जिल्ला–जिल्ला पठाउन तयार भयो मतपेटिका

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा सरकार र निर्वाचन आयोगले तयारीलाई तीव्र बनाएका छन् ।

निर्वाचन आउन अब एक महिनाभन्दा कम समय बाँकी रहँदा मतदान प्रक्रिया स्वस्थ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित आवश्यक व्यवस्थापनमा सरकारले उच्च प्राथमिकता दिएको छ ।

निर्वाचन आयोगले मुलुकभर आचारसंहिता कार्यान्वयनको अनुगमनलाई कडाइका साथ अघि बढाइरहेको जनाएको छ । राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला पक्षहरूलाई निर्वाचन आचारसंहिताभित्र रहेर गतिविधि गर्न निर्देशन दिइँदै आएको आयोगले बताएको छ । आचारसंहिता उल्लङ्घन गर्नेहरूविरुद्ध आवश्यक कारबाही प्रक्रिया पनि अघि बढाइँदै छ । यसैबीच, मतदानका लागि अत्यावश्यक सामग्रीमध्ये प्रमुख मानिने मतपत्र छपाइको काम पनि तीव्र रूपमा अगाडि बढिरहेको छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ शुक्रबारसम्म ६० वटा निर्वाचन क्षेत्रका लागि आवश्यक मतपत्र छपाइको काम सम्पन्न भइसकेको छ । बाँकी निर्वाचन क्षेत्रका लागि पनि छपाइ कार्य अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।

समानुपातिक प्रणालीतर्फको मतपत्र छपाइ यसअघि नै पूरा भइसकेको छ । ती मतपत्रहरू सुरक्षित रूपमा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयहरूमा पठाइसकिएको आयोगले जानकारी दिएको छ । मतपत्र ढुवानीका क्रममा सुरक्षाका लागि विशेष व्यवस्था गरिएको आयोगको भनाइ छ । यस्तै, मतदान प्रक्रियामा प्रयोग गरिने मतपेटिकाहरू पनि शनिबारसम्म तयार भइसकेको निर्वाचन आयोगले जनाएको छ । आयोगका कर्मचारीहरूले मतपेटिकाहरूलाई आवश्यक प्याकेजिङ गरी जिल्लाहरूमा पठाउनका लागि तयारी अवस्थामा राखेका छन् । केही जिल्लामा शनिबारदेखि नै मतपेटिका पठाउने काम सुरु भइसकेको छ । आयोगका अनुसार दुर्गम तथा भौगोलिक रूपमा कठिन क्षेत्रमा समयमै सामग्री पुर्‍याउन विशेष योजना बनाइएको छ । हिमाली तथा पहाडी जिल्लामा हेलिकप्टर तथा वैकल्पिक यातायात माध्यममार्फत सामग्री ढुवानी गर्ने तयारी गरिएको छ । यसले मतदानको दिन कुनै पनि मतदान केन्द्रमा सामग्री अभाव नहोस् भन्ने सुनिश्चित गर्ने लक्ष्य लिइएको छ ।

निर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउन सुरक्षाका दृष्टिले पनि तयारी तीव्र पारिएको छ । गृह मन्त्रालयको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको परिचालन योजना अन्तिम चरणमा पुगेको छ । मतदान केन्द्र, मतगणना स्थल तथा संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइने जनाइएको छ । निर्वाचन आयोगले मतदातालाई निर्भीक भएर मतदानमा सहभागी हुन आह्वान गर्दै आएको छ । साथै, भोट हाल्ने प्रक्रियाबारे सचेतना कार्यक्रमहरू पनि देशभर सञ्चालन भइरहेको छ । आयोगका अधिकारीहरूका अनुसार बाँकी तयारी समयमै सम्पन्न गरी फागुन २१ गते शान्तिपूर्ण, स्वच्छ र विश्वसनीय निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सबै संयन्त्र परिचालित गरिएको छ । निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकार, आयोग, सुरक्षा निकाय र सरोकारवाला निकायबीच समन्वय बढाइएको आयोगले जनाएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।