काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले खलनायक बनेर इतिहासको पानामा हराउन नचाहेको बताएका छन् ।
आइतबार एक भिडियो सन्देश जारी गर्दै प्रचण्डले नायकका रूपमा इतिहास लेखाउन विश्राम नलिने बताएका छन् । अहिले युवाले उठाएका भ्रष्टाचारको अन्त्य, पारदर्शिता र एउटा बलियो सरकारको माग र एजेन्डा विगतमा आफैँले उठाएका एजेन्डा रहेको दाबी गर्दै प्रचण्डले विश्राम नलिने प्रतिबद्धता जनाएका हुन् ।
’मेरो माग र तपाईंहरूको माग एउटै हो । म तपाईंहरूकै पुस्ताको सोच बोकेर हिँडेको यात्री हो । हलिवुडमा एउटा चर्चित संवाद छ– या त तिमी नायकको रूपमा मर, या त आफूलाई खलनायक बनेको हेर्न जिवित रह’, प्रचण्डले भनेका छन्, ’यदि म धेरै अघि बिदा भएको भए, सायद देशले मलाई नायकको रूपमा मात्र सम्झिन्थ्यो होला । तर म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्नँ । म यो देशलाई सही दिशामा नपुऱ्याएसम्म विश्राम लिने छैन ।’
उनले कुनै युवाले भविष्य खोज्न विदेश जानुनपर्ने नेपाल निर्माणका लागि हातेमालो गर्न पनि अपिल गरेका छन् । ’आउनुहोस् मिलेर एउटा यस्तो नेपाल बनाउँ, जहाँ कुनै पनि युवाले आफ्नो भविष्य खोज्न विदेश जानु नपरोस्’, उनले भने । प्रचण्डले आफूलाई पुराना अरु नेताहरूको भिडमा नराख्न पनि आग्रह गरेका छन् । ’धेरैलाई लाग्न सक्छ म र म जस्ता पुराना नेताहरू एउटै हुन्, तर म आज यो सार्वजनिक मञ्चबाट प्रस्ट भन्न चाहन्छु, म ती पुराना नेताहरूको भिडमा छैन । म त्यो सत्ताको भागवण्डाको सम्झौतामा कहिले पनि सहभागी हुन चाहन्न । जसले देशलाई बन्धक बनाएर राखेको छ । म फरक छु र म यो प्रमाणित गरेरै छाड्नेछु । मेरो काम र मेरो निष्ठालाई आज होइन, भोलिको समयले प्रमाणित गर्नेछ’, प्रचण्डले भने ।
प्रचण्डले आफूले जीवनमा गुमाउनुपर्ने सबै गुमाइसकेको बताउँदै शहीदहरूको बलिदान खेर जान नदिने दृढता पनि व्यक्त गरेका छन् । ’म त्यो पिता हुँ जसले आफ्नै आँखाअगाडि आफ्नो जेठी छोरी ज्ञानु र जवान छोरा प्रकाशलाई गुमाउनु पऱ्यो । म त्यो श्रीमान् हुँ जसको जीवनसङ्गिनीले बीचबाटोमै साथ छोडेर गइन् । मैले समयको चक्रमा आफ्ना परिवारका सदस्यहरू मात्र होइन, हजारौँ सहयोद्धा र सहयात्रीहरूलाई पनि गुमाएको छु’, प्रचण्डले भनेका छन् ।
’एउटा मान्छेले आफ्नो जीवनमा जे जति गुमाउनु सक्छ, मैले त्यो सबै गुमाएँ । तर मलाई अझै पनि के कुराले अगाडि बढ्न प्रेरित गर्छ भने यो सङ्घर्ष मेरो व्यक्तिगत होइन, यो त ती हजारौँ शहीदहरूको सपना पूरा गर्ने यात्रा हो जसले एउटा सुन्दर र समृद्ध नेपालको लागि आफ्नो रगत बहाए । मलाई थाह छ मेरो परिवार र मेरा कमरेडहरूको यो बलिदान खेर जाने छैन । परिवर्तन अनिवार्य छ र म यो सुनिश्चित गर्नेछु कि त्यो परिवर्तन गरेरै छोड्नेछु’, प्रचण्डले अगाडि भने ।
प्रचण्डले सबै चम्कला चिज हीरा नहुने बताउँदै सामाजिक सञ्जालका भ्रमबाट जोगिन अपिल गरेका छन् । ’म नयाँ विचारहरूको लागि सधैँ खुला छु । म नयाँ पुस्तालाई स्वागत गर्दछु र नयाँ पनलाई आत्मसात गर्न तयार छु । तर एउटा कुरा याद राख्नुहोस्, हरेक चम्किलो चिज हीरा हुँदैन’, प्रचण्डले भनेका छन्, ’आजको यो डिजिटल युगमा सामाजिक सञ्जालका भ्रमहरूले तपाईंहरूलाई बहकाउन सक्छन् ।’
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।
































