देश विकासमा योगदान गर्नेलाई सम्मान गर्नुपर्ने : उपसभापति गुरुङ

पाटन (ललितपुर) । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देश विकासमा योगदान गर्नेलाई सम्मान गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रजातन्त्र सेनानी सङ्घ केन्द्रीय समितिद्वारा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित प्रजातन्त्र सेनानी स्वर्गीय हेमराज अधिकारीको १३औँ दिनको पुन्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा उनले देश, समाज र पार्टीलाई योगदान गर्ने व्यक्तिलाई सबैले सम्मान गर्नुपर्ने उल्लेख गरे ।

स्वर्गीय अधिकारीजस्ता योद्धाको मेहनत र प्रयासबाट नेपाली कांग्रेस अहिलेको सुदृढ अवस्थासम्म आइपुगेको उपसभापति गुरुङले धारणा राखे । उनले त्याग, तपस्या र बलिदान गरी मुलुक परिवर्तनमा सक्रिय व्यक्तिलाई राज्य, समाज र पार्टीले न्यायोचित मूल्याङ्कन र व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।