दुई खेल अगावै इंग्ल्यान्डविरुद्धको एसेस टेस्ट शृंखला अष्ट्रेलियालाई

काठमाडौं । अष्ट्रेलियाले इंग्ल्यान्डविरुद्धको पाँच टेस्टको एसेस शृंखला तेस्रो टेस्टमै आफ्नो पक्षमा पार्दै एसेस कायम राखेको छ। एडिलेड ओभलमा सम्पन्न तेस्रो टेस्टको अन्तिम दिन अष्ट्रेलियाले इंग्ल्यान्डलाई ८२ रनले पराजित गर्दै शृंखलामा ३–० को अपराजेय अग्रता बनाएको हो ।

यसअघि पर्थ र ब्रिस्बेनमा लगातार दुई टेस्ट जितेको अष्ट्रेलियाले केवल ११ दिनको क्रिकेटमै शृंखलाको नतिजा आफ्नो पक्षमा पार्न सफल भयो। पछिल्लो सय वर्षमा यति छिटो एसेसको नतिजा तय भएको यो दुर्लभ उदाहरण हो ।

जितका लागि कीर्तिमानी ४३५ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड अन्ततः ३५२ रनमै अलआउट भयो। चौथो दिनको समाप्तिमा २०७–६ को अवस्थामा रहेको इंग्ल्यान्डले अन्तिम दिन केही समयसम्म संघर्ष देखाएको थियो। जेमी स्मिथले ६० रनको साहसी इनिङ खेले भने विल ज्याक्सले ४७ रनको योगदान दिए। ब्राइडन कार्सले अविजित ३८ रन बनाए पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन् ।

अष्ट्रेलियाका लागि मिचेल स्टार्कले निर्णायक भूमिका खेले। उनले ३ विकेट लिँदै इंग्ल्यान्डको आशा तोडे। अन्ततः स्कट बोल्यान्डले जोश टङलाई आउट गर्दै इंग्ल्यान्डको इनिङ समाप्त गरे। खेलको अन्तिम क्षणमा मर्नस लाबुशेनले स्लिपमा शानदार क्याच समातेपछि अष्ट्रेलियाली टोली उत्सवमा डुबेको थियो ।

यस जितसँगै इंग्ल्यान्डको एसेस जित्ने सपना औपचारिक रूपमा समाप्त भएको छ । कप्तान बेन स्टोक्स र प्रशिक्षक ब्रेन्डन म्याक्कुलमको आक्रामक ‘बाजबल’ रणनीति यस शृंखलामा असफल देखिएको छ । हारपछि स्टोक्सले निराशा व्यक्त गर्दै बाँकी दुई खेलमा ध्यान केन्द्रित गर्ने बताएका छन् ।

“हामी ठूलो लक्ष्य लिएर आएका थियौं, तर त्यसलाई हासिल गर्न सकेनौं। यो निकै पीडादायक छ,” स्टोक्सले भने। “तर शृंखला अझै सकिएको छैन। अब बाँकी खेलमा राम्रो प्रदर्शन गर्नुपर्छ ।”अष्ट्रेलियाले भने शृंखलाभरि प्रमुख खेलाडीको अनुपस्थितिका बाबजुद उत्कृष्ट प्रदर्शन गर्‍यो। कप्तान प्याट कमिन्स पहिलो दुई टेस्ट चोटका कारण खेल्न सकेनन्। जोश हेजलउड शृंखलाबाट बाहिर रहे भने स्टिभ स्मिथ तेस्रो टेस्टमा बिरामी परे। यद्यपि टोलीले एकजुट प्रदर्शन गर्दै इंग्ल्यान्डलाई दबाबमा राख्यो ।

तेस्रो टेस्टको अन्तिम दिन स्पिनर नेथन लायन फिल्डिङका क्रममा ह्यामस्ट्रिङमा चोट लागेर मैदान छोड्न बाध्य भए। उनको बाँकी शृंखलामा सहभागिता अनिश्चित बनेको छ। तर कप्तान कमिन्स र स्टार्कले जिम्मेवारी सम्हाल्दै जित सुनिश्चित गरे ।

यसअघि अष्ट्रेलियाले पहिलो इनिङमा ८५ रनको अग्रता लिएको थियो। दोस्रो इनिङमा ट्राभिस हेडले शानदार १७० रन बनाए भने विकेटकिपर एलेक्स केरीले ७२ रनको महत्वपूर्ण योगदान दिए। यी इनिङले इंग्ल्यान्डमाथि ठूलो दबाब सिर्जना गरेको थियो ।

एडिलेडको हारसँगै इंग्ल्यान्डले अष्ट्रेलियामा पछिल्ला १८ एसेस टेस्टमध्ये एक पनि जित्न सकेको छैन। सन् २०११ पछि अष्ट्रेलियाली भूमिमा इंग्ल्यान्डको जितविहीन यात्रा जारी छ । अब अष्ट्रेलियाले २०१३–१४ पछि पहिलो पटक एसेस शृंखला ५–० ले ‘ह्वाइटवाश’ गर्ने लक्ष्य लिएको छ । चौथो टेस्ट बक्सिङ डेमा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुनेछ भने अन्तिम टेस्ट जनवरी ४ देखि ८ सम्म सिड्नीमा हुनेछ ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।