जलस्रोतको मुहान हिमाल जोगाऔँ : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पिउने पानी र ऊर्जाको प्रमुख स्रोतका रूपमा रहेको हिमशृङ्खलामा जलवायु परितर्वनबाट परेको असर न्यूनीकरण गर्न विश्वसमुदायकै ध्यानाकर्षण गर्न आवश्यक रहेको बताएका छन् ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति(रासस) ले आयोजना गरेको ‘पर्वतीय पर्यटन- हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्वीर प्रदर्शनको आज अवलोकनपछि उनले जलवायु परिवर्तनको असर हिमालमा प्रत्यक्ष देखिएकाले यसको संरक्षणका लागि विश्वसमुदायले ध्यान दिनुपर्नेमा जोड दिए ।

मन्त्री खड्काले भने, “जसरी हिजोका दिनमा हिउँ पथ्र्यो, अहिले पर्न छाडेको छ । हिमताल तथा तालतलैयामा पनि यसको असर देखिएको छ, कतिपय हिमतालहरू फुट्ने खतरामा छन् । त्यसको संरक्षणका लागि अनुसन्धानलगायत काम सरकारले सुरू गरिसकेको छ ।”

नेपालको ऊर्जाको प्रमुख स्रोत जलस्रोत भएको हुँदा हिमालमा परेको असरले ऊर्जा क्षेत्रलाई पनि प्रभाव पार्ने बताउँदै उनले यसबाट हुने असर न्यूनीकरणका लागि एकताबद्ध प्रयासको खाँचो औँल्याए । नेपालमा पर्वतीय पर्यटन र के कस्ता हिमालहरू रहेका छन् भन्ने कुरा तस्वीरले स्पष्ट पारेको जनाउँदै मन्त्री खड्काले नेपालमा केही पनि भएको छैन र हुँदैन भन्ने भाष्य चिर्नलाई समेत यस्ता प्रदर्शनीले सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

“नेपाल प्राकृतिक रूपमा सम्पन्न छ, नेपालमा हिमाललगायत प्राकृतिक सम्पदा छन्, यसको सदुपयोग गर्न सन्देश दिएको छ, आन्तरिक र बाह्य पर्यटनका लागि हिमालका दृश्यले आर्कषण गर्दै आएको छ”, उनले भने । पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर अघि बढ्न सकिने उनको भनाइ छ ।

त्यसअघि राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मन्त्री खड्कालाई स्वागत गर्दैै गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीले नेपालका हिमालको महत्त्व र यसको सौन्दर्यताबारे उजागार गर्न तथा नेपालमा केही छैन भन्ने भाष्यलाई चिर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे ।