के हराउँदै गएको हो त, ढिकीजाँतोको प्रचलन ?

गुल्मी । गाउँघरमा कुटानी पिसानीका लागि प्रयोगमा आउने ढिकीजाँतोको प्रचलन घट्दै गएको छ ।

ग्रामीण बस्तीमा धान, मकै कुटने, पिठो पिस्नेलगायत कामका लागि आधुनिक विद्युतीय मिल भित्रिएपछि ढिकीजाँतोको प्रयोग हराउँदै गएको हो ।

कुटानी, पिसानीको सहज माध्यमका रूपमा बजारमा विद्युत् तथा पेट्रोल, डिजेलबाट चलाउन सकिने आधुनिक मिल आउन थालेपछि ढिकीजाँतोको प्रयोग हराउन थालेको छ । मानिसहरू उत्पादनमुखीभन्दा पनि आयातित चामल, दाललगायत खाद्य सामग्री प्रयोगमा बढी निर्भर हुँदा पनि ढिकीजाँतोको चलन हराउँदै गएको देखिन्छ ।

विगतमा ढिकी र जाँतोमा धान कुट्नेदेखि ,गहुँ, कोदो, मकै, फापर, दाललगायत पिस्ने काम हुने भए पनि पछिल्लो समयमा आधुुनिक मिलको सहायताले मानिस कुटानी पिसानी गर्दै आएका छन् । दशक अघिसम्म स्थानीयको घरमा ढिकीजाँतो अनिवार्य हुने गरेको भए पनि त्यो चलन हराउँदै गएको स्थानीय ९३ बर्षिय वृद्ध रुद्रबहादुर खत्रीले बताए । पितापुर्खाले गरी ल्याएको यस्ता प्रविधिको संरक्षण गर्न आवश्यक रहेको उनको भनाइ छ ।

“गाउँघरमा परम्परागत रूपमा प्रयोगमा ल्याइने ढिकीजाँतो, पानीघट्टको चलन हराउँदै गएको अवस्था छ”, उनले भने , “पहिला गाउँघरमा ढिकीजाँतो अनिवार्य जस्तै थियो । अहिले त्यस्तो अवस्था रहेन । प्रविधिको विकाससँगै ढिकीजाँतोको चलन इतिहास बन्ने अवस्था छ ।” गाउँघरमा विद्युत् पुगेसँगै यहाँका अधिकांश ठाउँमा विद्युत्बाट चल्ने मिल राखेर धान, मकै कुट्ने, तेल पेल्नेदेखि पिठो पिसाउन थालेपछि गाउँमा परम्परागत रूपमा चल्दै आएका ढिकीजाँतो हराउन थालेका हुन् ।

कुटानी–पिसानीका लागि आधुनिक मिलले सहज भएपछि ढिकीजाँतो भने लोप हुँदै गएको स्थानीयको भनाइ छ । मानिसले बढी मेहनत गर्नुपर्ने भए पनि ढिकीजाँतोमा कुटेका खाने कुरा स्वास्थ्यकरसँगै स्वादिष्ट हुने स्थानीयवासी ७६ बर्षीय टोपलाल खनाल बताउछन् ।

“आधुनिक मिलमा कुटानी–पिसानीका लागि सहज छ”, तर परम्परागत चलन हराउँदै गएको अवस्था छ । मिलमा कुटानी–पिसानीका लागि छिटो हुने भएकाले ढिकीजाँतोको चलन हराएको छ” । गाउँका प्रत्येकजसो घरमा देखिने ढिकी तथा जाँतो पछिल्लो समय लोप हुँदै गएको उनको भनाइ छ।

नयाँ प्रविधिको विकासले परम्परागत ढिकीजाँतो इतिहास बन्ने अवस्था आएको स्थानीयवासी सुमित्रा खनाल बताउछिन् । परम्परागत रूपमा प्रयोग गर्दै आएका ढिकीजाँतोलाई संरक्षण गर्न आवश्यक रहेको उनको भनाइ छ । पूजाआजामा प्रयोग गरिने पिठो चामललगायत कुट्नका लागि ढिकी अनिवार्यजस्तो नै रहेको उनि बताउछिन् ।

परम्परगत रूपमा गरिने काममा मेहनत धेरै परे पनि कम खर्चिलो हुने, “मेहनत बढी परे पनि ढिकीजाँतोको सहजताले कुटिएका खानेकुरा लाभदायक हुन्छ”, उनले भनिन्, “यस्तो चलन गाउँघरबाट नै हराउँदै जानु दुःखद् हो । यी कुरालाई हामीले पनि संरक्षण गर्न आवश्यक छ ।”

भौगोलिक रूपमा विकट र विद्युत् पुग्न नसकेका गाउँमा भने अहिले पनि ढिकी तथा जाँतोको प्रयोग हुने गरेको छ । विद्युत् पुगेका ठाउँमा भने परम्परागत रूपमा रहेका ढिकी तथा जाँतो प्रयोग गर्ने चलन हराउदै गएको देखिन्छ ।

आधुनिक मिलले मानिसको दैनिक जीवनमा सहजता प्रदान गरे पनि खाद्यान्नमा हुने पौष्टिकतत्व भने हराउन्छ । परम्परागत रूपमा आउने गरेका चलन प्रविधिको संरक्षण गरेर नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ ।