मौलिक संस्कृतिले राष्ट्रिय एकतालाई सुदृढ बनाउने

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विभिन्न जातजाति, समुदायका मौलिक संस्कृति एवं परम्पराले एकापसमा सामाजिक सद्भाव अभिवृद्धि गरी राष्ट्रिय एकतालाई बलियो बनाउने बताए ।

धान्य पूर्णिमा, उधौली पर्व, यमरीपुन्ही एवं ज्यापु दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा अध्यक्ष नेपालले मौलिक विशेषता भएका फरक सांस्कृतिक पर्वले नेपाली समाजलाई अन्तर्राष्ट्रियजगत्मा चिनाउन मद्दत पुग्ने बताए ।

बहुभाषिक एवं बहुसांस्कृतिक हाम्रो मुलुकमा विविध जातजातिका भाषा, साहित्य, कला र रहनसहनले समग्र राष्ट्रलाई सुसंस्कृत बनाउन मद्दत पुग्ने बताउँदै सन्देशमा पूर्वप्रधानमन्त्री नेपालले सम्बन्धित समुदायले पनि आफ्ना मौलिक चाडपर्व र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ । उनले सामाजिक एकता, पारस्पारिक सम्मान अभिवृद्धि गरी आर्थिक विकासको मार्गमा अग्रसर हुन चाडपर्व सहयोगी हुने विचार पनि व्यक्त गर्नुभएको छ ।यसैबीच, पूर्वप्रधानमन्त्री झलनाथ खनालले शुभकामना व्यक्त गर्दै मुलुकका मौलिक चाडपर्वले आपसी स्नेह, शान्ति र सद्भाव अभिवृद्धि गर्न प्रेरणा मिल्ने बताउनुभएको छ । साथै उहाँले सन्देशमा धार्मिक विविधतायुक्त नेपाली समाजलाई समतामूलक तुल्याउनुपर्ने बताए ।