ट्याङ्करको ठक्करले श्रीमतीको मृत्यु र श्रीमानको गम्भिर घाइते

भक्तपुर । आज डिजेल बाकेको ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन् ।

लोकन्थली चोकको सडकमा काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको ना७ ख ९२६६ नंको डिजेल बोकेको ट्याङकरले भक्तपुरतर्फ नै जाँदै गरेको बा २३ प ९२३४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार ३२ वर्षीया स्वस्तिका ऐर बडालको घटनास्थलमा नै मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक दार्चुलाको नौगाड गाउँपालिका–१ घर भई हाल काठमाडौँको कीर्तिपुर बस्दै आएका ३४ वर्षीय करणसिंह बडाल गम्भीर घाइते भएका छन् । घाइते कौसलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नमराज ढुङ्गानाले जानकारी दएका छन् ।

प्रहरीले ट्याङकरका चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ अम्लेखगञ्जका २५ वर्षीय प्रशान्त बललाई नियन्त्रणमा लिएको प्रहरी वृत्त थिमिले जनाएको छ ।