काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच पार्टी एकताको सहमति भइसके पनि केन्द्रीय समिति सदस्यको संख्या र बाँडफाँटको विषय अहिलेसम्म टुंगोमा पुग्न सकेको छैन।
विशेषगरी कुलमान घिसिङ पक्षले केन्द्रीय सदस्य संख्या बढाउनुपर्ने अडान लिएर प्रस्तुत भएपछि रास्वपाभित्रै असन्तुष्टि देखिन थालेको छ। एकातिर रास्वपाले स्थापित संरचनाको सीमाभित्र रहेर समायोजन गर्नुपर्ने बताइरहेको छ भने अर्कातिर उज्यालो नेपाल पार्टी आन्तरिक व्यवस्थापनमै अलमलमा परेको देखिन्छ। उज्यालो नेपाल पार्टीका नेता जितराम लामाका अनुसार पार्टीले सुरुवाती चरणमा ५२ सदस्यीय केन्द्रीय समिति बनाएको भए पनि संगठन विस्तारसँगै अहिले त्यसलाई बढाएर ९५ सदस्यीय बनाइएको छ। देशैभर संगठन विस्तार गर्दै निर्वाचनमा भाग लिने तयारी भइरहेकै अवस्थामा रास्वपासँग एकता सहमति भएको उनले बताए। “उज्यालो नेपालले आक्रामक रुपमा संगठन विस्तार गरिरहेको थियो। सुरुमा ५२ सदस्यीय केन्द्रीय समिति बनाएका थियौँ, पछि ९५ सदस्यीय बनाइएको हो। चुनावसम्ममा अझै केन्द्रीय समिति विस्तार गर्ने योजना नै थियो,” उनले भने।
लामाका अनुसार पार्टीले देशैभरका सबै तहमा उम्मेदवारी दिने गरी संगठन निर्माण गरिरहेको अवस्थामा रास्वपासँग एकता सहमति भएको हो। तर, केन्द्रीय समिति सदस्यको संख्या र प्रतिनिधित्वको विषयमा स्पष्ट सहमति नजुट्दा अहिले समस्या देखिएको उनको भनाइ छ। कुलमान घिसिङ निकट एक नेताका अनुसार मुख्यतः दुई कारणले केन्द्रीय सदस्य मनोनयनमा अलमल भइरहेको छ। “रास्वपाले कहिले उज्यालो नेपालबाट २६ जना ल्याउनुस् भन्छ, कहिले २१, कहिले १८। निश्चित संख्या नै तोकिएन। अर्कोतर्फ पार्टी विस्तार भइसकेकाले उज्यालो नेपालभित्रै ९५ जनाको व्यवस्थापन गर्न पनि कठिनाइ भएको हो,” ती नेताले बताए। यसअघि पुस १४ गते रास्वपा सभापति रवि लामिछाने र कुलमान घिसिङबीच उपसभापतिको वरियतामा रहने गरी दुई पक्षीय सहमति भएको थियो। सो सहमतिअनुसार कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले घण्टी चुनाव चिह्नमार्फत आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने सहमति गरेको थियो।
उक्त सहमति गैरसरकारी संस्था ‘हामी नेपाली’ का संयोजक सुधन गुरुङलगायतको दबाबपछि भएको बताइँदै आएको छ। कुलमान घिसिङले आफू हाल कुनै पनि राजनीतिक दलको औपचारिक सदस्य नरहेको दाबी गर्दै आएका छन्। उनले बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा बुझाइसकेका छन्। उज्यालो नेपालका तर्फबाट सुरुवाती चरणमा २१ जना केन्द्रीय सदस्य पठाउने सहमति भएको भनिए पनि त्यो संख्या पनि टुंगोमा पुग्न नसकेको कुलमान निकट नेताहरूको भनाइ छ। उता, रास्वपाका एक नेताका अनुसार पार्टीले उज्यालो नेपालको तर्फबाट १२ जनालाई केन्द्रीय समितिमा ल्याउन प्रस्ताव गरेको थियो। “बालेन टिमबाट २६ जना केन्द्रीय सदस्य बनिसक्नुभएको छ। त्यसअनुसार कुलमान टिमबाट १२ जनालाई ल्याउन भनेका थियौँ। उहाँहरूको टिम ठूलो छ, सबैलाई मिलाउन सम्भव छैन,” ती नेताले बताए।
