ढकालको अध्यक्षतामा संस्कार सुधार समाजको नयाँ नेतृत्व चयन

काठमाडौं । संस्कार सुधार समाजको अध्यक्षमा पुण्यप्रसाद ढकाल चयन भएका छन् । आज काठमाडौंको नयाँ बानेश्वरमा भएको विशेष साधारणसभाले ढकालको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन भएको हो । पेशागत महासंघ नेपालका अध्यक्षसमेत रहेका ढकाल पूर्व निजामती कर्मचारी हुन् ।

समाजको सहअध्यक्षमा धरणीप्रसाद गौतम, उपाध्यक्षहरुमा डा. होमनाथ पौडेल, अम्बु भवानी कार्की, डा. निर्मला न्यौपाने, महासचिवमा खगेन्द्रप्रसाद पोखरेल, सचिवमा डा. प्रकाशज्योति पोखरेल र कोषाध्यक्षमा रमेश अधिकारी रहेका छन् । त्यस्तै सदस्यहरूमा डिल्लीरमण आचार्य, धनज न्यौपाने, रुद्र आचार्य, थर्कबहादुर वस्नेत, बैकुण्ठ गुरागाई, डा.विदुर वस्ती, नारायण भट्टराई, प्रल्हाद विष्ट, विशाल घिमिरे, प्रकाश पौडेल र रञ्जनाकुमारी पोखरेल रहेका छन् । सचिव पोखरेलले नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने बताए । विधानअनुसार २६ जनाको कार्यसमिति रहने व्यवस्था छ ।

निवर्तमान अध्यक्ष शम्भुप्रसाद पोखरेलले मृत्यु संस्कार गर्ने दिन घटाएर ५ दिनमा ल्याउनुपर्छ भनेर आफूहरूले भनिरहँदा धेरैले कुरा ठीक हो भने पनि व्यवहारमा उतार्न नसकेको बताए । उनले यो अभियानलाई गाउँगाउँसम्म पुर्याउनुपर्ने बताए । वक्ताहरूले १३ दिनसम्म गरिने काजकीरियाको संस्कार ५ दिनमा गर्दा पनि फरक नपर्नेमा जोड दिए ।

‘समाजको डरले गर्दा पनि मानिसहरु यो कुरा स्विकार्न तयार छैनन्, तर पनि कसैले यो विचार गलत हो भनेका पनि छैनन्,’ नवनिर्वाचित अध्यक्ष ढकालले भने, ‘अहिलेसम्म झण्डै ५० भन्दा बढी मानिसको काजकीरिया ५ दिनमा नै सकिएको छ, यो अभियान गलत होइन भनेर बुझाउनुपर्ने हाम्रो जिम्मेवारी हो ।’

ढकालले गत असोजमा आमाको निधन हुँदा पनि ५ दिनमै काजकीरिया सकेका थिए । ‘यो कुरा गर्दा पहिले समाजले पचाएन, मलाई सार्वजनिक वहिष्कार नै गर्छन् कि जस्तो लाग्थ्यो तर पछि सबैले यो पनि ठीकै रहेछ भने,’ ढकालले भने, ‘मैले २०७२ सालमा बुबाको निधन हुँदा पनि ५ दिनमा नै काजकिरिया सकेको हुँ, यो अभियान लिएर देशव्यापी रुपमा जानुपर्ने भएको छ ।’

ढकालले ५ दिनमा काजकीरिया सक्दा पनि १३ दिनमा गरिनेजस्तै सबै प्रक्रिया गर्न भ्याइएको बताए । उनले आमाको काजकीरिया मोरङमा गरेका थिए । ‘समाजले मानेन र स्वीकारेन भने अन्तै गएर काम गर्छु भनेको थिएँ पछि समस्या भएन,’ ढकालले भने, ‘कतिपय पुरोहितले त्यसरी नगर्ने भनेर जवाफ दिए, मैले त काठमाडौंबाट पनि चिनेजानेकै पुरोहित बोलाएर लगेको हुँ, पछि गाउँकैले हुन्छ भनेर गरे ।’

२०७२ सालमा शंकरप्रसाद पोखरेलको अध्यक्षतामा समाज गठन भएको थियो । अध्यक्ष पोखरेलको बीचैमा निधन भएपछि शम्भुप्रसाद पोखरेल अध्यक्ष भएका थिए । कार्यक्रमका वक्ताहरुले यो विषय सरकार र सरोकारवालासँग पनि राखेको र भोलिको दिनमा थप छलफल गर्दै जाने बताएका थिए ।