मनसुनी जोखिमको विश्लेषण गरी सुरक्षित यातायात सञ्चालनको व्यवस्था मिलाउन मन्त्री दाहालको निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मनसुन सक्रिय हुन थालेकाले यातायात आवागमनलाई सुरक्षित बनाउन निर्देशन दिएका छन् ।

मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक डा. विजय जैशी लगायतका अधिकारीलाई उनले जोखिमयुक्त क्षेत्रहरुमा विशेष सतर्कता अपनाउन समेत निर्देशन दिए । ‘सकेसम्म यातायात अवरुद्ध हुन नदिने व्यवस्था मिलाउँ’, मन्त्री दाहालले भने, ‘जोखिम रहेका क्षेत्रहरुमा यन्त्र, उपकरण र आवश्यकता अनुसारको जनशक्ति तैनाथ गरेर राख्नु पर्यो ।’

प्रहरी, प्रशासन तथा सुरक्षाका अन्य निकायहरुसँग समेत दर्विलो समन्व्य गरी सडक तथा यातायात क्षेत्रलाई नियमित, चुस्त र सुरक्षित बनाउन उनको निर्देशन छ । बढी जोखिम रहेका स्थानहरुमा ट्राफिक प्रहरीसँग समन्वय गरी सुरक्षित रुपमा सवारी साधन आवागमनको व्यवस्था मिलाउन मन्त्री दाहालले भनेका छन् । यस्तै मनसुनी चुनौती तथा सम्भावित जोखिमबारे सर्वसाधारणमा जानकारी पुग्ने व्यवस्था मिलाउन समेत निर्देशन दिए ।

मन्त्रालयका सचिव शर्माका अनुसार जोखिम स्थानहरुमा सडक विभाग मार्फत आवश्यक उपकरणहरु परिचालन गरिसकिएको छ । यस्तै सुरक्षा निकायहरुसँग समेत समन्वय गरी यातायातलाई सुरक्षित बनाउने गरी समन्वयको काम समेत भई रहेको उनले जनाए । पहिरो जाने, पानी जम्ने, बाढी आउने लगायतका सम्भावित स्थानहरुको पहिचान गरी ति स्थानहरुमा प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी आवश्यकता र अवस्था अनुसार सवारी साधन सञ्चालनको समय समेत निर्धारण गरी सुरक्षित बनाउने प्रयास गरिएको उनले बताए ।

सडक विभागका महानिर्देशक डा.जैशीले बीपी राजमार्ग, अरनिको राजमार्ग, पृथ्वीराजपथ, निर्माणाधीन दाउन्ने खण्ड लगायतका स्थानहरुमा विशेष सतर्कतासहित औजार, उपकरण र जनशक्ति परिचालन गरिएको बताए । यस्तै काठमाडौं उपत्यका भित्रका पानी जम्ने स्थानहरुको सरसफाइ गरिएको, राजमार्ग र करिडोरहरुमा समेत सतर्कताका साथ उपकरणहरु तयारी अवस्थामा राखिएको बताए ।

प्रशासन, ट्राफिक प्रहरी र अन्य सुरक्षा निकायहरुसँग नियमित समन्वय भई रहेको भन्दै महानिर्देशक शर्माले यातायातलाई सुरक्षित बनाउने कार्यमा सबै क्षेत्रको सहयोग आवश्यक रहने बताए ।