काठमाडौं । उज्यालो नेपाल पार्टीसँग एकतापछि राष्ट्रिय स्वतन्त्र पार्टीमा तीन उपसभापति रहने भएका छन् ।बालेन्द्र शाह साक्षी बसी रास्वपाका सभापति रवि लामिछाने र उनेपाका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेको सम्झौतापत्रमा एकीकृत पार्टीमा तीन उपसभापति रहने उल्लेख छ ।
उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ तीन उपसभापतिमध्ये पहिलो वरियतामा रहने भएका छन् । सातबुँदे सहमतिको चौथो नम्बर बुँदामा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सात बुँदे सहमति भएको छ । सहमति अनुसार, कुलमानलाई रास्वपाको उपसभापति बनाइने भएको छ । त्यस्तै, सहमतिपत्रमा उनेपाका अध्यक्ष अनुपकुमार उपाध्याय र रास्वपा सभापति लामिछानेबीच हस्ताक्षर भएको छ । जसमा काठमाडौंका मेयर बालेन शाह साक्षी राखिएको छ ।
उज्यालो नेपाल पार्टीसँगको पार्टी एकतापछि पनि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टी नै रहने भएको छ । यसअघि पार्टी एकताको लागि पटकपटक भएका छलफलमा उज्यालो नेपालका संरक्षक कुलमान घिसिङले पार्टीको नाम रास्वपा नै रहने भए चुनाव चिह्न बलिरहेको बत्ती राख्नु पर्ने अडान राख्दै आएका थिए । सोमबार साँझ भएको निर्णायक वार्तामा भने उनेपाले आफ्नो अडान त्यागेको छ । अब एकीकृत पार्टीको चुनाव चिह्न घण्टी नै रहने सातबुँदे सहमतिको तेस्रो बुँदामा उल्लेख छ । एकीकृत पार्टीको झण्डा पनि साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङको गोलाकार बिचमा निलो रङको घण्टीको आकृति रहनेछ । पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)ले वैकल्पिक राजनीतिक शक्ति निर्माणमा लागेकाहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् । दुई पार्टीबीच आज भएको एकतासम्बन्धी सातबुँदे सहमति–पत्रमार्फत उनीहरूले वैकल्पिक शक्ति निर्माणको लागि एकताबद्ध हुन आह्वान गरेका हुन् ।
दुई पार्टीले लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा समान विचार भएकाहरूलाई एकतामा आउन आह्वान गरेका छन् । सम्झौताको सातौं बुँदामा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव निह्न ‘घण्टी’मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तन कामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गर्ने ।’ बलियो वैकल्पिक शक्ति निर्माणको प्रयासमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले उनेपासँग एकता गरेको हो ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।




































