कम्पनीको सेवा र योजनाबारे जानकारी दिन सेल्स एजेण्टसँग वाईफाई नेपालको भेटघाट

काठमाडौं । इन्टरनेट प्रदायक कम्पनी वाईफाई नेपालले सेल्स एजेण्ट भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

अन्य कम्पनीभन्दा सस्तो इन्टरनेट सेवा दिँदै आएको भनिएको चितवनका सेल्स एजेण्टलाई कम्पनीको सेवा र योजनाको बारेमा जानकारी दिने उद्धेश्यसहित शनिबार भरतपुरमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । सो अवसरमा कम्पनीले आफ्नो नयाँ अफर ‘सेन्चुरी प्याक’ समेत सार्वजनिक गरेको थियो ।

प्रस्तुति दिँदै कम्पनीका चितवन युनिट इन्चार्ज रजतमान श्रेष्ठले सेवा सुरु गरेसँगै वाईफाई नेपालले ग्राहकको मन जित्न सफल भएको बताए । ‘हामी चार वर्षभित्रमा नै नेपालकै शीर्ष १० स्थानमा पर्न सफल भएका छौं भने ग्राहक बनाउने सवालमा चौथो स्थानमा छौं,’ श्रेष्ठले भने ।

आगामी दिनमा कम्पनीको सेवालाई चुस्त दुरुस्त र गुणस्तरीय सेवाका साथै सस्तो मूल्यमा इन्टरनेट वितरण गर्ने उद्धेश्यका साथ कम्पनी अघि बढेको इन्चार्ज श्रेष्ठको भनाइ थियो । उनले सेन्चुरी प्याक अफरको बारेमा जानकारी दिँदै दुई वर्ष समयावधिको लागि १५ हजार ७०७ मै प्याकेज, सय एमबीपीएस स्पीडका साथ दुई महिना बोनस, निःशुल्क जडान खर्च तथा फाईभी जी राउटर सित्तैमा उपलब्ध गरिएको बताए ।

’हाम्रो टार्गेट ठूला सेवाग्राही र संस्थाहरु नभई मध्यमस्तरका ग्राहकलाई लक्षित गर्दै सेवा दिँदै आएका छौं,’ उनले भने, ‘सस्तो र फाष्ट इन्टरनेटकै कारण हाम्रा ग्राहक बढेका हुन् ।’

आगामी दिनमा चितवनका दुर्गम तथा इन्टरनेट पहुँच नपुगेका ठाउँहरुमा सेवा विस्तार गर्दै जाने योजना रहेको टाँडीका इन्चार्ज उत्तम रिमालले जानकारी दिए ।

नेपालभरि ७५ हजारभन्दा धेरै ग्राहक संख्या भएको वाईफाई नेपालको चितवनले छोटो समयमा धेरै ग्राहकको मन जित्न सफल भएको छ। कम्पनीले देशका अधिकांश जिल्लामा सेवा विस्तार गरिसकेको छ ।

सो अवसरमा सेल्स एजेण्टहरुले कम्पनीको थप सेवा विस्तार गर्नुका साथै छिटो छरितो सेवा दिन सुझाव दिएका थिए । कार्यक्रममा चितवनका मात्रै ३० भन्दा बढी सेल्स एजेण्ट सहभागी भएका थिए ।