कांग्रेस दासहरूको पार्टी होइन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस दास र लाशहरुको पार्टी नभएको बताएका छन् । विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “कांग्रेस दास र लाशहरुको पार्टी होइन । कांग्रेसमा प्रश्न मरेको छैन । यहाँ कोही बा छैन नबोल भन्दा बोल्न छाड्ने छैन,” उनले भने, “पार्टीभित्र कोही मालिक र दास छैन । थियो भने पनि आजबाट भत्कियो ।

भोलि जो आए पनि पार्टीको सदस्यलाई हेप्न सक्दैन । तल बस्नेलाई माथि बस्नेले निहुरिएर जय नेपाल गर्नुपर्छ ।” उनले विशेष महाधिवेशनले के निर्णय गर्छ भन्ने बारेमा आफूलाई केही थाहा नभएको बताए । “यो कहाँ गएर टुंगिन्छ थाहा छैन । भोलि अधिवेशनको हाउस बस्छ । त्यसले जे निर्णय गर्छ । मेरो लागि त्यो स्वीकार्य छ । मैले त्यसलाई मान्नुपर्छ,” उनले भने ।

थापाले भदौ २३ र २४ मा एउटा घटनामात्रै नभएको बताए । “सभापति पनि उपस्थित भएको हेर्न चाहन्थ्यौँ,” थापाले भने,“तर त्यो हुन सकेन । पार्टीभित्रको सत्ता र संघर्षको कारणले यहाँ कोही उपस्थित भएको र नभएको भन्ने लागेको होला । यो संघर्ष हो तर सत्ताको होइन । यो संघर्ष हो मूल्य र मान्यताको ।” उनले राजा फालेर ल्याएको गणतन्त्रमा पनि नेपोबेबीको राज देखेर जनता रिसाउँदा भदौ २३ र २४ मा भावना व्यक्त गरेको बताए । “भदौ २३ र २४ मा भएका दोषीले सजाय पनि पाउलान्,” उनले भने, “त्यसदिन त्यतिमात्रै भएको होइन ।

नेपालका लाखौँ लाख नरनारीले रिस र आक्रोश व्यक्त गरेका हुन् । सरकारसँग व्यक्त गरेका हुन् । सरकारमा को थियौँ ? हामी थियौँ । संसद्मा को थियौँ ? हामी थियौँ । भ्रष्टाचार, कुशासनसँग जोडिएको आन्दोलन पनि थियो । राजा फालेर ल्याएको गणतन्त्रमा नेपोबेबीको राज देखेर रिसाएका हुन् जनता ।”

थापाले पार्टी सभापति शेरबहादुर देउवालाई सबैभन्दा बढी माया दुई महामन्त्रीले गर्ने गरेको बताएका छन् । “सभापतिलाई सम्झिएर दुईवटा कुरा राख्नैपर्छ । यी दुई महामन्त्री तपाईंसँगै थिए । तपाइँलाई माया गर्ने भदौ १८ गते देखि २५ गतेसम्म हामी नै थियौँ, २६गते पहिला विज्ञप्ति निकाल्ने पनि हामी नै थियौँ । घरमै आएर पनि भन्यौँ, अब आराम गर्नुस् भनेर,” उनले भने, “तपाइँको उँचो शीर होस् भनेर भन्यौँ । रूपान्तरणमा सहयोग गर्नुस् भनेकै हौँ ।” उनले मंसिरमा महाधिवेशन सम्पन्न गर्न सभापतिले नै भनेको बताउँदै थपे, “इतिहासले तपाइँको मुल्यांकन गर्दा तपाइँको शिर उँचो हुन्छ भन्यौँ । तपाइँले मंसिरमा महाधिवेशन गर्नुस् भनेर कार्यवहाक तोकेको होइन ? त्यसैले तपाईंलाई माया गर्ने हामी हौँ, नजिक बस्ने होइन ।”

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।