सार्वजनिक यातायात ठप्प, सर्वसाधारणलाई सास्ती

काठमाडौं । राइड सेयरिङ विवादपछि यातायात व्यवसायीले सोमबार देशभर सार्वजनिक यातायात ठप्प बनाएका छन् ।

यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्किएका हुन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईका अनुसार समितिको आह्वान अनुसार सार्वजनिक यातायात ग्यारेजमा थन्किएका हुन् ।

यातायात व्यवसायीले गण्डकी प्रदेश सरकारको ‘राइड सेयरिङ’ नियमावली खारेजीको माग गरेका छन्। केही दिनयता गण्डकी प्रदेशमा मात्र सार्वजनिक यातायात ठप्प बनाएका व्यवसायीले आन्दोलनलाई देशव्यापी बनाएका हुन्। यसले सर्वसाधारणलाई सास्ती भएको छ ।

पूर्व निर्धारित कतिपय परीक्षामा सहभागी हुन हिँडेका विद्यार्थी र अत्यावश्यक काममा हिँडेका सर्वसाधारण अलपत्र परेका छन् ।