काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक ९० हजार मतपेटिकाको व्यवस्था भइसकेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार देशभर सञ्चालन हुने मतदान प्रक्रियालाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक सामग्री समयमै व्यवस्थापन गरिएको हो।
योगका अनुसार काठमाडौं र ललितपुरका मतदान केन्द्रका लागि आवश्यक मतपेटिका हाल केन्द्रीय कार्यालयमै भण्डारण गरिएको छ। ती दुवै जिल्लाका निर्वाचन कार्यालयमा पर्याप्त भौतिक संरचना तथा सुर क्षित भण्डारण स्थलको अभाव भएकाले मतपेटिका आयोगकै केन्द्रीय कार्यालयमा राखिएको हो।
निर्वाचन नजिकिँदै जाँदा सुरक्षासहित सम्बन्धित मतदान केन्द्रसम्म ती सामग्री पठाइने व्यवस्था मिलाइएको आयोगले जनाएको छ। चितवन जिल्लाको हकमा भने फरक व्यवस्था गरिएको छ। गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा चितवनमा राखिएका केही मतपेटिका जलाइएकाले त्यहाँका लागि आयोगको केन्द्रीय कार्यालयबाट दुई हजार ५०० थान नयाँ मतपेटिका पठाइएको छ। यसबारे जानकारी दिँदै प्रशासन शाखा प्रमुख तथा सहायक प्रवक्ता प्रकाश न्यौपानेले चितवनमा निर्वाचन सामग्रीको अभाव हुन नदिन विशेष व्यवस्था गरिएको बताए।
उनका अनुसार, “चितवनमा अघिल्लो घटनाका कारण मतपेटिका नष्ट भएकाले केन्द्रबाटै नयाँ मतपेटिका पठाइएको हो। निर्वाचन प्रभावित नहोस् भनेर समयमै आपूर्ति गरिएको छ।” आयोगले यस्ता संवेदनशील जिल्लामा विशेष निगरानीका साथ सामग्री व्यवस्थापन गरिरहेको जनाएको छ।
भक्तपुर जिल्लामा भने जिल्ला निर्वाचन कार्यालयमै पर्याप्त मतपेटिका भण्डारण गरिएको छ। त्यहाँबाटै आवश्यकतानुसार मतदान केन्द्रसम्म पठाउने व्यवस्था मिलाइएको आयोगले जानकारी दिएको छ। स्थानीय तहसँगको समन्वयमा यातायात, सुरक्षा र भण्डारणसम्बन्धी कामहरू अघि बढाइएको जनाइएको छ। अन्य ७४ जिल्लामा भने विसं २०७९ को निर्वाचनका लागि पठाइएका मतपेटिकाको मौज्दातबाटै यसपटकको निर्वाचनका लागि प्रयोग गरिने व्यवस्था गरिएको छ। ती जिल्लामा पहिले नै सुरक्षित रूपमा भण्डारण गरिएका मतपेटिका पर्याप्त रहेकाले नयाँ खरिद वा अतिरिक्त ढुवानी आवश्यक नपरेको आयोगको भनाइ छ।
निर्वाचन आयोगका अनुसार यसपटकको निर्वाचनका लागि देशभर ९६७ वटा मतदानस्थल र २३ हजार ११२ वटा मतदान केन्द्र तोकिएका छन्। प्रत्येक मतदान केन्द्रमा आवश्यक संख्यामा मतपेटिका, मतपत्र, छाप, मतदान गोप्य कक्ष, मतदाता सूची तथा अन्य सामग्री समयमै पुर्याइने तयारी भइरहेको छ।
आयोगले निर्वाचन व्यवस्थापनलाई पारदर्शी, सुरक्षित र विश्वासयोग्य बनाउन भौतिक पूर्वाधार तथा सामग्री व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ। मतपेटिका मात्र नभई, मतपत्र छपाइ, ढुवानी, सुरक्षाकर्मी परिचालन र कर्मचारी व्यवस्थापनको काम पनि समानान्तर रूपमा अघि बढाइएको छ। निर्वाचन सामग्रीको सुरक्षालाई ध्यानमा राख्दै केन्द्रीय तथा जिल्ला तहमा विशेष सुरक्षा व्यवस्था गरिएको आयोगले जनाएको छ। मतपेटिका भण्डारण गरिएका स्थानमा २४ घण्टा सुरक्षाकर्मी परिचालन गरिएको छ भने ढुवानीका क्रममा पनि सुरक्षा टोली खटाइने व्यवस्था गरिएको छ।
यसबाट सामग्री हराउने, क्षति हुने वा दुरुपयोग हुने सम्भावनालाई न्यूनिकरण गर्ने लक्ष्य लिइएको छ। आयोगका अधिकारीहरूका अनुसार, निर्वाचन सामग्री समयमै मतदान केन्द्रमा पुग्न नसकेमा मतदान प्रक्रिया प्रभावित हुनसक्ने भएकाले यस विषयमा विशेष सतर्कता अपनाइएको छ। त्यसैले भौगोलिक रूपमा दुर्गम र कठिन पहुँच भएका जिल्लाहरूमा समेत अग्रिम रूपमा सामग्री पठाउने योजना बनाइएको छ।
यसपटकको निर्वाचनलाई लक्षित गरी आयोगले स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित सरोकारवालासँग नियमित समन्वय बैठकहरू पनि गरिरहेको छ। जिल्ला निर्वाचन कार्यालयहरूलाई सामग्री व्यवस्थापन, अभिलेखीकरण र वितरण प्रक्रियामा स्पष्ट निर्देशन दिइएको छ। निर्वाचन आयोगले मतदातालाई निर्धक्क भएर मतदान गर्न सक्ने वातावरण सिर्जना गर्नु आफ्नो मुख्य लक्ष्य भएको जनाएको छ। मतपेटिका, मतपत्र र अन्य सामग्रीको समयमै र सुरक्षित व्यवस्थापनले निर्वाचनको विश्वसनीयता बढाउने विश्वास आयोगले व्यक्त गरेको छ।
आयोगका अनुसार अब निर्वाचनको मिति नजिकिँदै जाँदा मतदान अधिकृत तथा कर्मचारी तालिम, मतदाता शिक्षा कार्यक्रम र सुरक्षा तयारीलाई थप तीव्र बनाइनेछ। सबै तयारी समयमै सम्पन्न गरी फागुन २१ गते शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्ने लक्ष्य लिइएको आयोगले जनाएको छ। निर्वाचन व्यवस्थापनमा देखिएको तयारी र सामग्रीको पर्याप्त उपलब्धताले यसपटकको प्रतिनिधिसभा निर्वाचन व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।




































