पोखरा । सडक किनारमा लत्रिएका बिजुलीका तार, एकै पोलमा गुजुल्टिएका टेलिफोन तथा इन्टरनेटका तार र जीर्ण विद्युत् पोलका कारण अस्तव्यस्त देखिने पोखराका मुख्य सडकको स्वरूप फेरिन थालेको छ ।
विद्युत् तार भूमिगत गर्ने काम अघि बढेसँगै सडक क्षेत्र खुला देखिन थालेको छ भने सहरको सौन्दर्यमा समेत सुधार आएको छ ।
केही समयअघिसम्म पोखराका मुख्य राजमार्ग र आसपासका बस्तीमा अव्यवस्थित तार र जीर्ण पोलका कारण दुर्घटनाको जोखिम बढेको थियो । अहिले नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरिरहेको तार भूमिगत गर्ने योजनाले त्यस्ता समस्या कम गर्न सहयोग पुर्याएको छ । बिजुलीका तारसँगै टेलिफोन, केबल र इन्टरनेटका तारसमेत व्यवस्थित गर्न थालिएपछि सहरी दृश्यमा परिवर्तन देखिन थालेको हो ।
पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखरामा २२३ किलोमिटर क्षेत्रमा विद्युत् तार भूमिगत गर्ने काम भइरहेको छ । आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार हालसम्म १६५.७ किलोमिटर तार बिछ्याइसकिएको छ भने ५५.२ किलोमिटर क्षेत्रमा भूमिगत प्रणालीबाट विद्युत् प्रवाहसमेत सुरु भइसकेको छ ।
उनका अनुसार पोखरामा आयोजनाको भौतिक प्रगति ८२ प्रतिशत पुगेको छ । आगामी वैशाखभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनामार्फत करिब छ हजार घरमा भूमिगत प्रणालीबाट विद्युत् सेवा पुर्याउने योजना रहेको उनले बताए ।
पोखरा महानगरपालिका–१४ चाउथेदेखि कुँडहर, अमरसिंहचोक, बुद्धचोक हुँदै सेती पुलसम्म पृथ्वी राजमार्ग आसपासका ४०० भन्दा बढी घरमा भूमिगत प्रणालीबाट विद्युत् सेवा पुगिसकेको छ । सेती पुलदेखि पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक र जिरो किलोमिटर हुँदै लेकसाइड जोड्ने मुख्य सडकमा पनि तार बिछ्याउने काम सम्पन्न भएको सुवेदीले जानकारी दिए ।
लेकसाइडका भित्री सडकमा समेत तार बिछ्याइसकिएको छ । अब केही स्थानमा विद्युत् प्रवाह गर्न बाँकी रहेको उनले बताए । सभागृहचोकदेखि न्युरोड हुँदै चिप्लेढुङ्गा तथा सिर्जनाचोकदेखि नागढुङ्गा हुँदै तालबाराही मन्दिरतर्फ जाने सडकका केही खण्डमा भने तार बिछ्याउने काम भइरहेको छ ।
“सेती पुल निर्माणाधीन अवस्थामा रहेकाले पृथ्वीचोकतर्फ बिछ्याइएको तारमा तत्काल विद्युत् प्रवाह गराउन सकिएको छैन”, सुवेदीले भने, “पुलको काम अन्तिम चरणमा रहेकाले छिट्टै बाँकी ठाउँमा पनि भूमिगत प्रणालीबाट विद्युत् सेवा पुग्छ ।”
आयोजनाले मुख्य राजमार्गमा मात्र नभई सहायक सडकमा समेत तार भूमिगत गरिरहेको छ । विद्युत् तारसँगै टेलिफोन, केबल र इन्टरनेट सेवा प्रदायकका लागि अप्टिकल फाइबर बिछ्याउने काम पनि भइरहेको छ । यसले सडक माथि अव्यवस्थित रूपमा टाँगिएका विभिन्न सेवा प्रदायकका तार हटाउन सहयोग पुगेको आयोजनाले जनाएको छ ।
सुवेदीका अनुसार पहिलो चरणमा मुख्य सहरी क्षेत्र र पर्यटकको बढी आवतजावत हुने स्थानलाई प्राथमिकतामा राखेर काम गरिएको हो । “विद्युत्सँगै केबल र दूरसञ्चार सेवा प्रदायक संस्थाका तार पनि एकैसाथ भूमिगत गर्ने काम भइरहेको छ । पहिले रहेका ओभरहेड प्रणालीका सबै तार हटाइएको छ”, उनले भने ।
