खोटाङ उद्यमी कोसेली घर : गाउँको स्वाद, महिलाको साहस र बजारको नयाँ कथा

खोटाङ । दिक्तेलको किरातचोक पुग्दा साना–साना डल्लामा सजिएका गुन्द्रुक, अकबरे खुर्सानीको अचारका रंगीन बट्टा, बाँसका नाङ्लो र डालो, अनि भेडाको ऊनबाट बुनेका लुकुनीहरू एकै ठाउँमा देखिन्छन्।

यी सामग्री केवल बिक्रीका वस्तु होइनन्—यी गाउँको माटो, पसिना र पहिचानका प्रतीक हुन्। यही पहिचानलाई जोगाउँदै बजारसम्म पुर्याउने प्रयास हो ‘उद्यमी कोसेली घर’। महिला उद्यमी सङ्घ खोटाङका अध्यक्ष बिमला राईले सञ्चालन गरेकी ‘खोटाङ उद्यमी कोसेली घर’ जिल्लाको स्थानीय उत्पादन प्रवद्र्धन गर्ने महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाङ–३ बाम्राङकी उनले विसं २०८० असोज–९ गते दिक्तेल बजारमा औपचारिक रूपमा कोसेली घर स्थापना गरेकी हुन् ।

सानो सुरुआत, ठूलो सपना

सामाजिक सङ्घ संस्था तथा राजनीतिमासमेत सक्रिय रहँदै आएकी अध्यक्ष राई विसं २०७७ मा महिला उद्यमी सङ्घको अध्यक्ष निर्वाचित भएकी थिईन् । जिल्लामा स्थानीय उत्पादनलाई व्यवस्थित बजार आवश्यक रहेको महसुस गर्दै अध्यक्ष राईले कोसेली घर सञ्चालन गरेकी हुन् । सुरुमा सात हजार लगानी गरेर ३०–४० बट्टा अकबरे खुर्सानीको अचार उत्पादन गरेर कोसेली घर स्थापना गरेकी अध्यक्ष राईले दुई वर्ष नपुग्दै करिब ३५ लाख लगानी पुगेको जानकारी दिएकी छन् । “कोसेली घरमा जिल्लाभित्र उत्पादन भएका सामग्रीमात्र बिक्रीका लागि राख्ने गरेकी छु । केही सामग्री आफै उत्पादन गर्छौँ भने, अधिकांश सामग्री स्थानीय किसानबाट खरिद गरेर बिक्री गर्दै आएकी छु”, उनले भनिन्,“विशेषगरी विदेशमा रहेका खोटाङवासीले पुनः फर्किएर जाँदा कोसेलीका रूपमा खाद्य सामग्री खरिद गरेर लैजाने गरेका छन् ।

किसान र बजारबीचको सेतु

कोसेली घरमा राखिएका सामग्री बेलायत, हङकङ, सिङ्गापुरलगायत देशमा निर्यात हुँदै आएको छ ।” जिल्लाका दश स्थानीय तहमध्ये विशेष गरी केपिलासगढी गाउँपालिकाबाट बढी सामग्री खरिद गरिँदै आएको अध्यक्ष राईले बताएकी छन् । उक्त क्षेत्रमा मह, बाँस तथा काठजन्य सामग्री र विभिन्न खाद्यान्न उत्पादन हुने भएकाले त्यहाँबाट नियमित रूपमा सामग्री सङ्कलन गर्ने गरेको उनको भनाइ छ । यसका साथै हलेसी, दिक्तेल, रावाबेँसी, साकेला लगायतका क्षेत्रबाट पनि सामग्री ल्याइँदै आएको अध्यक्ष राईले जानकारी दिएकी छन् । स्थानीय किसानबाट सिधैँ सामग्री खरिद गरी बिक्री गर्दा किसानलाई प्रोत्साहन मिलिरहेको उनले बताइन् ।

कहिलेकहीँ आर्थिक अभावका कारण सबै किसानको उत्पादन खरिद गर्न नसकिने तथा हाताहाती भुक्तानी गर्न कठिनाइ हुने चुनौती रहेको अध्यक्ष राईले जानकारी दिएकी छन् । कोसेली घरमा गुन्द्रुक, किनिमा, सिस्नोको धुलो, कोदो तथा फापरको पिठो, मकैको च्याख्ला, गहत, कालो दाल, सिमीलगायत खाद्यवस्तु बिक्रीका लागि राखिएको छ ।

दिक्तेलस्थित किरातचोकमा सञ्चालित कोसेली घरमा सुकुटी, विभिन्न अचार, भिरमौरी तथा घर मौरीको मह, गाई–भैँसी तथा भेडाको घ्यू, कोलमा पेलेको तोरीको तेल, अकबरे खुर्सानीको अचार, घरेलु जाँड तथा रक्सी उत्पादनमा प्रयोग हुने मर्चा, जडीबुटीजन्य वस्तु तथा हस्तकलाका सामग्री पनि उपलब्ध रहेको जनाइएको छ । हस्तकलातर्फ बाँसबाट निर्मित डालो, नाङ्लो, थुन्से, फिपी, कोक्रो, कठुवा, ठेकी, काठका चिन्डोलगायत सामग्री बिक्रीका लागि राखिएका छन्।

ढाकाको टोपी, कपासको धागोबाट बुनिएको कपडा, भेँडाको ऊनबाट बनेका लुकुनी, घुमराडी, चकटीलगायत सामग्रीसमेत बिक्रीका लागि उपलब्ध रहेको उनले बताएकी छन् । जिल्ला भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकले चिनोका रूपमा हस्तकलाका सामग्री खरिद गर्ने गरेका छन् । कोसेली घर सञ्चालनमा राज्यबाट अपेक्षित सहयोग नपाएको गुनासो गर्दै उनले वास्तविक रूपमा काम गरिरहेका उद्यमीहरूले अनुदान पाउनुपर्ने धारणा व्यक्त गरेकी छन् । स्थानीयस्तरमा उत्पादन हुने कोदोको रक्सीलाई व्यवसायिकीकरण गर्न स्थानीय सरकारले स्पष्ट नीति बनाउनुपर्ने उनको सुझाव छ ।

कोसेली घरलाई अझ व्यवस्थित बनाउँदै अनलाइनमार्फत बिक्री विस्तार गर्ने, थप कर्मचारी राख्ने तथा स्थानीय उत्पादनको ब्रान्डिङ र प्याकेजिङ व्यवस्थित गर्ने योजना रहेको अध्यक्ष राईले जानकारी दिएका छन् । कोसेली घरलाई व्यवस्थित बनाउन उनले एकजना कर्मचारी राखेर मासिक तलब प्रदान गर्दै आएका छन् । जिल्लाका महिला उद्यमीले उत्पादन गरेका अचारलगायत खाद्यवस्तु विभिन्न कृषि प्रदर्शनीमा राखिँदै आएको जनाइएको छ । विशेषगरी अकबरे खुर्सानीको अचारले विभिन्न अवसरमा पुरस्कारसमेत प्राप्त गरिसकेको अध्यक्ष राईले जानकारी दिएकि छन् ।