बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका– ५ घर भएकी ३३ वर्षीया नेहा अधिकारी र काठमाडौं महानगरपालिका–२६ सामाखुशी बस्ने गोरखा, गोरखा नगरपालिका–४ पोखरीथोक घर भएकी ४१ वर्षीया सविना शाक्य रहेका छन् ।

जिल्ला अदालत काठमाडौं र जिल्ला अदालत ललितपुरबाट उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेकी नेहालाई ललितपुर महालक्ष्मी नगरपालिका–५ बाट र जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेकी सविनालाई काठमाडौं महानगरपालिका–२८ डिल्लीबजारबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ मध्ये नेहालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर र सविनालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।