चाडपर्व र जाडोयाम सुरु भएसँगै अण्डाको बजारमा माग बढेपछि होलसेल मूल्य वृद्धि

चितवन । चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको छ । चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा माग बढेपछि नेपाल लेयर्स कुखुरापालक सघंले अण्डाको समर्थन मूल्य बढाएको हो ।

यसअघि ६ कात्तिकमा काठमाडौंमा बसेको बैठकले तय गरेको मूल्यलाई छ दिनपछि नै परिमार्जन गर्दै सघंले बिहीबार पोखरामा बसेको बैठकबाट अण्डाको नयाँ समर्थन मूल्य तोकेको सघंका अध्यक्ष विनोद पोखरेलले बताए । नयाँ समर्थन मूल्यअनुसार एक्सएल, ठूलो र मिडियम अन्डाको मूल्य प्रतिपेटी (कार्टुन) २ सय बढेको छ भने सानो अण्डाको मूल्य प्रतिपेटी १ सय वृद्धि भएको छ ।

अध्यक्ष पोखरेलले ६ कात्तिकमा ३ हजार ७०० रहेको १४.५ देखि १४.८ किलोको एक्सएल अण्डाको समर्थन मूल्य अब ३ हजार ९०० पुगेको छ । १३.५ देखि १३.८ किलोको ठूलो अण्डाको समर्थन मूल्य ३ हजार ६०० बाट बढेर ३ हजार ८०० पुगेको छ । १२.५ देखि १२.८ किलोको मिडियम अण्डाको समर्थन मूल्य ३ हजार ५०० बाट बढेर ३ हजार ७०० पुगेको अध्यक्ष पोखरेलले जानकारी दिए ।

एघार किलोभन्दा माथिको सानो अण्डाको समर्थन मूल्य भने ३ हजार १०० बाट बढेर ३ हजार २०० पुगेको छ । उपभोक्ता मूल्य ठूलो अण्डा प्रतिगोटा २५ र मिडियम अण्डाप्रति २ वटाको ४५ कायम गरिएको छ । फार्म मूल्य प्रतिपेटी २०० बढे पनि उपभोक्ताले तिर्ने खुद्रा मूल्यमा भने कुनै परिवर्तन नगरिएको उनले बताए । पर्वहरुसँगै चिसो सुरु भएपछि बजारमा खपत बढेका कारण होलसेल मूल्य बढाइएको उनले बताए ।