतिवेदन उपलब्ध गराउन पत्राचार गरिसकेको छ ।
डीएनए परीक्षणको प्रतिवेदन प्राप्त भएपछि डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन (डीभीआई) टोलीले शवको सनाखत तथा पोस्टमार्टमसम्बन्धी प्रक्रिया पूरा गर्नेछ । त्यसपछि पहिचान खुलेका शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिनेछ । डीभीआई टोलीको संयोजन पाटन अस्पतालका फरेन्सिक प्याथोलोजिस्टले गरिरहेका छन् । टोलीको सचिवालय प्राधिकरणको कार्यालयमा स्थापना गरिएको छ । यद्यपि, सबै शवको पहिचान खुल्ने निश्चित भने छैन । कतिपय मृतकका परिवारबाट डीएनए नमुना संकलन हुन नसकेको र केही शवका नमुना परिवारका सदस्यसँग नमिल्न सक्ने भएकाले पहिचानमा कठिनाइ हुन सक्ने केसीले बताए । विदेशी विशेषज्ञको प्राविधिक सहयोगमा नमुना परीक्षण र डीएनए प्रोफाइलिङको काम भइरहेको छ ।
यसअघि परीक्षणका लागि आवश्यक पर्ने किट अभाव हुने चिन्ता रहे पनि अहिले त्यो समस्या समाधान भएको प्राधिकरणले जनाएको छ । ब्राजिल, बेलायत, भारत, चीन र जापानलगायतका देश तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) जस्ता संस्थाबाट परीक्षण सामग्री प्राप्त भएको छ । डीएनए परीक्षण तथा पहिचानसम्बन्धी काममा विदेशी विज्ञसहित करिब ४२ जना जनशक्ति परिचालन गरिएको छ । प्राधिकरणका अनुसार हालसम्म एक हजार २३० शव जमिनमुनि व्यवस्थापन गरिएको छ । ती शवबाट एक हजार २८६ डीएनए नमुना संकलन गरिएको छ । शवबाट प्राप्त नमुनाको प्रोफाइल तयार गरी परिवारका सदस्यको डीएनएसँग तुलना गरिनेछ । दुवै नमुना मिलेपछि मात्रै सम्बन्धित व्यक्तिको पहिचान यकिन गरिनेछ । चितवन, काठमाडौंलगायत विभिन्न स्थानमा थप अनुसन्धान तथा पहिचानका लागि शव सुरक्षित रूपमा राखिएको छ ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका सूचना अधिकारी मुकुल प्रधानका अनुसार प्रयोगशालामा डीएनए प्रोफाइलिङको काम भइरहेको छ । उनका अनुसार प्रयोगशालामा हालसम्म एक हजार ८२५ नमुना संकलन भएका छन् । तीमध्ये ८५७ शवका नमुना र ९६६ आफन्तका नमुना रहेको उनले बताए । प्रयोगशालाले एक हजार ७९४ नमुनाको प्रोफाइल तयार गरिसकेको छ भने ३१ नमुनाको काम बाँकी छ । यसैबीच, बाढीमा घाइते भएका ३३९ जनाको १९ वटा अस्पतालमा उपचार गरिएको प्राधिकरणले जनाएको छ । उपचार गरिएकामध्ये २६९ जना डिस्चार्ज भएका छन् । उपचारका क्रममा काठमाडौंका अस्पतालमा दुई जनाको मृत्यु भएको थियो । विभिन्न सुरक्षा निकायले आठ हजार ६१५ जनालाई उपचार सेवा तथा प्राथमिक स्वास्थ्य सहायता उपलब्ध गराएका छन् । बाढीका कारण सातवटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ । प्रभावित क्षेत्रमा उद्धार, स्वास्थ्य सहायता र राहत वितरणको काम जारी रहेको प्राधिकरणले जनाएको छ । डीएनए परीक्षणबाट आफन्तको पहिचान खुल्ने प्रतीक्षामा रहेका परिवारलाई परीक्षण प्रक्रिया पूरा भएपछि मात्रै शव हस्तान्तरण गरिनेछ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































