कांग्रेसको देउवा समूहलाई नेतृत्व छान्न सकस

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार टुंगो लगाउन शेरबहादुर देउवा समूहलाई सकस परेको छ ।

सभापति देउवा विधानअनुसार पुनः उम्मेदवार बन्न नपाउने भएपछि उनको उत्तराधिकारीका रूपमा कसलाई अघि सार्ने भन्ने विषयमा समूहभित्र छलफल र चासो बढेको छ । तर, महाधिवेशनको मिति नजिकिँदै गर्दा पनि नेतृत्वका विषयमा सहमति जुट्न सकेको छैन । देउवा समूहले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने मिति तय गरेको छ । महाधिवेशनको तयारी अघि बढिरहँदा सभापतिको उम्मेदवारसँगै महाधिवेशन आयोजना गर्ने स्थलसमेत टुंगो लाग्न सकेको छैन । समूहभित्र सहमतिमै नेतृत्व चयन गर्ने प्रयास भए पनि कसलाई अघि सार्ने भन्ने विषयमा औपचारिक निर्णय भइसकेको छैन ।

देउवा समूहमा कांग्रेसका संस्थापक नेताहरू बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिको पारिवारिक विरासत बोकेका शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि छन् । उनीहरूमध्ये कसलाई नेतृत्वका लागि अघि सार्ने भन्ने विषयमा विभिन्न कोणबाट चर्चा भइरहेको छ । देउवाले समर्थन गर्ने व्यक्तिलाई उम्मेदवारका रूपमा अघि बढाउने विषयले पनि समूहभित्र महत्त्व पाएको छ । यसैबीच, नेता एनपी साउदको नाम पनि भावी सभापतिको उम्मेदवारका रूपमा चर्चामा आएको छ । चुनदेवीमा बुधबार भेटिएका देउवा समूहका केही नेता तथा कार्यकर्ताले सहमतिमै सभापतिको उम्मेदवार चयन गर्न सके त्यसले सकारात्मक सन्देश दिने बताएका छन् । एक नेताका अनुसार समूहभित्र साउदको नामबारे चर्चा हुन थालेको छ । यद्यपि, उनको उम्मेदवारीबारे औपचारिक निर्णय भएको छैन ।

नेता विमलेन्द्र निधिले सभापतिको उम्मेदवारबारे आफूहरूबीच छलफल नभएको बताए । उनले बाह्रखरीसँग कुरा गर्दै नेतृत्वको विषयमा छलफल हुन बाँकी रहेको जानकारी दिए । अर्का नेता मोहनबहादुर बस्नेतले पनि अहिले नै सभापतिको उम्मेदवारबारे निष्कर्षमा पुग्ने बेला नभएको बताए । उनका अनुसार सकेसम्म सर्वसम्मत रूपमा उम्मेदवार चयन गर्ने प्रयास हुनेछ । सहमति हुन नसके निर्वाचनमार्फत नेतृत्वको टुंगो लगाइनेछ । उता, महाधिवेशन आयोजना स्थल छनोटमा पनि अन्योल कायम छ । आयोजक पक्षले काठमाडौंको खुलामञ्चलाई प्राथमिकतामा राखेको छ । त्यहाँ कार्यक्रम गर्न अनुमति नपाए भक्तपुरको सल्लाघारी चौरलाई वैकल्पिक स्थलका रूपमा प्रयोग गर्ने तयारी गरिएको छ ।

निर्वाचन समितिका सदस्यसचिव अमृत कार्कीका अनुसार महाधिवेशनका लागि काठमाडौंका विभिन्न सम्भावित स्थानबारे छलफल भइरहेको छ । तर, अहिलेसम्म कुनै स्थान निश्चित भएको छैन । भृकुटीमण्डपमा माइक प्रयोग गरेर कार्यक्रम गर्न नदिने निर्णय भएको भन्ने जानकारी आएको उनले बताए । त्यस्तै, हालैको महाधिवेशनका कारण खुलामञ्चको दुबो बिग्रिएको भन्दै त्यहाँ कार्यक्रम गर्न अनुमति नपाइने हो कि भन्ने आशंका पनि रहेको उनको भनाइ छ । कार्कीले खुलामञ्चमा कार्यक्रम गर्न अनुमति पाए त्यहीँ महाधिवेशन आयोजना गरिने र अनुमति नपाए सल्लाघारी चौरलाई विकल्प बनाइने बताए । सिफल चौर भने सहभागीको संख्याका हिसाबले सानो हुने उनको भनाइ छ । कांग्रेसको १५औँ महाधिवेशनमा सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने आकलन गरिएको छ । ठूलो संख्यामा प्रतिनिधि सहभागी हुने भएकाले नेतृत्व चयनसँगै उपयुक्त स्थल व्यवस्थापन पनि आयोजकका लागि चुनौती बनेको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।