काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य डा। आरजु राणा देउवा सोमबार उपचारका लागि सिंगापुर जाने भएका छन् ।सोमबार राति १० बजे सिंगापुर एयरलाइन्सबाट देउवा दम्पती सिंगापुर जाने निश्चित भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
देउवाले यसबारे कार्यवाहक सभापति पूर्णबहादुर खड्का, इतर समूहका नेता डा।शेखर कोइरालालगायतका शीर्ष तहका नेतालाई जानकारी गराएको उनी निकट स्रोतले जानकारी दियो । देउवाले आफू उपचारका लागि सिंगापुर जान लागेकोस्रोतले बताए।
जेनजी आन्दोलनका क्रममा गत भदौ २५ गते देउवा दम्पती बूढानीलकण्ठस्थित आफ्नै निवासमा मरणासन्न हुनेगरी कुटिएका थिए । त्यसपछि करिब एक महिना छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराएका थिए । उपचारका क्रममा देउवाको गर्दनमा १२ टाँका लगाइएको कांग्रेसका तत्कालीन उपसभापति अहिलेका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी कार्यसम्पादन समिति बैठकमा जानकारी गराएका थिए ।
जेनजी आन्दोलनमा कुटपिट भएपछि असोज २८ गते मात्रै देउवा सार्वजनिक रूपमा देखिएका थिए । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए । त्यसपछि कुनै सार्वजनिक कार्यक्रममा देखा नपरेका देउवा आज थप उपचारका लागि सिंगापुर जान लागेका हुन् । थप उपचार गर्ने र केही महिना उतै बस्ने तयारी देउवाको रहेको स्रोतले बतायो ।



