रास्वपाका नेताहरूका अनुसार उज्यालो नेपालले केन्द्रीय सदस्य संख्या बढाएर पठाउने प्रस्ताव राखेपछि रास्वपाले त्यसलाई स्वीकार गर्न नसकेको हो। “एक महिनामै ९५ सदस्यीय केन्द्रीय समिति बनाउने पार्टीसँग तीन वर्षदेखि चलिरहेको स्थापित पार्टीले सबैलाई समेट्न सक्दैन,” ती नेताले भने। उनका अनुसार उज्यालो नेपालतर्फबाट आउने दबाबभन्दा बढी दबाब रास्वपामाथि आफ्नै पार्टीभित्रका बौद्धिक, प्रतिष्ठित र सक्रिय नेताहरूलाई व्यवस्थापन गर्न रहेको छ। रास्वपाले कुलमान घिसिङलाई उपसभापति पद स्वीकार गरिसकेको भए पनि केन्द्रीय समितिमा सबैलाई समेट्नुपर्ने माग व्यवहारिक नभएको पार्टीको धारणा छ। “तीन पक्षबीच सदस्य बाँडफाँड गर्दा उहाँहरूको भागमा कति पर्छ, त्यो दिन रास्वपा तयार छ,” ती नेताले भने। यसअघि रास्वपाले उज्यालो नेपालतर्फबाट प्रस्तावित १८ जनामध्ये ४ जनाको नाम हटाएपछि कुलमान पक्ष असन्तुष्ट बनेको थियो। त्यसपछि उज्यालो नेपालका नेताहरू आफ्नो छुट्टै समानुपातिक बन्दसूची लिएर निर्वाचन आयोग पुगेका थिए, जसले एकता प्रक्रिया थप जटिल बनेको थियो।
यता, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई फागुन २१ गतेको निर्वाचनपछि संसदीय दलको नेता र प्रधानमन्त्रीका रूपमा अघि सार्ने गरी रास्वपासँग सहमति भएको बताइए पनि बालेनले अहिलेसम्म पार्टीको औपचारिक सदस्यता लिएका छैनन्। बालेन पक्षले उनी रास्वपाको साधारण सदस्य मात्र रहेको जनाएको छ। रास्वपा नेता शिशिर खनालका अनुसार बालेनसँग भएको सहमति ‘अण्डरस्ट्याण्डिङ’ मा आधारित हो। “उहाँले सहमति गर्ने बेलामै म रास्वपाको कुनै पनि जिम्मेवारीमा बस्दिनँ भन्नुभएको थियो। सम्मानका रूपमा रविपछिको वरियता र वरिष्ठ नेता भनेका हौँ,” खनालले बताए। यसअघि पुस २० गते रास्वपाले बालेनसहित २६ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको थियो। त्यस्तै विवेकशील साझा पार्टीबाट आएका ७ जनालाई पनि केन्द्रीय समितिमा समेटिएको थियो। हाल रास्वपामा १२९ जना केन्द्रीय सदस्य रहेका छन्।
नेता खनालले कुलमान पक्षसँग सहमति जुटाउन निरन्तर छलफल भइरहेको बताए। “उहाँहरूले मिलाएर ल्याउनुहोला। राष्ट्रको आवश्यकता अनुसार मिलेरै चुनावमा जानुपर्छ,” उनले भने। पार्टी सभापति रवि लामिछानेले कुलमान घिसिङसँग भएको सहमतिलाई पार्टीको विधि र प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको जानकारी दिएका छन्। “उहाँ सरकारमै रहँदा सहमति भएको थियो। अब राजीनामा दिएर आउनुभएको छ, त्यसैले पार्टीभित्र औपचारिक प्रक्रिया अघि बढ्छ,” लामिछानेले बताएका छन्।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।




































