निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको पाँच बुँदे शिक्षा एजेन्डा सार्वजनिक

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले शिक्षा क्षेत्र सुधारका लागि पाँच बुँदे शिक्षा एजेन्डा सार्वजनिक गरेको छ। आसन्न निर्वाचनलाई लक्षित गर्दै आयोजित पत्रकार सम्मेलनमार्फत प्याब्सनले विभिन्न राजनीतिक दललाई आफ्ना घोषणापत्रमा शिक्षा क्षेत्रसम्बन्धी दीर्घकालीन र सन्तुलित नीति समावेश गर्न आग्रह गरेको हो।

पत्रकार सम्मेलनमा प्याब्सनले शिक्षा कुनै राजनीतिक प्रयोगको विषय नभई राष्ट्र निर्माणको आधार भएको उल्लेख गर्दै निजी विद्यालयलाई समस्या होइन, शिक्षा सुधारका लागि महत्वपूर्ण साझेदारका रूपमा हेर्नुपर्ने धारणा राखेको छ। पछिल्ला दशकहरूमा निजी विद्यालयले शिक्षा पहुँच विस्तार, गुणस्तर सुधार, नवप्रवर्तन तथा दक्ष जनशक्ति विकासमा महत्वपूर्ण योगदान दिएको पनि प्याब्सनको भनाइ छ।

प्याब्सनले सार्वजनिक गरेको एजेन्डामा सार्वजनिक–निजी–सामुदायिक सहकार्य (Public-Private-Community Partnership) मा आधारित स्पष्ट शिक्षा नीति आवश्यक रहेको उल्लेख छ। साथै, अभिभावक र विद्यार्थीलाई विद्यालय छनोट, शिक्षण माध्यम (नेपाली, अंग्रेजी वा मातृभाषा) तथा शैक्षिक मोडल छनोट गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।

त्यसैगरी, शिक्षा क्षेत्रमा गरिएको निजी लगानी, पूर्वाधार र सम्पत्तिको कानुनी तथा नीतिगत सुरक्षा सुनिश्चित गर्नुपर्ने, नीतिगत अस्थिरता र एकपक्षीय निर्णयले लगानीको वातावरण कमजोर बनाएको भन्दै स्थिर र दीर्घकालीन नीति आवश्यक रहेको प्याब्सनको जोड छ।

विदेश पलायन हुँदै गएको पूँजी रोक्न नेपालमै गुणस्तरीय उच्च शिक्षा विस्तार गर्नुपर्ने उल्लेख गर्दै निजी क्षेत्रसँग सहकार्य गरी दीर्घकालीन योजना अघि बढाउनुपर्ने माग पनि एजेन्डामा समेटिएको छ।

प्याब्सनले शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदानको सम्मान गर्दै ऐन, नीति र निर्देशिकामा स्पष्ट स्थान दिनुपर्ने, निजी क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति व्यवस्थामा समान, पारदर्शी र न्यायोचित अवसर सुनिश्चित गर्नुपर्ने माग गरेको छ। साथै, निजी विद्यालयमा कार्यरत जनशक्तिलाई राज्यद्वारा प्रदान गरिने तालिम, सीप विकास तथा शैक्षिक उन्नयनका कार्यक्रममा सहभागी गराउनुपर्नेमा जोड दिएको छ।

प्याब्सनले यी विषयहरू कुनै एक दल विशेषसँग सम्बन्धित नभई राष्ट्रको भविष्यसँग जोडिएका मुद्दा भएको उल्लेख गर्दै सबै राजनीतिक दल, नीति निर्माता र सरोकारवालासँग सहकार्य गर्न तयार रहेको जनाएको छ। पत्रकार सम्मेलनमा उपस्थित सञ्चारकर्मीहरूलाई धन्यवाद दिँदै प्याब्सनले आगामी निर्वाचन निष्पक्ष, मर्यादित र जनसहभागितामूलक हुने अपेक्षा व्यक्त गरेको छ।