पोखरामा तार भूमिगत गर्ने र वितरण प्रणाली सुदृढीकरणका लागि एक अर्ब ७० करोड रुपैयाँ खर्च हुने आयोजना कार्यालयले जनाएको छ । सडकमा धेरै खन्नु नपर्ने गरी ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिको प्रयोग गरेर तार जमिनमुनि बिछ्याइएको हो ।
दुई वर्षमा काम सम्पन्न गर्ने लक्ष्यसहित सन् २०२२ जनवरीमा भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले निर्माणको ठेक्का पाएको थियो । तर, इन्जिनियरिङ डिजाइन र उपकरण खरिदमा समय लाग्दा पोखरामा तार बिछ्याउने काम सुरु हुन १५ महिना ढिलाइ भएको थियो । त्यसपछि निर्माण कम्पनीको ढिलासुस्तीका कारण पनि आयोजनाको प्रगति प्रभावित भएको सुवेदीले बताए ।
अव्यवस्थित विद्युत् पोल र तार हटाउँदा सहरको सौन्दर्यमा सुधार आउनुका साथै दुर्घटनाको जोखिम पनि कम हुने जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख सुजितकुमार देवकोटाले बताए ।
उनका अनुसार सडक किनारका पोलमा सवारीसाधन ठोक्किने तथा अव्यवस्थित तारबाट करेन्ट लाग्ने जस्ता घटनाले जनधनको क्षति हुने गरेको छ । “अव्यवस्थित तार र पोल हटाउँदा विद्युतीय दुर्घटनामात्र नभएर सवारी दुर्घटनाको जोखिम पनि घट्छ”, उनले भने, “पोखरा सहरभरि नै विद्युतीय तार भूमिगत गर्न सकियो भने धेरै राम्रो हुने थियो ।”
नेपाल विद्युत् प्राधिकरणको पोखरा वितरण केन्द्रका अनुसार उपत्यकाभरिका पुराना पोल र तार विस्थापन गर्न ठूलो लगानी आवश्यक पर्छ । चार दशकअघिका विद्युत् लाइनसमेत परिवर्तन गरेर नयाँ प्रणाली जडान गर्नुपर्ने अवस्था रहेको केन्द्रले जनाएको छ ।
प्राधिकरणले काठमाडौँ, पोखरा र भरतपुरजस्ता ठूला सहरमा विद्युत् तार भूमिगत गर्ने योजना अघि बढाएको छ । पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भरतपुरमा १५६.३३ किलोमिटर क्षेत्रमा तार भूमिगत गरिएको छ । त्यहाँको काम ९५ प्रतिशत सम्पन्न भएको सुवेदीले बताए । पोखरा र भरतपुर दुवै सहरको आयोजनाको समग्र भौतिक प्रगति ८८ प्रतिशत पुगेको छ ।
भूमिगत विद्युत् प्रणालीलाई बढी क्षमतायुक्त र भरपर्दो मानिन्छ । विद्युत्को बढ्दो माग र वितरण प्रणालीमा पर्ने चाप व्यवस्थापन गर्न यस्तो प्रणाली उपयोगी हुने सुवेदीको भनाइ छ । यद्यपि, यसको लागत बढी हुने भएकाले पोखरा उपत्यकाभरि तार भूमिगत गर्न पाँच अर्ब रुपैयाँभन्दा बढी बजेट आवश्यक पर्ने उनले बताए ।
“यो महँगो परियोजना हो । एकैसाथ ठूलो लगानी गर्न सरकारले पनि सक्दैन । प्रभाव र उपयोगिता हेरेर पोखराका अरू ठाउँमा पनि यो काम विस्तार हुन्छ”, सुवेदीले भने ।
एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालन भइरहेको यस आयोजनाले पोखरा र भरतपुरको विद्युत् वितरण प्रणाली सुधार गर्नुका साथै अव्यवस्थित तार व्यवस्थापन र सहरी सौन्दर्य अभिवृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।



































