धनगढीमा रास्वपाको चुनावी सभा : रवि र बालेनले सुनाए योजना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनगढीबाट चुनावी सभा सुरू गरेको छ। चुनावी सभालाई ‍रास्वपाले परिवर्तन उद्घोष सभा भनेको छ।

अरू प्रदेशमा पनि उद्घोष सभा हुनेछ। सभामामा उम्मेदवार र विशेषगरी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्नेछन्। धनगढीमा भएको सभामा वरिष्ठ नेता बालेनले जम्मा तीन मिनेट मात्रै बोले। उनले रास्वपा भोट माग्न नभई काम माग्न आएको बताए। बरू भोट नदिए हुने काम चाहिँ दिन आग्रह गरे।

’राष्ट्रिय स्वतन्त्र पार्टी यहाँ भोट माग्न आएको होइन काम माग्न आएको हो। काम दिनुस्। तपाईंहरूले भोट दिनुभएन भने पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ। बरू के–के काम छ लिस्ट बनाउनुस् र दिनुस्,’ उनले भने। वरिष्ठ नेता बालेनले रास्वपाको एजेन्डाको कुरा गरे। ’खल्तीमा पैसा नभएका विपन्नले शिक्षा पाउनु पर्‍यो यो हो हाम्रो एजेन्डा। विपन्न गरिबले स्वास्थ्योपचार पाउनुपर्‍यो त्यो हो हाम्रो एजेन्डा । २ वर्षमा बन्नुपर्ने सडक २० वर्षसम्म बन्दैन। त्यो डेढ वर्षमा बन्नुपर्‍यो त्यो हो हाम्रो एजेन्डा। रूखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ बाटो बन्नुपर्‍यो,’ उनले भने।

विकास निर्माणको काम गर्दा अघिल्ला सरकारले आफ्नो पार्टीको मतदाता बस्ने ठाउँमा काम गर्ने अन्यत्र नगर्ने प्रवृत्ति सुनाए र रास्वपा सरकारमा जाँदा त्यसो नहुने प्रतिबद्धता व्यक्त गरे। ’बाटो बनाउनलाई यो भेगमा मेरो भोटर छैन यहाँको बाटो किन बनाउने यो भेगमा मेरो भोट छैन किन बाटो बनाउने भन्छन्। रास्वपा सरकारमा गयो भने कांग्रेस हिडँने बाटो पनि बनाउछ। एमाले हिँड्ने बाटो पनि बनाउँछ। माओवादी हिँड्ने बाटो पनि बनाउँछ। सबै नेपाली जनता हिँड्ने बाटो बनाउँछ,’ वरिष्ठ नेता बालेनले भने। वरिष्ठ नेता बालेनले सुदूरपश्चिमलाई विकासको दृष्टीले नजिक बनाउने प्रतिबद्धता व्यक्त गरे।

अघिल्ला सरकार र त्यसमा सहभागी दलहरूले बडिमालिका, रामारोशन र खप्तड राष्ट्रिय निकुञ्ज नदेखेर स्वीट्जरल्याण्डको कुरा गर्ने गरेको बालेनको भनाइ छ। ’देशलाई स्वीटजरल्याण्ड बनाउनुपर्छ भन्छन्। स्वीट्जरल्याण्डको बाउ बडिमालिका यहिँ छ। किन बनाउनुपर्‍यो। रामारोशन यहिँ छ, खप्तड राष्ट्रिय निकुञ्ज यहीँ छ। किन बनाउन पर्‍यो स्वीट्जरल्याण्ड। माल भाको चाल नपाको पर्‍यौं। भएको चिज देखाउनै सकेको छैन, सुदूरपश्चिमलाई जोड्नै सकेको छैन। जुन दिन सुदूरपश्चिमको गीतहरू काठमाडौंको चोक चोकमा बज्छ अनि बल्ल जोडिन्छ सुदूरपश्चिम काठमाडौंसँग।सुरूमा गीत बज्नुपर्‍यो, त्यसपछि आवाज बज्छ त्यसपछि माग पूरा हुन्छ,’ उनले भने।

