शैक्षिक केन्द्रको पठनपाठन कुनै पनि बहानामा अवरुद्ध गर्नु हुँदैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शैक्षिक केन्द्रको पठनपाठन कुनै पनि बहानामा अवरूद्ध गर्न नहुने बताएकी छन् । टङ्गालस्थित टङ्गाल माध्यमिक विद्यालयको ६२ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रको प्रगति र समृद्धि शिक्षाको स्तरसँग प्रत्यक्ष रूपमा गाँसिएकाले दक्ष जनशक्ति उत्पादन गर्न राज्यले शैक्षिक संस्थासँग सहकार्य र समन्वय गर्नु आवश्यक रहेको बताइन् ।

उनले भनिन्, “शिक्षा प्रणालीले विद्यार्थीलाई केवल किताबी ज्ञानमा जीवनोपयोगी सीप, सिर्जनशील सोच विकसित गराउँदै समाज र राष्ट्रप्रति उत्तरदायी नागरिक उत्पादन गर्नुपर्छ । सूचना र प्रविधिको विकासले विश्व एउटा साझा गाउँझैँ बन्न पुगेको अवस्थामा शिक्षाको उद्देश्य केवल प्रमाणपत्र प्राप्त गरे शिक्षित व्यक्तिको उत्पादन सीमित हुनुहुँदैन, हामीले अवसरसँगै आइपर्ने चुनौतीको पनि सामना गर्नुपर्छ ।”

उनले गुणस्तरीय शिक्षा र रोजगारीको खोजीमा तीव्र रूपमा विदेशिन बाध्य युवाशक्तिमार्फत नेपालको श्रम, सीपसँगै पुँजी पनि पलायन भइरहेकाले यो अवस्थालाई बदल्न स्वदेशमै गुणस्तरीय शिक्षा, सीपमूलक तालिम र उत्पादनमूलक रोजगारीको अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

“हाम्रो शैक्षिक नीति, शिक्षा प्रणाली, पाठ्यक्रम, शिक्षण पद्धति समयानुकूल हुनु आवश्यक छ । शिक्षामा गरिने लगानी खर्च होइन, यो दीर्घकालीन रूपमा समृद्ध राष्ट्र र समुन्नत समाज निर्माणका लागि गरिने अमूल्य लगानी हो । त्यसकारण शिक्षा लगानी बढाउन कुनै सङ्कोच मान्नुपर्दैन”, उनले भनिन् ।