काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक सहज जितको आधार रहेको काठमाडौं–४ छाडेर सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ बाट उम्मेदवारी दिने निर्णयलाई राजनीतिक आँट र दीर्घकालीन सोचको परिणाम भएको बताएका छन् ।
शनिबार काठमाडौंमा सर्लाहीका युवासँग आयोजित अन्तरक्रिया कार्यक्रममा थापाले आफ्नो यो निर्णय केवल निर्वाचन जितका लागि नभई कांग्रेस र आफूलाई राष्ट्रिय राजनीतिको नयाँ चरणमा लैजान गरिएको स्पष्ट पारे । थापाका अनुसार काठमाडौं–४ बाट पुनः उम्मेदवारी दिएको भए आफूलाई चुनाव जित्न खासै कठिनाइ नहुने अवस्था थियो । तर, पार्टीको नेतृत्व सम्हालेपछि अब सुरक्षित राजनीतिको घेराभित्र सीमित भएर बस्न नहुने निष्कर्षमा पुगेको उनले बताए । “जित सजिलो ठाउँमा मात्रै राजनीति गर्नु नेतृत्व होइन,” थापाले भने, “देशका जटिल भूगोल र संवेदनशील राजनीतिक क्षेत्रको जिम्मेवारी लिन सक्ने आँट नै नेतृत्वको परीक्षा हो ।”
उनले काठमाडौं–४ का मतदाताप्रति आफू जीवनभर ऋणी रहने उल्लेख गर्दै त्यस क्षेत्रसँगको सम्बन्ध चुनावी राजनीतिभन्दा धेरै माथि रहेको बताए । काठमाडौं–४ ले आफूलाई राष्ट्रिय राजनीतिमा स्थापित गरिदिएको स्मरण गर्दै थापाले भविष्यमा पनि सो क्षेत्रको विकास र जनचासोलाई निरन्तर सम्बोधन गरिरहने प्रतिबद्धता जनाए । थापाले काठमाडौंबाहिरबाट निर्वाचन लड्ने सोच अघिल्ला निर्वाचनमै बनेको भए पनि त्यतिबेला आँट नपुगेको स्वीकार गरे । “त्यतिबेला नेतृत्वको जिम्मेवारी यति ठूलो थिएन,” उनले भने, “अब पार्टी सभापतिको भूमिकामा पुगेपछि आफूले गर्ने प्रत्येक निर्णयले राजनीतिक सन्देश दिनुपर्छ भन्ने महसुस गरेको छु ।” कार्यक्रममा उनले नेपाली कांग्रेसलाई वर्तमान अवस्थामा ल्याउन मधेसको ऐतिहासिक योगदान रहेको चर्चा गरे । कांग्रेस र मधेसबीचको सम्बन्धलाई केवल भाषण, चुनावी नारा वा औपचारिक भेटघाटमा सीमित राखेर अघि बढ्न नसकिने भन्दै थापाले मधेसको पीडा, अपेक्षा र सम्भावनालाई नेतृत्व तहबाटै आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनका अनुसार मधेसको नेतृत्व गर्ने इमानदार प्रयास नगरेसम्म कुनै पनि नेता साँचो अर्थमा राष्ट्रिय नेता बन्न सक्दैन । यही बुझाइका कारण आफूले सर्लाही–४ रोजेको उनको भनाइ थियो । “मधेसलाई केन्द्रबाट हेर्ने होइन, मधेसमै बसेर बुझ्नुपर्छ,” थापाले भने, “त्यसैले सर्लाही–४ बाट चुनाव लड्ने निर्णय गरेको हुँ ।” सर्लाही–४ बाट निर्वाचित भए आगामी पाँच वर्ष मधेसका मुद्दा, विकास र राजनीतिक सशक्तीकरणका लागि समर्पित भएर काम गर्ने उनले प्रतिबद्धता जनाए ।
त्यसका लागि सर्लाहीमै छुट्टै कार्यालय स्थापना गर्ने र त्यहीँबाट नियमित रूपमा जनताका गुनासा, समस्या र सुझाव सुन्ने व्यवस्था मिलाइने जानकारी उनले दिए । काठमाडौंबाट निर्देशन दिने शैलीको राजनीति आफूलाई स्वीकार्य नभएको पनि उनले स्पष्ट पारे । सभापति थापाले पार्टीभित्र युवाको भावना र अपेक्षा आत्मसात् गर्न आफूले नेतृत्व तहमा परिवर्तनको प्रयास गरेको र त्यसमा उल्लेखनीय सफलता मिलेको दाबी गरे । पार्टी संरचना, निर्णय प्रक्रिया र नेतृत्व चयनमा युवाको सहभागिता बढ्दै गएको उनको भनाइ छ ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा उनले प्रत्यक्षतर्फका उम्मेदवार छनोट प्रक्रियामा केही कमजोरी र असन्तुष्टि देखिएको स्वीकार गरे । तर, उम्मेदवार छनोटमा कुनै पनि प्रकारको आर्थिक चलखेल नभएको स्पष्ट पार्दै उनले पार्टीभित्रको निर्णय प्रक्रियालाई थप पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता दोहोर्याए । गगन थापाको सर्लाही–४ बाटको उम्मेदवारीले कांग्रेसभित्र मात्र होइन, समग्र राष्ट्रिय राजनीतिमा पनि नयाँ बहस र संकेत दिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ । सुरक्षित निर्वाचन क्षेत्र छाडेर मधेस रोज्नुलाई उनीहरूले कांग्रेसको मधेसप्रतिको राजनीतिक पुनःसम्बन्ध विस्तार गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन् ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।
































