निपाह भाइरस के हो ? भारतमा देखिएको संक्रमणका मुख्य कुराहरू

यसको कुनै खोप नभएकाले महामारीको उच्च जोखिम छ

भारतको पश्चिम बंगाल राज्यमा विगत १ महिनामा २ जनामा घातक ‘निपाह भाइरस’ पुष्टि भएपछि एसियाभरका विमानस्थलहरूलाई उच्च सतर्कतामा राखिएको छ । जनावरबाट मानिसमा सर्ने र उच्च मृत्युदर भएको भाइरस थप फैलिन सक्ने डरले थाइल्याण्ड, नेपाल र भियतनाम लगायतका देशहरूले विमानस्थलमा आउने यात्रुहरूको स्वास्थ्य जाँच (स्क्रिनिङ) सुरु गरेका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयले डिसेम्बरयता पश्चिम बंगालमा २ वटा केस पुष्टि गरेको छ तर भाइरसलाई समयमै नियन्त्रण गरिएको दाबी गरेको छ । सरकारले संक्रमित बिरामीहरूको विस्तृत विवरण नदिए पनि करीब २०० जना नजिकका सम्पर्कमा रहेका व्यक्तिहरूको परीक्षण गरिएको र थप संक्रमण नदेखिएको बताएको छ ।

निपाह भाइरस किन घातक छ ?

निपाह भाइरस मुख्यतया सुँगुर र ‘फ्रूट ब्याट’ (फलफूल खाने चमेरो) जस्ता जनावरहरूबाट उनीहरूको र्‍याल वा मलमूत्रको प्रत्यक्ष सम्पर्कमार्फत मानिसमा सर्छ । यो भाइरस शरीरमा प्रवेश गरेपछि लक्षण देखिन ४–१४ दिनसम्म लाग्न सक्छ ।

सुरुमा उच्च ज्वरो आउने, वाकवाकी लाग्ने, बान्ता हुने र श्वासप्रश्वासमा समस्या देखिने र अवस्था जटिल बनेमा निमोनिया हुनसक्नेछ । गम्भीर अवस्थामा मस्तिष्क सुन्निने र त्यसले गर्दा अत्यधिक निद्रा लाग्ने वा छारे रोगको जस्तो लक्षण देखिन्छ ।

भाइरस मानिसबाट मानिसमा पनि तीव्र रूपमा सर्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार यसको कुनै खोप नभएकाले यो महामारीको उच्च जोखिम छ । यसको मृत्युदर ४०%–७५% सम्म रहेको छ, जुन कोभिड–१९ को तुलनामा धेरै घातक हो ।

विगतका प्रकोपहरू

निपाह भाइरस पहिलो पटक सन् १९९८ मा मलेसियाका सुँगुरपालक कृषकहरूमा देखिएको थियो, जहाँ १०० भन्दा बढीको मृत्यु भएको थियो । भाइरसको नाम पहिलोपटक देखिएको गाउँको नामबाट ‘निपाह’ राखिएको हो ।

त्यसयता भारत, फिलिपिन्स, सिंगापुर र मलेसिया लगायतका एसियाली देशहरूमा लगभग हरेक वर्ष यसका केसहरू देखिने गरेका छन् । बंगलादेशमा निपाह भाइरस नियमित रूपमा देखिन्छ ।
भारतमा पहिलोपटक सन् २००१ मा बंगलादेशसँग सीमा जोडिएको पश्चिम बंगालमै यो देखिएको थियो । बंगलादेशमा ‘काँचो ताडी’ संकलन गर्ने क्रममा चमेरोको संसर्गबाट यो फैलिने गरेको पाइएको छ । सन् २०१८ मा भारतको केरला राज्यमा १७ जना र २०२३ मा २ जनाको यसबाट मृत्यु भएको थियो ।

अहिले कस्तो छ ?

पश्चिम बंगालमा सन् २००७ पछि पहिलोपटक निपाह देखिएकाले प्रकोपलाई अर्थपूर्ण रूपमा हेरिएको छ । भारतीय स्वास्थ्य अधिकारीहरूले भनेका छन्, ‘निगरानी बढाइएको छ, प्रयोगशाला परीक्षण र स्थलगत अनुसन्धान गरिएकाले समयमै संक्रमणलाई नियन्त्रणमा लिइएको छ ।’ डिसेम्बरयता २ वटा मात्र केस देखिएको र अवस्थाको निरन्तर अनुगमन भइरहेको भारतको दाबी छ ।

यद्यपि अन्य देशहरूले विमानस्थल र सीमा नाकामा सतर्कता बढाएका छन् । थाइल्याण्ड, भियतनाम र इन्डोनेसियाले भारतबाट आउने यात्रुहरूको ज्वरो नाप्ने र स्वास्थ्य स्वघोषणा फारम भराउने व्यवस्था गरेका छन् । म्यानमारले पश्चिम बंगालको अत्यावश्यक बाहेकको यात्रा नगर्न सल्लाह दिएको छ भने चीनले पनि सीमा क्षेत्रमा रोग नियन्त्रणका उपायहरू कडा बनाएको छ । भारत सरकारले भने धेरै संख्यामा संक्रमण फैलिएको भन्ने रिपोर्टहरूलाई भ्रामक र गलत भनेको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार