ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा बराल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकको जिम्मेवारी मित्र बराललाई दिएको छ ।

बरालले विभागको ३०औँ महानिर्देशकका रुपमा आइतबार पद बहाली गरेका हुन् । नेपाल टेलिकमबाट विल्डिङ कन्स्ट्रक्सन इञ्जिनियरको रुपमा जागिरे जीवन सुरु गरेका बरालले जलस्रोत तथा सिँचाइ विभागमा २०५१ सालदेखि सेवा सुरु गरेका हुन् । विभाग मातहातका ठूला सिँचाइ आयोजनामा काम गरिसकेका अनुभवी र विज्ञका रुपमा चिनिन्छन् ।

पदबहाली गरेसँगै नवनियुक्त महानिर्देशक बरालले विभाग मातहातका कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिए । ‘हामीसँग पर्याप्त पूँजी छ, दक्ष छौँ, सूचना प्रविधि छ, यातायातको सुविधा छ, त्यसैगरी परियोजना छिटो सम्पन्न गर्ने हामीसँग अत्याधुनिक प्रविधि छ,’ उनले भने, ‘यस्तो अवस्थामा हामीले समयमै आयोजना सम्पन्न गर्ने बाहेक कुनै बाहनाबाजीमा छुट हुने छैन ।’

नवनियुक्त महानिर्देशक बरालले राष्ट्रिय गौरवका आयोजनालाई सधैँभरी ‘आयोजनामै मात्रै सीमित’ नराखी यसको प्रतिफल उपभोग चाँडै गराउन समयमै कार्यसम्पादन पूरा गर्नुपर्नेमा जोड दिए ।

तराई–मधेशमा सिँचाइ अभावले खेतीयोग्य जमिन बाँझै रहेको उल्लेख गर्दै उनले सिँचाइको समस्यालाई ‘द्रुत मार्र्ग’ र दीर्घकालीन गरी दुई चरणमा समाधान खोज्न सकिने र यसका लागि विभाग तयार रहेको बताए ।