सरकारले खेलाडी, प्रशिक्षक र व्यवस्थापकलगायत ३५ जनालाई सम्मान गर्ने

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिस्तरको खेल प्रतियोगितामा विजयी तथा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र फिजियोका गरी ३५ जनालाई सम्मान गर्ने भएको छ ।

गत बिहीबार र शुक्रबारका मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले अन्तर्राष्ट्रियस्तरको फुटबल, कराँते र बिच भलिबल प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक, व्यवस्थापक र फिजियाका ३५ जनालाई पुरस्कार तथा सम्मान गर्नका लागि स्वीकृति दिने निर्णय गरेको जानकारी दिए ।

सरकारले निर्माणाधीन नागढुङ्गा सुरुङमार्ग आयोजनाअन्तर्गत क्षतिपूर्ति तथा समस्या समाधानका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । यस्तै एसियाली विकास बैंकबाट हरित, उत्थानशील र समावेशी विकास कार्यक्रमका लागि एक सय मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जनाइएको छ ।

उक्त बैठकले सरकारका नाममा दर्ता रहेको सर्लाही जिल्ला साविक लक्ष्मीपुर गाविसको ०-५-२-८ बिघा सरकारी प्रकृतिको जग्गा स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि हरिपुर नगरपालिकालाई उपयोग गर्न स्वीकृति दिने निर्णय भएको हो ।

बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा डा राजेन्द्रप्रसाद बराल, कास्की र दीपकराज सापकोटालाई मनोनयन गर्ने निर्णय समेत गरेको छ ।

साथै बिहीबारको बैठकले यही पुस २ र ३ गते थाइल्याण्डको बैंककमा आयोजना हुने एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तीय सहयोगसम्बन्धी उच्चस्तरीय परामर्श बैठकमा सहभागिताका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ ।