आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपाली टोलीको प्रारम्भिक प्रशिक्षण क्याम्प घोषणा

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को तयारीस्वरूप नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक चरणको प्रशिक्षण क्याम्प घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको क्याम्प सूचीमा २४ खेलाडीलाई समावेश गरिएको छ ।

आगामी टी–२० विश्वकप फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । त्यसको तयारीस्वरूप क्याम्प पुस ७ गतेदेखि सुरु हुने जनाइएको छ। क्यानका अनुसार क्याम्पमा बोलाइएका खेलाडीहरूको फिटनेस, सीप र समग्र प्रदर्शनको मूल्याङ्कन गरिनेछ ।

क्याम्पमा एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै ‘उदीयमान खेलाडी’ घोषित शेर मल्ललाई समेटिएको छ। यससँगै अनुभवी विकेटकिपर विनोद भण्डारी, युवा बलर अविनाश बोहरा, प्रतिश जीसी, इशान पाण्डे तथा अलराउन्डर बसिर अहमद पनि क्याम्पमा परेका छन्। यी खेलाडीहरूलाई भविष्यको राष्ट्रिय टोलीको महत्वपूर्ण हिस्सा मानिएको छ ।

अनुभवी खेलाडीहरूमा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी र ललित राजवंशी रहेका छन्। यस्तै आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, नन्दन यादव, आदिल अन्सारी, साहब आलम, भीम सार्की, लोकेश बम र रुपेश कुमार सिंहलाई पनि क्याम्पमा समावेश गरिएको छ ।

क्यानले यो क्याम्पलाई टी–२० विश्वकप यात्राको पहिलो महत्वपूर्ण चरणका रूपमा लिएको जनाएको छ । क्याम्पबाट छनोट हुने खेलाडीहरू आगामी अन्तर्राष्ट्रिय प्रतियोगिता तथा विश्वकप तयारीमा केन्द्रित हुनेछन् ।