त्यस्तै सभापति रवि लामिछानेले देशमा व्याप्त कुशासन र बेथितिको ‘सटर’ आगामी निर्वाचनबाट सधैंका लागि बन्द हुने उद्घोष गरेका छन्। लामिछानेले अब जनताले नेतालाई भोट मात्र दिने नभई, नेतासँग ‘कन्ट्राक्ट’ गर्ने युगको सुरूआत भएको बताएका हुन्। उनले भने, ‘जनताको अधिकारलाई जनताको मुद्दालाई सुदूरपश्चिमको मुद्दालाई सुदूरपश्चिमको अधिकारलाई माग बनाएर वर्षौंसम्म अल्झाउने काम अब बन्द गर्नुपर्छ। सटर त एउटा बन्द हुनुपर्छ कि हाम्रो सटर बन्द गराइदिनुस् कि यिनको सटर बन्द गराउनुस् सटर बन्द हुन्छ।

कुशासनको सटर बन्द गर्ने हो। बेथितिको सटर बन्द गर्ने हो। बेरोजगारी अशिक्षा सबै सटर बन्द गर्ने हो एकैपटक २१ गते। इतिहास लेख्ने हो भोट हाल्ने होइन।’ लामिछानेले वर्षौंदेखि जनताका मुद्दालाई निर्वाचनको एजेन्डा मात्र बनाएर अल्झाइराख्ने राजनीतिक परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिए। जनतासँग पाँच वर्षको ‘कन्ट्रयाक्ट’ नेपालको इतिहासमा पहिलोपटक रास्वपाले जनतासँग लिखित कन्ट्र्याक्ट गरेको दाबी गर्दै उनले ५ वर्षको स्थायी सरकारको अपेक्षा गरे।

‘रास्वपाले राजनीतिक विकृति र विसङ्गति मध्येको एक रहेको जनताको अधिकारलाई माग बनाएर हरेक चुनावमा घोषणापत्रमा बर्ल्याङ्ग्रे अक्षरले लेख्ने युगलाई अन्त्य गर्छ। पाइँदैन जनताको माग हो त्यसलाई पूरा गर्ने हो। त्यसकारणले हामीले ५ वर्षको स्थायी सरकार यसपटक मागेका छौँ। नेपालको इतिहासमा पहिलोपटक कुनै राजनीतिक दलले जनतासँग कन्ट्र्याक्ट गरेको छ,’ उनले भने, ‘जनताले भोट दिने जनतालाई नेताले वाचा गर्ने अनि सजाय पनि त्यही भोट दिने जनताले पाउने अब यस्तो चल्दैन। अब यस्तो चल्दैन। वाचा जसले गरेको हो पूरा नगर्ने हुने सजाय त्यसैले पाउने हो जनताले सजाय पाउने होइन। यसको लागि ५ वर्षको स्थायी सरकारको हामीले अपेक्षा गरेका छौँ।’

वाचा पूरा नगर्ने नेताले सजाय पाउनुपर्ने र जनता सधैं पीडित बन्ने अवस्थाको अन्त्य गर्न रास्वपा मैदानमा आएको उनको भनाइ छ। भारतमा कार्यरत सुदूरपश्चिमका नेपालीहरूलाई सम्बोधन गर्दै लामिछानेले यसपटक देश बदल्नका लागि छुट्टी मिलाएर भए पनि मतदान गर्न आउन आग्रह गरे।

सिंहदरबार बनाउने मात्र नभइ बदल्ने गरी आफूहरू आएको जिकिर गरे। सिंहदरबारको संरचना मात्र नभइ त्यहाँको कार्यशैली र नियत बदल्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए। पुराना दलहरूले डोजर लगाएर गरिबको बस्ती उठाउने भ्रम फैलाएको भन्दै उनले ३५ वर्षसम्म जनताको सपनामा डोजर कसले चलायो भनी प्रतिप्रश्न गरे। भ्रष्टाचार र बेथिति आधा नभई पूर्ण रूपमा फाल्नका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ ‘घण्टी’ चिह्नमा मतदान गर्न मतदाताहरूलाई आह्वान गरे।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।