काठमाडौँ । तिहार पर्वका कारण काठमाडौँ उपत्यकाको फोहर सङ्कलन तथा व्यवस्थापन कार्य दुई दिन प्रभावित हुने भएको छ ।
आगामी कात्तिक २४ र २५ गते बन्चरेडाँडास्थित अन्तिम फोहर व्यवस्थापनस्थलमा काम नहुने भएपछि उपत्यकाका विभिन्न स्थानबाट सङ्कलन हुने फोहरको व्यवस्थापन प्रभावित हुने भएको हो ।
काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागकि प्रमुख सरिता राईका अनुसार तिहार पर्वको अवसरमा बन्चरेडाँडामा कार्यरत कर्मचारीले समेत बिदा पाउने भएकाले उक्त दुई दिन फोहर व्यवस्थापनको काम रोकिनेछ । बन्चरेडाँडा उपत्यकाको फोहर विसर्जन गर्ने प्रमुख स्थल भएकाले त्यहाँको काम बन्द हुँदा उपत्यकाको समग्र फोहर व्यवस्थापनमा असर पर्ने देखिएको छ ।
महानगरपालिकाले कात्तिक २६ गतेदेखि भने फोहर व्यवस्थापनको काम नियमित रूपमा सञ्चालन हुने जनाएको छ। बिदाका कारण केही दिन व्यवस्थापन कार्य प्रभावित भए पनि त्यसपछि नियमित तालिकाअनुसार फोहर व्यवस्थापन अघि बढ्ने विभाग प्रमुख राईले जानकारी दिइन् ।
फोहर व्यवस्थापनस्थल बन्द रहने अवधिमा घर, पसल तथा व्यावसायिक क्षेत्रबाट निस्कने फोहर सडक, गल्ली, चोक र सार्वजनिक स्थानमा जथाभाबी नफाल्न महानगरले उपत्यकावासीलाई आग्रह गरेको छ । फोहर सङ्कलन तथा विसर्जनको काम नियमित हुन नसक्ने भएकाले नागरिकले आफ्नो घर तथा परिसरबाट निस्कने फोहर केही समय सुरक्षित स्थानमा राखेर व्यवस्थापन गर्नुपर्ने महानगरको अनुरोध छ ।
तिहारजस्ता चाडपर्वका समयमा घरायसी तथा बजार क्षेत्रको गतिविधि बढ्ने भएकाले फोहर उत्पादन पनि बढ्न सक्छ। यस्तो अवस्थामा सार्वजनिक स्थानमा फोहर फाल्दा सडक तथा बस्तीको सरसफाइमा समस्या आउनुका साथै दुर्गन्ध र वातावरणीय प्रदूषणको जोखिम बढ्न सक्छ । त्यसैले व्यवस्थापनस्थल बन्द रहने दुई दिन विशेष सावधानी अपनाउन महानगरले नगरवासीलाई सचेत गराएको छ ।
महानगरपालिकाले फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय बासिन्दाको सहयोग आवश्यक रहेको उल्लेख गर्दै फोहरलाई जथाभाबी विसर्जन नगर्न र सार्वजनिक स्थानको सरसफाइमा ध्यान दिन आग्रह गरेको छ। कात्तिक २६ गतेदेखि नियमित व्यवस्थापन सुरु हुने भएकाले त्यस अवधिसम्म फोहर सुरक्षित रूपमा राख्न तथा महानगरको आग्रह पालना गर्न नगरवासीलाई अनुरोध गरिएको छ ।




































