आज काग तिहार पर्व मनाइँदै

काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज काग तिहार पर्व मनाइँदैछ । कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने यस पर्वमा बिहानै कागलाई यमराजको दूतका रूपमा पूजा गरी मीठा परिकार तथा खानेकुरा दिएर सत्कार गर्ने धार्मिक परम्परा छ।

सूर्योदयकालमा त्रयोदशी तिथि परेका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय मान्यताअनुसार यस वर्ष शनिबार काग तिहार मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए।

धार्मिक मान्यताअनुसार यमराजले पृथ्वीलोकका खबर कागमार्फत प्राप्त गर्ने भएकाले कागलाई यमदूतका रूपमा लिने गरिएको हो। यमराजसमक्ष शुभ समाचार पुगोस् भन्ने कामनासहित कागलाई पूजा गरी मनपर्ने खानेकुरा अर्पण गर्ने चलन रहेको छ।

लोकपरम्परामा काग घरआँगनमा आएर कराएमा कुनै खबर लिएर आएको विश्वास गरिन्छ। काग कराउँदा ‘शुभ बोल, शुभ बोल’ भन्ने प्रचलन पनि नेपाली समाजमा अझै कायम छ। यसरी काग तिहारले धार्मिक आस्था र लोकविश्वासलाई जोड्दै आएको छ।

काग तिहारका अवसरमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा आराधना गरिन्छ। त्यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको पूजा गर्ने परम्परा छ।

तिहारलाई यमराजको आराधना र मृत्युसम्बन्धी धार्मिक विश्वाससँग पनि जोडिएको छ। दुष्कर्म गर्नेलाई यमराजले दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराजका रूपमा रक्षा गर्ने मान्यताअनुसार यमपञ्चकका पाँच दिन विभिन्न धार्मिक विधि पूरा गरिन्छ। यमराजको यातनाबाट मुक्ति मिल्ने विश्वासका साथ परिवारका सदस्यका नाममा यमदीपदान गर्ने क्रम शुक्रबार साँझदेखि नै सुरु भएको छ। वैदिक सनातन शास्त्रीय विधिअनुसार यमदीप दक्षिण दिशातर्फ फर्काएर दान गर्ने चलन छ।

यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक शुक्रबार बेलुकीदेखि नै सुरु भएको हो। सायंकालमा कात्तिक कृष्ण त्रयोदशी परेका दिन यमपञ्चक सुरु हुने धार्मिक मान्यताअनुसार शुक्रबार धनतेरस पर्व पनि मनाइएको छ।

धनतेरसका दिन सुनचाँदीका गरगहना तथा तामालगायत धातुका भाँडाकुँडा किनमेल गर्ने चलन छ। यस दिन नयाँ गरगहना तथा भाँडाकुँडा घरमा भित्र्याउँदा लक्ष्मी घरमै स्थिर भएर बस्ने धार्मिक विश्वास रहेको छ।