काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छन् ।
लामो समयदेखिको राजनीतिक भविष्यबारेको अड्कलबाजीलाई अन्त्य गर्दै उनले पार्टी सदस्यता नवीकरण गरेर पुनः एमालेको राजनीतिक यात्रामा जोडिएको बताएकी हुन् ।
शनिबार जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेकी हुन् ।
‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,’ उनले भनिन्, ‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।’
आफ्नो कुनै विशिष्ट महत्वाकांक्षा नरहेको स्पष्ट पार्दै उनले देश र जनताको हित नै आफ्नो एकमात्र लक्ष्य भएको बताइन् ।




































