काठमाडौं । संसारको सबैभन्दा बुढो जंगली चराले सबै कठिनाइ पार गर्दै ७४ वर्षको उमेरमा एउटा अण्डा पारेको छ । विस्डम नामक उक्त लेन अल्बाट्रस चराले यही हप्ता अमेरिकाको हवाई नजिकै रहेको प्रशान्त महासागरस्थित मिडवे एटोल राष्ट्रिय निकुञ्जमा अण्डा पारेको हो ।
यो प्रजातिको चरा आमरुपमा १२ देखि ४० वर्षको उमेरसम्म बाँच्दछन् । त्यसैले औसत आयुभन्दा करीब दोब्बर पाको उमेरमा यो चराले अण्डा पार्नुलाई निकै अनौठो मानिएको छ ।
यो चरामा पहिलोपटक सन् १९५६ मा ट्याग लगाइएको थियो । त्यसबेला यो करीब ५ वर्षको थियो । धेरै चराप्रेमीहरु बीच यसको विशेष Z333 ट्यागको निकै लोकप्रिय छ ।
यो चराले यसअघि अन्तिम पटक सन् २०२१ मा अण्डा पारेको थियो । यसले आफ्नो जीवनकालमा ३० भन्दा धेरै बच्चा कोरलेको छ ।
अमेरिकी मत्स्य तथा वन्यजन्तुसेवा विभागले विस्डमलाई आफ्नो अर्को एक नयाँ साथीसँगै आफूले पारेको अण्डाको स्याहार गरिरहेको बेलाको तस्वीर खिचेको छ । उसले त्यस क्षणको भिडियो नै सार्वजनिक गरेको छ ।
उक्त पोस्टमा विस्डम विश्वको सबैभन्दा पाको उमेरको जंगली चरा भएको भन्दै ऊ एक नयाँ साथीसँगै फर्किएर आएको र उसले अहिले एउटा नयाँ अण्डा पारेको बताइएको छ ।




































